१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
बुधबार वीरगन्जमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य शेखर कोइरालालगायत ।
तिवारी यादव वीरगन्ज
२०७९ श्रावण ११ बुधबार १३:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शेखर कोइराला भन्छन् – कांग्रेसका तीन सर्त माने मात्र तालमेल

माओवादी केन्द्रले भने अनुसार तालमेल नहुने काेइरालाकाे दावी

Read Time : < 1 मिनेट
२०७९ श्रावण ११ बुधबार १३:०२:००

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अगामी संघ र प्रदेशको निर्वाचनमा कांग्रेसका तीन सर्त माने मात्र अन्य दलसँग तालमेल हुने बताएका छन् । बुधबार वीरगन्जमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य कोइरालाले कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी आगामी निर्वाचनमा तालमेल गर्नुपर्ने बताए । उनले  नेकपा माओवादी केन्द्रले भनेअनुसार तालमेल नहुने उल्लेख गरे । 

वैशाखमा भएको स्थानीय निर्वाचनमा अधिकतम मत कांग्रेसले नै पाएकाले त्यहीअनुसारको हैसियतले गठबन्धनका दलबीच सिटको तालमेल हुनुपर्ने बताए । पहिलो आर्थिक–सामाजिक रूपान्तरणबारे एउटै धारणा हुनुपर्ने, दोस्रो वैदेशिक नीतिमा न्यूनतम समझदारी हुनुपर्ने र तेस्रोमा पाँच वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्नुपर्ने उनको सर्त छ।

विगतदेखि नै कांग्रेस पार्टीमा गुट–उपगुट हाबी रहेको बताउँदै कोइरालाले पार्टीमा गुट–उपगुट हुनु स्वाभाविक नै भएको बताए । ‘पार्टीमा गुटिज्म हुन्छ । त्यो स्वाभाविक नै हो । गुट भनेको विचार हो, यसलाई अन्यथा लिनुहुँदैन, तर जब अन्य दलसँग प्रतिस्पर्धाको सवाल आउँछ त्यसवेला भने सबै गुट एक हुनुपर्छ । त्यसवेला गुट–उपगुटमा लाग्नुहुँदैन ।’

उनले वैचारिक राजनीतिमा फरक धारणा आउनु सामान्य भएको बताउँदै कम्युनिस्ट, जसपालगायत अन्य दलसँग लड्दा कांग्रेस एकढिक्का हुनुपर्ने बताए । उनले भने, ‘आगामी संघ र प्रदेशको निर्वाचनमा कांग्रेस नेतृत्वले तेरो–मेरो नगरी योग्य उम्मेदवारलाई टिकट दिए मात्र कांग्रेसको भविष्य उज्ज्वल हुन्छ ।’