१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १५:२४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ठेकेदारले ढुवानी नगर्दा खाद्यको गोदाम रित्तै, नागरिक महँगो मूल्य तिर्न बाध्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२४:oo

खाद्य गोदाम खाली भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुगु शाखा कार्यालयले चामलको दैनिक बिक्री–वितरण बन्द गरेको छ। ठेकेदारले समयमै ढुवानी नगर्दा मौज्दात रहेको चामल सकिएपछि आइतबारदेखि कार्यालयले चामल बिक्री–वितरण बन्द गरेको हो।

खाद्य गोदाममा ६ सय ३२ क्विन्टल मात्रै चामल मौज्दात रहेकाले तत्काल जिल्ला खाद्य सुरक्षाको बैठक बसी नयाँ चामल ढुवानी नभएसम्मका लागि चामल बिक्री–वितरण बन्द गर्ने निर्णय भएको कम्पनीको मुगु कार्यालयका प्रमुख पुष्कर भामले जानकारी दिए। उनका अनुसार मौज्दातमा रहेको चामल जिल्लामा भैपरी आउने आकस्मिक कामका लागि, दैवी प्रकोप, सुत्केरी र किरिया बसेकाहरूका लागि मात्रै उपलब्ध गराइनेछ।

यो आर्थिक वर्षका लागि चामल ढुवानीको ठेक्का आह्वान भइसकेको र केन्द्रीय कार्यालयमा मूल्यांकन सुरु गरिएकाले यही महिनाभित्रै चामल आइपुग्ने उनको दाबी छ। नयाँ चामल आइपुगेपछि मात्रै यस शाखाबाट बिक्री–वितरण सुरु गरिने उनले जनाए। आव ०७८–७९ मा खाद्यान्न ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवा जुम्लाले नौ हजार क्विन्टलमध्ये ६ हजार दुई सय क्विन्टल चामल मात्रै ढुवानी गरेको छ। बाँकी दुई हजार आठ सय क्विन्टल चामल तेलको मूल्यवृद्धि भएको कारण देखाई ठेक्का पाएको कम्पनीले ढुवानी नगरेको खाद्य शाखाले जनाएको छ।

उता खडका निर्माण सेवाकी सञ्चालक रामदेवी खड्का पेट्रोलियमको मूल्यवृद्धि हुँदा भाडा बढ्न गएकाले महँगोमा ढुवानी गर्न नसकिने बताउँछिन्। सम्झौता गर्दा बीचैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएमा १५ प्रतिशत ढुवानी भाडा वृद्धि गर्ने सम्झौता गरिए पनि खाद्य व्यवस्था लिमिटेडले उक्त सहमति कार्यान्वयन नगरेकाले बाँकी चामल ढुवानी नगरेको उनको भनाइ छ। उनी जुम्लाको चन्दननाथ नगरपालिकाकी उपमेयरसमेत हुन्।

गत आवमा मुगुका लागि ११ हजार क्विन्टल चामल कोटा स्वीकृत भएको थियो। त्यसमध्ये नौ हजार क्विन्टल चामल ढुवानीको जिम्मा खड्का निर्माण सेवाले नै पाएको थियो भने दुई हजार क्विन्टल चामल ढुवानीको जिम्मा बराल ढुवानी सेवाले पाएको थियो। बराल ढुवानी सेवाले सबै चामल ढुवानी गरिसकेको छ। खड्का निर्माण सेवाले ढुवानी नगरेको बाँकी दुई हजार आठ सय क्विन्टल चामल फ्रिज भएकाे छ।

खाद्य शाखाले चामल बिक्री–वितरण बन्द गरेपछि स्थानीय नागरिकलाई सास्ती भएको छ। जिल्ला सदरमुकाम गमगढी बजारका पसलहरूमा चामल नपाइने भने होइन। तर, २५ किलोको प्याकमा चार सय रुपैयाँसम्म महँगो हुने भएपछि खाद्य शाखाबाटै नागरिकले खरिद गर्दै आएका थिए। जिल्लामा फागुन, चैत, साउन, भदौ र असोजमा बालीनाली नपाकेको समयमा भोकमरीको समस्या बढी हुने गरेको स्थानीयको गुनासो छ।

डिपो कार्यालय र बिक्री केन्द्र रित्तै 
जिल्लामा सदरमुकामबाहिर रहेका सोरुकोट खाद्य डिपो, श्रीकोट डिपो, पुलु डिपो, रातापानी बिक्री केन्द्र र कालै बिक्री केन्द्र गरी पाँचवटा डिपो तथा बिक्री केन्द्र छन्। तर, विगत चार–पाँच महिनादेखि डिपो र बिक्री केन्द्र रित्तै छन्।

डिपो केन्द्रबाट वितरण भइरहेको चामल सकिएर शाखा कार्यालयसमेत रित्तै भएकाले बिक्री–वितरण बन्द गर्नुपरेको खाद्य शाखा कार्यालयका प्रमुख भामले बताए।