
नेपाली सेनाले अछामको नेटाकोट पुगेर सैनिक हुन इच्छुकहरूको नापतौल लिएको छ । भविष्यमा सेनामा भर्ना हुन चाहने १९ महिला र १७ पुरुषको नापतौल लिइएको हो । जिल्लाको रामारोशन गाउँपालिका–५ स्थित यशोदा माविमा अस्थायी भर्ना क्याम्प नै खडा गरेर त्यहाँका उमेर पुगेका महिला पुरुषहरूको नापतौल सँगै सेटअप, पुसअप, चिनअप, सिटअप र छातीको नाप लिइएको गोरख बक्स गण मंगलसेन ब्यारेकका गणपति प्रमुख सेनानी संगम अधिकारीले बताए। उनीहरूको बेरिङ, कलरभिजन र साधारण मेडिकलसमेत परीक्षण गरिएको उनले बताए।
सेनानी अमृत खड्काका अनुसार सहभागीहरूलाई नेपाली सेनामा भर्ना खुलेका वेला अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियासहित लोक सेवाले लिने परीक्षा र सामान्य ज्ञानसम्बन्धी जानकारीसमेत दिइएको थियो।
दुर्गम गाउँबाट सेनामा भर्ना हुन जाँदा खर्च धान्नै मुस्किल हुने गरेको भन्दै सहभागीहरूले गाउँमै शारीरिक रूपमा फिट भए नभएको जानकारी पाउँदा खुसी व्यक्त गरे। ‘आर्मी हुनलाई मेरो शारीरिक अवस्था ठिक रहेछ,’ स्थानीय चक्र टमट्टाले भने, ‘अब म भर्ना खुल्दा ढुक्क भएर आवेदन दिने भएँ।’ केही साथीहरूको शरीरमा ठुलो खत देखिनुका साथै केहीको दाँत, हात बांगो र केहीको हाइट कम भेटिएको भन्दै उनीहरू भर्ना हुन जाँदा हुने दुःख र खर्चबाट जोगिएको उनले बताए। नेटाकोटकै तुलसी साउदले नमुनाका रूपमा गरिएको यो परीक्षणले सेनामा भर्ना हुँदा आवश्यक पर्ने आधारभूत कुराहरूबारे जानकारी पाउँदा सहज भएको बताइन्।
गणपति अधिकारीका अनुसार अछाम जिल्लामा यस प्रकारको भर्ना परीक्षण पहिलोपटक गरिएको हो। यसले भविष्यमा सेना बन्न चाहनेहरूलाई सहज बनाउने भन्दै उनले जिल्लाका अन्य ठाउँमा पनि यस्तो परीक्षण गरिने बताए। त्यसका लागि सदरमुकामदेखि टाढा रहेका दुर्गम गाउँ मुख्य प्राथमिकतामा रहने अधिकारीले बताए। ‘गाउँमै पुगेर सेना भर्ना प्रक्रियाबारे जानकारी गराउनुछ,’ उनले भने, ‘यसले एक त सेना हुन चाहने युवायुवतीलाई ज्ञान मिल्छ भने अर्को उनीहरूको खर्च बच्छ ।’ शारीरिक रूपमा सेनामा लिनै नमिल्नेहरू पनि भर्ना खुलेको वेला आउने गरेको र उनीहरूको अनावश्यक खर्च हुने गरेको भन्दै गणपति अधिकारीले यो नमुना परीक्षणले त्यस्ता व्यक्तिहरूको दुःख र खर्च दुवै जोगिने बताए।