
चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेको बताएका छन् । बुधबार चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै अभिनेतासमेत रहेका चलचित्र क्षेत्रको उत्थान र विकासका लागि आफू राजनीतिमा प्रवेश गरेको बताएका हुन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग बोल्दै कार्यकारी अध्यक्ष केसीले आफूलाई चलचित्र क्षेत्रको विकासका लागि ठूलो जिम्मेवारी आएको बताए । ४ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा रहेकोले चलचित्र क्षेत्रका समस्याबारे आफू अवगत रहेको बताए । उनले आगामी दिनमा नेपाली चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्ने र विशेष गरी चलचित्र प्राविधिकहरूको समस्यामा जोड दिने प्रतिबद्धता जनाए ।
नेपाली चलचित्रमा बाचुन्जेल काम गर्ने मन छ । म आफ्नो मन, वचनले चलचित्रको क्षेत्रमा राम्रो काम गर्नेछु । म चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा गएको हुँ । कुनै क्षेत्रमा गए पनि म चलचित्रको भलोको लागि हो । मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्रकर्मीहरूको उत्थान र विकासका लागि हो । म राजनीतिमा गएर चलचित्र क्षेत्र राम्रो हुन्छ भने म कुनै पनि ठाउँमा जान तयार छु ।’
आफू बाचुन्जेल चलचित्र क्षेत्रको उत्थानको लागि काम गर्ने अध्यक्ष केसीको भनाइ थियो ।