१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o६:४३:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

निर्वाचन कार्यतालिका : प्रत्यक्षतर्फका  उम्मेदवारलाई चुनाव प्रचारमा ३९ दिन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:४३:oo

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा चुनाव प्रचारका लागि ३९ दिनकोे अवधि रहने गरी कार्यतालिका स्वीकृत गरेको छ । आइतबारको आयोग बैठकले ४ मंसिरमा हुने निर्वाचनका लागि ७६ प्रकारका कार्यक्रमसहितको कार्यतालिका स्वीकृत गरेको हो ।

कार्यतालिकाअनुसार प्रत्यक्षतर्फ २३ देखि २६ असोजसम्म उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मको कार्यतालिका रहेको छ । समानुपातिकतर्फ २ र ३ असोजमा बन्दसूची पेस गर्ने अवधि दिइएको छ । त्यस्तै, १ मंसिर राति १२ बजेबाट मौन अवधि लागू हुने कार्यतालिका छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बैठकबाट आन्तरिक कार्यतालिका स्वीकृत गरिएको र त्यसमा आवश्यकताअनुसार फेरबदलको सम्भावना रहेको बताए । ‘आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको छ । कार्यतालिका आन्तरिक प्रयोजनका लागि स्वीकृत भएको हो । कार्यतालिकामा अझै फेरबदल हुन सक्छ,’ उनले नयाँ पत्रिकासँग भने । आयोगले कार्यक्रमअनुसार तय हुने निर्वाचन कार्यक्रम भने क्रमशः राजपत्रमा प्रकाशित हुँदै जाने जनाएको छ । 

१० र २१ मंसिर ०७४ मा दुई चरणमा भएको निर्वाचनमा पहिलो चरणका लागि ५ कात्तिकमा उम्मेदवारको मनोनयन र दोस्रो चरणमा १६ कात्तिकमा मनोनयन गरिएको थियो । त्यस्तै, गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका लागि ११ र १२ वैशाखमा गरी दुई दिन मनोनयनको कार्यक्रम थियो । 

आयोगको कार्यतालिकाअनुसार प्रत्यक्षतर्फ २५ भदौबाट निर्वाचन कार्यक्रम सञ्चालन, ११ असोजमा निर्वाचन अधिकृतको नियुक्ति, २१ असोजमा निर्वाचन कार्यालय स्थापना, २३ देखि २६ असोजसम्म उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशन, २८ असोजदेखि २७ कात्तिकसम्म मतपत्र छपाइको कार्यसूची छ । 

त्यस्तै, समानुपातिकतर्फ १ भदौमा निर्वाचन कार्यक्रम सञ्चालन, २ र ३ असोजमा बन्दसूची पेस, २० भदौदेखि २६ असोजसम्म मतपत्र छपाइको कार्यतालिका छ । आयोगले २७ कात्तिकबाट मतपत्र ढुवानी गर्ने, १ मंसिरबाट प्रचारप्रसार बन्द गर्ने र ४ मंसिरको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको तालिका तय गरेको छ । 

मंगलबारसम्म एमालेसहित १२ दलले दिए दल दर्ताको निवेदन
निर्वाचन प्रयोजनका लागि मंगलबारसम्ममा निर्वाचन आयोगमा १२ दलले निवेदन दर्ता गराएका छन् । आयोगले २२ साउनबाट दल दर्ताका लागि आह्वान गरेकोमा हालसम्म एमालेसहित ११ दलले दर्ताको निवेदन दिएका छन् । ‘मंगलबारसम्म राष्ट्रिय मान्यता प्राप्त दल एमालेसहित १२ दल आयोगमा दर्ता भएका छन्,’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । 

प्रवक्ता पौडेलका अनुसार एमाले, जनमत पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी, मौलिक जरोकिलो पार्टी, नागरिक जनमुक्ति पार्टी र नेपालका लागि नेपाली पार्टी दर्ता भएका छन् । आयोगले दल दर्ताका लागि ३१ साउनसम्मको समय दिएको छ । 

सात लाख नयाँ मतदाता थपिने अनुमान
आयोगले स्थानीय तह निर्वाचनको तुलनामा करिब सात लाख मतदाता थप हुने अनुमान गरेको छ । स्थानीय निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता थिए । आयोगले मतदान केन्द्र पुनरावलोकनको काम र मतदाता नामावली अद्यावधिक भइरहेको जानकारी दिएको छ । नामावली अद्यावधिक भएपछि मात्रै मतदान केन्द्र थप गर्नेबारे टुंगो लाग्ने जानकारी दिएको छ । ‘मतदान केन्द्रबारे मतदाता नामावली अद्यावधिक भएपछि मात्रै थाहा हुन्छ । करिब सात लाख नयाँ मतदाता थपिने अनुमान छ । यसका लागि करिब एक महिनाको समय आवश्यक पर्छ,’ प्रवक्ता पौडेलले भने । 

उम्मेदवार कायम नरहनेको नाम र चिह्न मतपत्रमा राखिँदैन : आयोग 
आयोगले निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार कायम नरहने उम्मेदवारको नाम र समानुपातिकतर्फ दलको निर्वाचन चिह्न मतपत्रमा नराखिने बताएको छ । आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्रै प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र छापिने जानकारी दिएको हो ।

आयोगका प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचनका क्रममा अन्तिम नामावली प्रकाशित हुनुअगावै मतपत्र छापिएकोमा आयोगको आलोचना भएकाले आयोगले यसलाई दोहोरिन नदिने गरी निर्वाचन कार्यतालिका तयार भएको जानकारी दिए । ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी फाइनल भएपछि मतपत्र छापिन्छ, समानुपातिकतर्फ पनि भाग लिने पार्टी अन्तिम भएपछि मात्रै मतपत्र छापिनेछ,’ उनले नयाँ पत्रिकासँग भने, ‘स्थानीय तह निर्वाचनमा जस्तो उम्मेदवार नभएकाको नाम र चुनाव चिह्न मतपत्रमा समावेश हुँदैन ।’

आयोगले प्रत्यक्षतर्फ २३ देखि २६ असोजसम्म उम्मेदवारी दर्तालगायतका निर्वाचन कार्यक्रम सञ्चालनको कार्यतालिका राखेको छ । त्यस्तै, प्रत्यक्षतर्फका मतपत्र छपाइका लागि २८ असोजदेखि २७ कात्तिकसम्मको समय छुट्याएको छ । साथै, आयोगले समानुपातिकतर्फ २ र ३ असोजमा बन्दसूची पेस गर्ने अवधि तय गरेको छ । समानुपातिकतर्फको मतपत्र छपाइका लागि २० भदौदेखि २६ असोजसम्मको समय राखिएको छ ।
 

ad
ad