१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o५:५७:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाल संगठन र मावली मिलेर धर्मपुत्रका नाममा बालकको तस्करी

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o५:५७:oo

मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ३ बसामाडीकी ४८ वर्षीया कमलाकुमारी रेग्मी सुवेदी जाली कागजात बनाई धर्मपुत्रका रूपमा बेचिएका छोराको मुख हेर्ने लडाइँमा लागेको १६ वर्ष बितिसकेको छ । तर, उनको लडाइँ निष्कर्षतिर पुग्नुको सट्टा झन्झन् ओझेल पर्दै गएको छ । 

कमला श्रीमान्सँगै हेटौँडामा डेरा गरी बस्थिन् । काखे छोरा गौरव हुर्कँदै थिए । काठमाडौंमा पढाउने व्यवस्था गरिदिने भनेपछि उनले आमा टंककुमारी रेग्मीलाई छोरा जिम्मा लगाइन् । तर, आमाले नै जाली कागजातका आधारमा नातिलाई विदेशीको धर्मपुत्र बनाएर बेचिदिइन् । टंककुमारीसँगको मिलेमतोमा नक्सालस्थित नेपाल बाल संगठनले गौरवलाई ०६३ मा स्पेनिस नागरिक कारमेन लाउरा रोजोको धर्मपुत्र बनाएर जिम्मा लगाएको प्राप्त प्रमाणहरूमा देखिन्छ । छोरोलाई धर्मपुत्र बनाएर स्पेनिसलाई दिएबापत बाल संगठनले १० लाख युरो लिएको आमा कमलाको आरोप छ । 

‘पढाएर ठूलो मान्छे बनाउँछु भनेपछि गौरवलाई आमाको जिम्मामा काठमाडौं पठाएकी थिएँ । तर, उहाँले त नक्कली कागजात बनाएर गौरवलाई अनाथ बनाइदिनुभएछ । मलाईसमेत झुक्याएर विदेशी नागरिकलाई बेचिदिएछन् । धर्मपुत्रका रूपमा बेचिएको दुई वर्षपछि पो आमाले मलाई भनिन् । खोजी गर्दा बाल संगठन र मेरा माइतीले १० लाख युरो बुझेका रहेछन्,’ छोरा फर्काउन डेढ दशकदेखि अनवरत लड्दा–लड्दा थकित भएकी कमलाले भनिन्, ‘खबर थाहा पाएलगत्तै फिर्ताको लडाइँमा लागेँ । १६ वर्ष बित्यो, तर मैले गौरवको मुखसमेत हेर्न पाएकी छैन ।’

९ पुस ०५५ मा जन्मिएका गौरव त्यतिवेला आठ वर्षका थिए । तर, अनाथ प्रमाणित गर्न नक्कली कागजात बनाउने क्रममा ९ असार ०५७ को जन्म उल्लेख गरी ६ वर्ष कायम गरिएको थियो । हेटौँडास्थित सनसाइन इंग्लिस बोर्डिङ स्कुलमा भर्ना हुँदाको प्रमाणित कागजपत्रले पनि उनको जन्म ९ पुस ०५५ मै भएको देखाउँछ । हाल बिबिएस अध्ययन सकेका उनी स्पेनको मड्रिड सहरमा छन् । 

उदयपुर त्रियुगा गाउँपालिका– १२ हो कमलाको माइती । गाउँमा भर्खर–भर्खर बस सेवा पुगेको थियो । बसका सहचालक थिए– चन्द्रबहादुर विष्ट । कमलाको चन्द्रबहादुरसँग प्रेम बस्यो । केही वर्षपछि दुईबीच विवाह भयो । उनले माइतीघरमै गौरवलाई जन्माइन् । गौरव मामाघरमै हुर्किँदै थिए । यहीबीचमा कमला र चन्द्रबहादुरबीचको सम्बन्ध बिग्रिन थाल्यो । चन्द्रबहादुरले दोस्रो विवाह गरे । घर खर्चसमेत दिन छाडेपछि कमला पनि माइतमै बस्न थालिन् । 

यही क्रममा उनी हेटौँडा– ३ बसामाडीका भीमबहादुर सुवेदीसँग नजिकिइन् । पछि उनको भीमसँगै विवाह भयो । छोरा गौरवलाई लिएर कमला अब बसामाडी बस्न थालिन् । गौरवलाई स्थानीय सनसाइन इंग्लिस बोर्डिङ स्कुलमा भर्ना गरिन् । दोस्रो विवाह गरेपछि कमलाको घरमा टंककुमारीको आउजाउ नाटकीय रूपमा बढ्न थाल्यो । प्रत्येक भेटमा टंककुमारी नाति गौरवलाई आफूसँगै काठमाडौं लैजाने र सरकारको सहयोगमा राम्रो विद्यालयमा निःशुल्क पढाइदिने प्रलोभन दिन्थिन् । कमलाको आर्थिक अवस्था कमजोर थियो । नाति पढाउन अघि बढेपछि अन्ततः उनले गौरवलाई आमाको जिम्मा लगाएर काठमाडौं पठाइन् । दसैँमा माइत जाँदा मात्रै कमलाले छोरा भेट्थिन् । पढिरहेको खबर पाउँदा खुसीले गद्गद् हुन्थिन् । तर, दुई वर्षपछि भने गौरवसँग उनको भेट हुन छाड्यो । छोराबारे आमासँग सोधखोज गरिन् । आमा टंककुमारीले ‘काठमाडौंमा पढ्दै छ’ भन्दै टार्थिन् । तर, भेट्ने प्रसंग झिक्दा उनी झर्किन्थिन् । शंका लागेपछि कमला छोराको सोधखोजमा सक्रिय भइन् । यही क्रममा आमा टंककुमारीले गौरव स्पेन पुगेको रहस्य खोलिन् । कमला छाँगाबाट खसेझैँ भइन् । 

आर्थिक कमजोरीको आडमा आमाबाट भएको छलबारे कमलाले भनिन्, ‘आफ्नै आमाबाट यति ठूलो छल होला भनेर मैले चिताएकै थिइनँ, तर त्यस्तै भयो । मेरो आर्थिक अवस्था कमजोर थियो । उहाँले यसकै फाइदा उठाउनुभयो । आमाले मसँग यति ठूलो घात किन गर्नुभयो ? १६ वर्षको लडाइँपछि पनि मैले उत्तर भेटाउन सकेकी छैन ।’

अनाथ प्रमाणित गर्न नक्कली कागजात 
राष्ट्रिय सूचना आयोगको सहयोगमा प्राप्त कागजातअनुसार गौरवलाई अनाथ प्रमाणित गर्न सबै कागजात नक्कली बनाइएको देखिएको छ । यतिसम्म कि गौरवकी आमा कमलाको हस्ताक्षरसमेत नक्कली खडा गरिएको छ । हेटौँडास्थित सनसाइन इंग्लिस बोर्डिङ स्कुलमा भर्ना गर्दा उनको जन्ममिति ९ पुस ०५५ उल्लेख छ । तर, अनाथ प्रमाणित गर्दा ९ असार ०५७ कायम गरिएको छ । 

बुबाको नाम घनश्याम सुवेदी भनियो । बाजेको नाम भीमबहादुर सुवेदी लेखियो । जब कि जन्मदर्ता प्रमाणपत्रमा बाजे भनिएका भीमबहादुर गौरवका सौतेला बुबा हुन् । गौरवका जैविक बुबा चन्द्रबहादुर विष्टसँग सम्बन्ध बिग्रिएपछि आमा कमलाले भीमबहादुरसँग दोस्रो विवाह गरेकी थिइन् । कमला अहिले भीमबहादुरसँगै बस्छिन् । 

गौरवका बाबु घनश्याम भनिएका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र पनि बनेको छ । प्रमाणपत्रमा उनको स्थायी ठेगाना उदयपुरको त्रियुगा नगरपालिका– १२ भनिएको छ । तर, उनको नागरिकता प्रमाणपत्र कतै फेला परेको छैन, न प्रमाणपत्रमा नागरिकता प्रमाणपत्र नम्बर नै उल्लेख छ । गौरवको जन्मदर्ता प्रमाणपत्र दर्ता मिति १४ वैशाख ०६२ मा भएको छ । उनको बुबा भनिएका घनश्यामको मृत्यु दर्ता पनि सोही मितिमा भएको छ । दुवै प्रमाण लिनुअघि त्रियुगा नगरपालिकास्थित पञ्जीकरण महाशाखाको ढड्डामा कमलाको ल्याप्चेसहितको हस्ताक्षर भएको छ । जुन सरासर किर्ते भएको कमलाले बताइन् । 

‘छोरालाई अनाथ बनाउन उसको जन्मदर्ता नै नक्कली बनाएछन् । मेरो श्रीमान्को नाम घनश्याम सुवेदी राखेछन् । उनको पनि मृत्यु दर्ता प्रमाणपत्र बनाएछन् । दुवैमा मेरो नाम लेखेर ल्याप्चे लगाएछन् । जुन मेरो होइन । मृत्यु दर्ता प्रमाणपत्रमा मेरो श्रीमान् भनिएको व्यक्ति को हुन् म चिन्दिनँ, न अहिलेसम्म देखेकै छु,’ उनले भनिन् ।

छोरा फर्काउन १६ वर्षदेखि लडाइँमा कमला
छोरालाई धर्मपुत्र बनाएर स्पेन पुगेको आमा टंककुमारीले नै भनेपछि कमला विवादमा उत्रिइन् । बुबा राम भनिने भेषराज रेग्मी र दाइ वसन्तराज रेग्मी भने अवरोधमा उत्रिए । कमला उजुरी बोकेर जिल्ला प्रहरी कार्यालय उदयपुर पुगिन्, जाहेरी लेखिन् । तर, प्रमाण नपुगेको भन्दै जाहेरी दर्ता भएन । त्यसपछि जिल्ला प्रशासन कार्यालय उदयपुरको शरणमा पुगिन् । छलफलका लागि टंककुमारीसहितका टोलीलाई कार्यालय झिकाइयो । दुई पक्षबीच पटक–पटक छलफल भयो । प्रमाण नपुगेपछि कारबाही अघि बढेन । गुहार माग्न उनी स्थानीय नेताकहाँ पनि पुगिन् । तर, उनीहरूले पनि गम्भीर चासो दिएनन् । 

जिल्लाका सबै बाटो बन्द भएपछि प्रमाण जुटाउन हारगुहार गर्दै नक्सालस्थित नेपाल बाल संगठनको कार्यालय पुगिन् । संगठनका तत्कालीन निर्देशक थिए– बालकृष्ण डंगोल । उनले छोराको विवरण दिन डंगोलसँग पटक–पटक आग्रह गरिन् । तर, डंगोलले उनलाई गौरवको विवरण त के कार्यालय प्रवेशमा समेत रोक लगाए । रन्थनिएकी उनी राष्ट्रिय सूचना आयोग पुगिन् । आयोगका प्रमुख आयुक्त थिए– कृष्णहरि बास्कोटा । कमलाको पीडा सुनेपछि कृष्णहरिले सबै विवरण दिन संगठनको नाममा पत्र काटे । संगठन बल्ल गौरवको विवरण दिन बाध्य भयो । गौरवलाई अनाथ प्रमाणित गर्न सबै कागजात नक्कली बनाएको विवरण हेर्दा कमला चकित भइन् । 

गौरव २४ वर्षका भइसकेका छन् । स्पेनस्थित नेपाली दूतावासले उपलब्ध गराएको विवरणअनुसार स्पेनिस नागरिक कारमेन लौरा रोजोले आफू ‘आमा बन्न नसकेको भनेर’ गौरवलाई ‘एडप्ट’ गरेकी थिइन् । गौरवको निकटता कमलासँग भन्दा पनि धर्मआमासँग छ । धर्मआमा कारमेन उनलाई नेपाल फिर्ता गर्न त के ‘वेब क्यामेरा’मार्फत कुरा गर्नसमेत दिने पक्षमा छैनन् । यता नेपालमा विलखबन्धमा परेकी कमलासँग अहिले संगठनले उपलब्ध गराएको नक्कली कागज र छोराप्रतिको अगाध स्नेहबाहेक बाँकी केही छैन । १६ वर्षको संघर्षमा उनले भएको थोरै सम्पत्ति र शारीरिक ऊर्जा दुवै गुमाएकी छिन् । लगभग हारको सँघारमा पुगेकी उनलाई मर्नुअघि एकपटक छोराको मुख हर्ने चाहना छ । उनले भनिन्, ‘दशधारा दूध खुवाएर मैले हुर्काएको छोरो । नक्कली कागजातका आधारमा स्पेन पुग्यो । यसबीचमा मैले सकेजति सबै लडाइँ लडेँ, तर हारबाहेक केही पाइनँ । मलाई एकपटक छोराको मुख हेर्ने मन छ । यति भए पनि मन बुझाउने बाटो हुने थियो ।’

कमलाका दाइ वसन्तराज रेग्मी भन्छन्– गौरवको विषय टुंगिएकाले बोल्दैनौँ
जिल्ला प्रहरी कार्यालय उदयपुरका तत्कालीन प्रमुख नवराज भट्ट भन्छन्– मुद्दा टुंगिएको होइन
गौरवलाई अनाथ प्रमाणित गरेर धर्मपुत्रका रूपमा स्पेन पठाउनमा टंककुमारीपछि कमलाका सहोदर दाइ ५० वर्षीय वसन्तराज रेग्मीको विशेष भूमिका थियो । उनकै संलग्नतामा गौरवको नक्कली जन्मदर्ता प्रमाणपत्र बनाइएको कमलाको भनाइ छ । तर, वसन्तराज यस विषयमा अहिले टिप्पणी गर्न चाहँदैनन् । विषयलाई पहिले नै जिल्ला प्रहरी कार्यालय उदयपुरले टुंग्याएको हुँदा थप बुझ्नुपरे उतै सम्पर्क गर्न भन्दै उनी तर्किए । ‘यो विषय पहिले नै जिप्रका उदयपुरबाट टुंगिएको छ । त्यसवेलाका प्रहरीलाई सोध्नुहोस् । सिडिओसँग बुझ्नुस् । मलाई सोधेर केही हुन्न । यस विषयमा म केही बोल्न चाहन्न,’ उनको जवाफ छ ।

तर, जिल्ला प्रहरी कार्यालय उदयपुरका तत्कालीन प्रमुख (हाल अवकाशप्राप्त) नवराज भट्टले गौरवको विषयमा प्रहरी कार्यालयमा छलफल भएको, सिडिओ कार्यालयमा पनि विषयवस्तु उठेको, तर नटुंगिएको बताए । विषयवस्तु जटिल भएको र अनुसन्धानमा समय लाग्ने भएकाले थाती रहेको उनको भनाइ छ । ‘यो विषय म प्रमुख हुँदा आएको हो । मैले दुई पक्षलाई राखेर छलफल गराएको हुँ । सिडिओ कार्यालयमा पनि छलफल भएको हो । घटना जटिलजस्तो देखिन्थ्यो । पारिवारिक बेमेलका कारण बच्चा बेवारिसे भएको र पछि त्यसलाई अनाथ प्रमाणित गरिएजस्तो देखिन्छ । अनुसन्धान नै भने गरिएन । पछि के भयो थाहा छैन,’ उनले भने ।

ad
ad