१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
भुवन न्यौपाने
२o८१ जेठ ८ मंगलबार o७:५९:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

युवाका काँधमा अवस्था परिवर्तनको दायित्व

Read Time : > 2 मिनेट
भुवन न्यौपाने
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o७:५९:oo

देशको संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकामा ३१ वर्षे स्वतन्त्र उम्मेदवार बालेन शाह र एमालेकी उम्मेदवार २९ वर्षीया सुनीता डंगोल क्रमशः मेयर र उपमेयरमा विजयी भएपछि काठमाडौंका मतदाताले महानगरको साँचो युवाका काँधमा सुम्पिन चाहेको देखियो । राजधानीमा मात्र होइन, देशैभर स्वतन्त्र र राजनीतिक दलका युवा उम्मेदवार विजयी हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसले राजनीतिक वृत्त हुँदै समाजदेखि संसद्सम्मै रूपान्तरणका बहस सुरु भएका छन् । निर्वाचित हुनेमा युवाको बाहुल्य बढेसँगै मुलुकभर शासन प्रक्रियामा युवाको परीक्षाको घडी सुरु भएको छ । स्थानीय सरकार नेतृत्व विकास, सुशासन र समुन्नतिको आधारस्तम्भ हो । स्थानीय सरकारको जगमा सक्षम, इमानदार र सक्रिय युवाको प्रतिनिधित्व बढ्नु आफैँमा सकारात्मक रूपान्तरणको संकेत हो । 

युवा त्यो सक्रिय उमेर समूह हो, जसमा राष्ट्रको भविष्य निर्भर हुन्छ । समृद्धिका संवाहक बन्ने सामथ्र्य युवामै हुन्छ । युवा युग परिवर्तनका मेरुदण्ड हुन् । देशको आर्थिक, सामाजिक, राजनीतिक तथा शासकीय प्रणाली रूपान्तरण प्रक्रियामा युवाको भूमिका अहं हुन्छ । युग सुहाउँदो परिवर्तन युवाबाट मात्र सम्भव हुन्छ । यही कारण स्थानीय तहको निर्वाचनमा युवाशक्तिलाई साथ दिएका हुन्, जनताले । स्थानीय लोकतन्त्रलाई समृद्ध गराउने र यसका लाभलाई न्यायोचित वितरण गर्ने जिम्मेवारीसमेत युवाहरूमा आइपरेको छ । 

०७४ को स्थानीय निर्वाचनमा ४२ प्रतिशत युवा उम्मेदवार थिए, ३९.६४ प्रतिशत युवा निर्वाचित भए । ०७९ को निर्वाचनमा कुल उम्मेदवारमध्ये २४.३२ प्रतिशत २१–३५ वर्षका, ४६.३१ प्रतिशत ३६–५० वर्षबीचकाको उम्मेदवारी परेकामा ४२ प्रतिशत जनप्रतिनिधि ४० वर्षमुनिका युवा निर्वाचित भएका छन् । यसपटकको स्थानीय चुनावमा उल्लेख्य मात्रामा स्वतन्त्र युवा विजयी भएर शासन प्रक्रियामा आएका छन् । यो युवामाथिको भरोसा, सुशासनप्रति जनअपेक्षाको अभिव्यक्ति हो । 

संवैधानिक एवं नीतिगत परिवर्तन र युथ भिजनको परिकल्पनाले राजनीति, शासन प्रक्रिया र नीति–निर्माण तहमा युवाको उपस्थिति बढ्न थालेको देखिन्छ । ०७४ को निर्वाचनबाट प्रतिनिधिसभामा १३.०९ प्रतिशत, प्रदेश सभामा २३.६३ प्रतिशत, राष्ट्रिय सभामा ६.७७ प्रतिशत र स्थानीय तहमा ३९.६४ प्रतिशत युवाको प्रतिनिधित्व भयो । स्थानीय तहमा ३९.६४ प्रतिशत मेयर, १७.७४ प्रतिशत उपमेयर, ३७.८८ प्रतिशत गाउँपालिका अध्यक्ष, २४.३४ प्रतिशत उपाध्यक्षसहित ५१.५२ प्रतिशत स्थानीय सरकारको नेतृत्वमा युवा पुगे । ०७९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट ४१ प्रतिशत, एमालेबाट ३९.३२ प्रतिशत, माओवादी केन्द्रबाट ४९ प्रतिशत, नेकपा एसबाट ४१.४५ प्रतिशत र जसपाबाट ३५.२५ प्रतिशत साथै स्वतन्त्रबाट १९० युवा निर्वाचित भएका छन् । विगतको सहभागिता र अहिलेको स्थानीय निर्वाचनको नतिजाले आगामी संघीय र प्रदेशको निर्वाचनमा युवाको उम्मेदवारी र विजयी हुने दर बढ्ने बलियो सम्भावना देखिन्छ ।

स्थानीय निर्वाचनले वृद्ध पुस्ताको पछि नलागी पनि नेतृत्वमा युवाको आगमन सम्भव छ भन्ने देखाएको हुनाले अब युवाले मुलुकको व्यवस्था परिवर्तनमा मात्र होइन, अवस्था परिवर्तनमा समेत नेतृत्व दिन सक्नुपर्छ
 

सक्षम युवाहरू स्थानीय सरकारमा निर्वाचित हुँदै गर्दा उनीहरूको काँधमा आइपरेको विकास र सुशासनको दायित्व कसरी निर्वाह गर्छन्, रूपान्तरणको मार्ग कसरी अगाडि बढाउँछन् भन्ने प्रश्न सबैमा हुन सक्छ । दुई दशकपछि नेपालमा स्थानीय जनप्रतिनिधिले विकासको बागडोर दोस्रो कार्यकालका लागि सम्हालेका छन् । राजनीतिक दलमार्फत जनप्रतिनिधिमा युवा सहभागिता बढेको छ । तर, भौतिक उपस्थितिले मात्र सहभागिताको सिद्धान्तलाई समेट्न सक्दैन । विगतमा युवा जनप्रतिनिधि भएपश्चात् युवामैत्री विकास भयो या भएन ? त्यसलाई पनि बहसको विषय बनाइनुपर्छ । अबका दिनमा युवाले विगतका कमीकमजोरी सुधार गरी समयानुकूल माग र आवश्यकतालाई कसरी सम्बोधन गर्न सक्छन्, युवाको योग्यताले स्थानीय सरकारलाई कसरी सुशासनमैत्री र समुन्नतिको मार्गमा लैजान सहयोग गर्ला ? प्रश्नहरू यथावत् छन् । 

स्थानीय चुनावको मतपरिणामको समीक्षा गर्दा पहिलो, युवा आफ्नो योग्यतामा विश्वास गर्नुको सट्टा अघिल्लो पुस्ताको पछाडि लाग्दा नेतृत्वमा आउन सकेनन् भन्ने टिप्पणी केही हदसम्म खारेज भएको छ । दोस्रो, भिजन भएका युवा भए राजनीतिक दलकै पछि लागेर उमेदवारी दिनु नपर्ने देखिएको छ । तेस्रो, कार्यसम्पादन, सुशासन, रूपान्तरणमा युवाको परीक्षणको समय आएको छ । यस्तो अवस्थामा निर्वाचित युवाले अवसर र चुनौती चिनेर सकारात्मक परिवर्तनको विगुल फुक्न सक्नुपर्छ । 

काठमाडौं, धरान, धनगढीलगायत नगरमा स्वतन्त्र उम्मेदवारको पक्षमा खसेको आश्चर्यजनक मतले दलप्रतिको अविश्वास र निराशालाई प्रतिबिम्बित गरेको छ । मुलुकले ठूला दलको मनोमानी तोडेर युवाको नेतृत्वदायी वैकल्पिक शक्ति निर्माणको आवश्यकता देखाएको छ । अबका दिनमा मतदाताले जुनसुकै पार्टी अथवा पार्टीबाहिरका भए पनि सक्षम र योग्य उम्मेदवारको खोजी गरी विवेकपूर्ण रूपमा मतदान गर्ने सचेतना देखा परेको छ । 

चुनावको मूल पाटो राजनीतिक दलहरू नै हुन् । दलभित्रबाट समेत युवा उम्मेदवारलाई जनमत आउनु युवामाथिको भरोसामा वृद्धि हुनु हो । दलहरूले उम्मेदवार चयनको शैली बदल्न नसके स्थानीय चुनावको लहर प्रदेश र संघीय चुनावमा जोडिन सक्ने अनुमान गर्न सकिन्छ ।नयाँ संविधानसँगै मुलुक एउटा उज्यालो युगमा प्रवेश गरेको हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएसँगै मुलुकको राजनीतिक परिवर्तनको एउटा चरण पूरा भएकै हो ।

अहिले प्राप्त राजनीतिक उपलब्धिलाई विकास र समृद्धिमार्फत संस्थागत गर्नु नै बदलिएको राजनीतिक कार्यभार हो । यो कार्यभार स्थानीय सरकारमार्फत सक्रिय, सक्षम र कुशल युवाको काँधमा आइपरेको छ । युवाहरू मुलुकको व्यवस्था परिवर्तनमा मात्र होइन, अवस्था परिवर्तनमा समेत जुझारु देखिनु जरुरी छ । राजनीतिक रूपान्तरणका लागि यथास्थितिवाद र परम्परावादी सोच, विचार र वादमा अल्झेर युवाले समय व्यतीत गर्नु हुँदैन । युवाको एउटै संकल्प र समुन्नतिका लागि सहकार्य आवश्यक छ । 

ad
ad