१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार

हेलिप्याड बनाउन बजेट व्यवस्थापन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:५o:oo

विपत् व्यवस्थापन र आपतकालीन उद्धारको कामलाई व्यवस्थित बनाउन जिल्लाको जैमिनी नगरपालिकाले नगर क्षेत्रभित्र तीनवटा पक्की हेलिप्याड बनाउने भएको छ ।  प्रत्येक वडामा एक हेलिप्याड बनाउने अवधारणा ल्याएको नगरपालिकाले तत्कालका लागि तीन स्थानमा पक्की हेलिप्याड निर्माण गर्ने निर्णय गरी बजेटसमेत व्यवस्थापन गरेको छ । 

विशेषगरी गर्भवती र सुत्केरी तथा अन्य दुर्घटनामा परेका बिरामीको उद्धारका लागि सहज होस् भनेर हरेक वडामा हेलिप्याड निर्माण गर्ने निर्णय गरिको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । शर्माका अनुसार अनुसार पहिलो चरणमा अति आवश्यक क्षेत्रलाई प्राथमिकरण गरी तीन स्थानमा हेलिप्याड बन्नेछ ।

पक्की हेलिप्याड बनाउँदै जैमिनी
जसका लागि एक हेलिप्याडबराबर पाँच लाख रुपैयाँका दरले यस आवमा १५ लाख बजे विनियोजन गरिएको छ । नगरपालिकाभित्र वडा नम्बर १ को कुश्मीसेरा, वडा नम्बर ३ को माथिल्लो दमेक र वडा नम्बर ८ को छिस्तीमा पक्की हेलिप्याड निर्माण गरिनेछ । ‘नगरपालिकाका कार्यालय कुश्मीसेरा बजारदेखि सबै वडामा कच्ची सडकले मात्रै छोएको छ । हिउँदको समयमा त जेनतेन गाडी चल्लान्, बर्खाको समयमा समस्या हुन्छ,’ उपप्रमुख शर्माले भने, ‘समयमा गाडी नपाइने र गाडी भेटिँदा पनि मुकाम पुग्नै तीन–चार घन्टा लाग्ने अवस्था भएकोले हेली उद्धारलाई प्राथमिकता दिएको हो । पहिलो चरणमा तीन स्थानमा पक्की हेलिप्याड निर्माण गर्ने योजना बनाएका छौँ अन्य वडामा अस्थायी हेलिप्याड बनाइनेछ । 

नगर कार्यपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क हेली उद्धार र उपचारमा पठाउने निर्णयसमेत गरिसकेको उनले बताए । जिल्लाको काठेखोला गाउँपालिकाले पनि अघिल्लो वर्ष नै वडा नम्बर ७ को लेखानीमा पक्की हेलिप्याड निर्माण गरेको छ । 

गर्भवती सुत्केरी र दुर्घटनामा परेकालाई उद्धारमा सहज
विशेषगरी जिल्लाको पश्चिम क्षेत्रमा गर्भवती, सुत्केरी र दुर्घटना भएमा हेलिकाेप्टरमार्फत उद्धार गर्ने गरिएको छ । सदरमुकाममा रहेको धौलागिरी अस्पताल पुर्‍याउन र अन्य छिमेकी जिल्लाका अस्पताल पुर्‍याउन घन्टाैँ लाग्ने हुँदा यस्तो जटिल अवस्था परेमा हेलिकाेप्टर नै प्रयोग गर्ने गरेका छन । यसले उद्धारमा सहज बनाएको छ । स्वास्थ्य कार्यालय बाग्लुङका अनुसार गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा चालू वर्ष तीन र गत वर्ष सातजना गर्भवती र सुत्केरी अवस्थामा रहेका महिलाको हेलीद्वारा उद्धार भएका थिए । कोभिडको समयमा श्वासप्रश्वासमा समस्या भएका व्यक्तिलाई हेलीमार्फत नै काठमाडौं र पोखराका अस्पतालमा लगिएको थियो । दुर्घटना परेमा वा सुत्केरी र गर्भवती अवस्थाका महिलालाई कार्यालयले समन्वय गरेर उद्धार कार्यका लागि सहयोग गर्दै आएको स्वास्थ्य कार्यालय बाग्लुङका क्षयकुष्ठ निरीक्षक अधिकृत देवप्रकाश घिमिरेले जानकरी दिए । जैमिनी नगरपालिका, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, गलकोट नगरपालिकाबाट धेरै हेली उद्धार भएका छन् । 

निजी व्यवस्थापनमा दुईदेखि तीन लाखसम्म शुल्क तिर्छन्

निजी खर्च र व्यवस्थापनमा त्योभन्दा धेरै हेली उद्धार भएकाे घिमिरेले बताए । निजी खर्चमा एकपटकको उद्धारमा बिरामीले दुईदेखि तीन लाखसम्म शुल्क तिरेका पाइएको छ । जिल्लाका अन्य स्थानीय तहले पनि अस्थायी हेलिप्याड निर्माण गरेका छन् । हेलिप्याड नहुँदा खेतबारीमा अवतरण गरी बिरामी पठाउनुपर्ने बाध्यता छ । बाग्लुङ सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा समेत हेलिप्याड नहुँदा नजिकैको धौलागिरी बहुमुखी क्याम्पसमा हेलिकोप्टर राख्ने गरिएको छ । वर्षमा दर्जनौँपटक क्याम्पसको चउरमा हेलिकोप्टर बसेको छ । अन्यत्र कुनै पनि हेलिप्याड छैन । हेलिप्याड नहुँदा मुस्ताङमा मौसम खराब भएर फर्केका हेलिकोप्टरसमेत बाग्लुङस्थित धौलागिरी बहुमुखी क्याम्पसमामा अवतरण गरेको पाइएको छ । जिल्लाको नारायणस्थानमा रहेको बलेवा विमानस्थल कालोपत्रे भएकाले आउँदा दिनमा आपतकालीन अवतरण त्यता हुने विश्वास गरिएको छ । 


 

ad
ad