मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ३१ शुक्रबार १०:११:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फुटबलको पुनर्संरचना गर्न खेलाडी संघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ३१ शुक्रबार १०:११:००

खेलाडी संघले नेपाली फुटबलको वर्तमान संरचनाले विकास सम्भव नभएको जनाएका छन् । यही कारण संघले नेपालको फुटबल क्षेत्रको पुनर्संरचना हुनुपर्ने माग गरेको छ । खेलाडी संघले बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै फुटबलको पुनर्संरचनाको माग गरेको हो । 

पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फा कार्यसमितिलाई खेलाडी संघले पाँचबुँदे ध्यानाकर्षण पत्रसमेत बुझाएको छ । संघको मागमा फुटबल पुनर्संरचनादेखि एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित बनाउनुपर्ने उल्लेख छ । ‘खेलाडीलाई वर्षभरि व्यस्त बनाउने गरी एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित र समय तालिकाअनुसार सार्वजनिक गर्न अनुरोध छ,’ ज्ञापन पत्रमा भनिएको छ । 

घरेलु फुटबलको संरचनालाई परिवर्तन गर्दै नयाँ खाका तयार गरी कार्यान्वयन गर्न एन्फा नेतृत्वसँग संघले माग राखेको छ । संघले नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाको नयाँ नेतृत्व र कार्यसमितिसँग खेलाडी संघ हातेमालो गर्दै सहकार्य गरेर अघि बढ्ने विश्वास दिलाएको छ । पछिल्लो समय खेलाडीको योगदानको अवमूल्यन भइरहेको र खेलाडीलाई अपमानजनक रूपमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट निकाल्ने कार्य भएको स्मरण खेलाडी संघले गराएको छ । 

साथै, राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पछिल्लो व्यवहारले फुटबल खेलाडी मर्माहत भएको संघको दाबी छ । एन्फा अध्यक्ष नेम्वाङले राखेको पहिलो बैठकले खेलाडीलाई सम्मानपूर्वक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फिर्ता बोलाउने एन्फाको पछिल्लो निर्णयको संघले स्वागत गरेको छ । 

खेलाडी संघले खेलाडीको स्वास्थ्य बिमा र स्वास्थ्य उपचारका लागि उचित प्रबन्धको माग राखेको छ । घरेलु प्रतियोगिता नहुँदा खेलाडीहरू विदेश जाने क्रमले युवापिँढीका खेलाडीको भविष्य अन्योलमा परेको संघको भनाइ छ । ‘अवसरको खोजीमा खेलाडी विदेश जाने क्रम बढेको छ, घरेलु प्रतियोगिता नहुँदा खेलाडी विदेश जाने क्रम बढेका कारण तत्काल क्लब फुटबलका कार्यक्रमलाई सार्वजनिक गर्न एन्फासँग आग्रह गर्छौँ,’ खेलाडी संघले भनेको छ ।