१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण २७ शुक्रबार ०९:३४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इन्धन ढुवानी भाडा बढाउन दबाब

Read Time : < 1 मिनेट
२०७९ श्रावण २७ शुक्रबार ०९:३४:००

पेट्रोलियम पदार्थ ओसारपसार गर्ने ट्यांकरको भाडा वृद्धि गर्न दबाब दिनका लागि व्यवसायीले आउँदो २ भदौबाट हडताल गर्ने निर्णय गरेका छन् । अत्यावश्यक वस्तुमा सूचीकृत पेट्रोलियम पदार्थमा हडताल गर्न नपाइने कानुनी व्यवस्थाविपरीत व्यवसायीले यस्तो निर्णय लिएका हुन् ।

एक वर्षदेखि पटक–पटक भाडा वृद्धिका लागि दबाब दिइरहेका व्यवसायीले आफ्नो माग सुनुवाइ गर्न १ भदौसम्म ‘अन्तिम अवसर’ दिने भन्दै त्यसपछि इन्धन ओसारपसार नगर्ने निर्णय गरेको पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव विश्व अर्यालले २२ साउनमा केन्द्रीय समिति बैठक बसी ढुवानी भाडा वृद्धिका लागि दबाब दिन हडताल नै गर्नुपर्ने निष्कर्ष निकालिएको बताए ।

महासंघले आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै ट्यांकरको भाडावृद्धि नभए हडताल गर्ने जानकारी दिएको छ । ‘निगमसँग पटक–पटक सहमति भएको र अन्तिमपटक १५ साउनमा निगमद्वारा पुनः पत्रमार्फत ढुवानीकर्ताको मागअनुसारको सहमति गरेकोमा हालसम्म पनि भाडा वृद्धि नगरिएकाले यही १ भदौसम्म पनि नगरिएमा २ भदौदेखि यथास्थितिमा पेट्रोलियम ढुवानी गर्न नसकिने निर्णय गरिएको र आन्दोलनका कार्यक्रमहरूबाट पर्न जाने असरप्रति निगम जिम्मेवार हुने हुँदा तत्काल सहमतिअनुसारको ढुवानी भाडा वृद्धि गरियोस्,’ महासंघले निगमलाई लेखेको पत्रमा भनिएको छ । आयल निगमले देशभर करिब एक हजार आठ सय ट्यांकरलाई करार सेवामा लिई इन्धन ढुवानी गरिरहेको छ ।