
एएफसी महिला एसियन कप २०२६ छनोट प्रतियोगिताअन्तर्गत श्रीलंकाविरुद्धको बुधबारको खेलमा नेपाल ८–० ले विजयी भयो। खेलमा नेपालकी कप्तान सावित्रा भण्डारी(साम्बा)ले ह्याट्रिक गरिन्।
राष्ट्रिय टिमको कप्तान भएपछि साम्बाको यो लगातार दोस्रो ह्याट्रिक हो। यसअघि लाओसविरुद्धको खेलमा उनले एक्लै ५ गोली हानेकी थिइन्। जून खेलमा नेपाल ९–० ले विजयी भएको थियो ।
बुधबारको खेल जितेपछि उनले भनिन्,‘टिम अफोर्टले गर्दाखेरि नै राम्रो भइरहेको छ, जून कम्बिनेशनबाट गोल निस्किरहेको छ, त्यो कुरा यूटिलाइज भइरहेको छ । हामीले डिउटीलाई इम्प्लिमेन्ट गर्न पायौं, जून हामीले सिकाएको ट्याक्टिस थियो, त्यो सफल भयो।’
अब निर्णायक खेलमा उज्वेकिस्तानविरुद्ध पनि उत्कृष्ट खेल्ने उनको विश्वास छ । उनी भनिछन्,‘दुई वटा खेल खेलिरहँदा हामीसँग ६ प्वाइन्ट छ, सबै खेलाडीहरुमा पोजिटिभ मेन्टालिटी छ। अब मेन हर्डल(मुख्य अवरोध) छ त्यसलाई पनि त्यो च्यालेन्सलाई असेप्ट गरेर फाइट गर्न रेडी छौं ।’
बुधबार उज्वेस्तिानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा नेपाललाई जित दिलाउन सावित्राको ह्याट्रिकका साथै गीता रानाले दुई, निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक गोल गरेका हुन्। खेलभर नेपालले श्रीलंकाको पोस्टमा ३४ भन्दा धेरै प्रहार गरेको थियो। खेल सकिन चार मिनेटअघि घाइते भएपछि प्रीति राईलाई मैदानबाट निकालिएको थियो।
यो जितसँगै नेपालले समूह ‘एफ’ मा लगातार दोस्रो जित निकालेको हो। पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९–० को जित निकालेको थियो। यता, समूहकै अर्को खेलमा बलियो उज्वेकिस्तानलाई श्रीलंकालाई १०–० ले हराएको हो। समूहको शीर्ष एक टोली आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ। नेपालको र उज्वेकिस्तानबिचको एक टिम एसिया कपमा स्थान बनाउने सम्भावना रहेको छ। जसकारण अब उज्वेकिस्तानविरुद्धको खेल नेपालका लागि निर्णायक हुने छ। फिफा र्याकिङमा उज्वेकिस्तान ५० तथा नेपाल १०० औं स्थानमा छ।