१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
भुवन न्यौपाने
२o८१ जेठ ८ मंगलबार o६:५२:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

निसानामा दुई महामन्त्री

पछिल्लो समय कांग्रेसका युवा महामन्त्रीद्वय गगन–विश्वको ‘केमेस्ट्री’ले पार्टीभित्रका र अन्य पार्टीका पुरातनपन्थी नेतालाई हतास बनाएको छ

Read Time : > 5 मिनेट
भुवन न्यौपाने
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o६:५२:oo

मुलुकको सबैभन्दा ठूलो र जेठो राजनीतिक दल कांग्रेसको झन्डै एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकमा निकै रोचक मतभेद देखिए । सभापतिनिकट बफादार केन्द्रीय सदस्यले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको खुलेर आलोचना गरे । तिनले सभापतिविरुद्ध उत्रिएको र आफ्नै परिवारका सदस्य नक्कली शरणार्थी प्रकरणमा मुछिएका वेला गृहमन्त्रीकहाँ पुगेर धन्यवाद दिएको भन्दै आपत्ति जनाए । उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्नभन्दा बचाउमा मत राखे । तर, यो प्रस्तावमा महामन्त्री गगन थापाले फरक मत राख्दै आफूलाई कांग्रेसको लोकतान्त्रिक नीति र वैकल्पिक नेतृत्वका रूपमा उभ्याए । बैठकको प्रस्तावना र निर्णयमा देखिएको मतभेदले कांग्रेसको धुव्रीकरण सतहमा देखिएको छ । 

वैचारिक दृष्टिकोणमा कांग्रेस लोकतान्त्रिक पार्टी हो । पार्टी कानुनी शासन र सुशासनमा अडिग रहनुपर्छ भन्ने हेक्का खाण बचाउ पक्षधर सदस्यले आत्मसात् गरेनन् । बैठकमा देउवा पक्षधर नेताले उमेरको उत्तरार्धमा पार्टीको नेतृत्व गरिरहेका सभापति देउवाले बैठक लाइभ गर्ने भनी गरेको निर्णयलाई धन्यवाद दिँदै महामन्त्रीले प्रस्तुत गरेको निकै प्रभावकारी र सुदृढ कांग्रेसको परिकल्पना गरी तयार गरिएको प्रस्तावलाई समर्थन गरी अपनत्व लिन सकेनन् । उल्टै आरोप र खण्डनमा उत्रिए । सम्भवतः कांग्रेस इतिहासमा यो तहको मिहिनेत गरेर पार्टीको समयानुकूल रूपान्तरणमा महामन्त्रीमार्फत प्रस्तुत भएका दस्ताबेज कमै होलान् । कांग्रेसको इतिहासमा महामन्त्रीले नै निर्णयमा फरक मत प्रस्तुत गरेको पनि यो नै पहिलो हो । 

कांग्रेस बदलिँदो परिवेशमा संसद् र पार्टीका छलफलबाहेक सडक र समाजमा समयसापेक्ष कस्ता विषयमा चासो राख्छ भन्ने विषयबाट अधिकांश सदस्य विमुख भएको देखिन्छ । आमअपेक्षामा बहुप्रतीक्षित कांग्रेसको केन्द्रीय समिति बैठकले दूरगामी विषयमा बहस, मन्थन र विमर्श गरेर पार्टी र सिंगो मुलुकको समुन्नतिको गतिलाई थप अर्थपूर्ण कार्यनीतिमार्फत अगाडि बढाउन प्रयत्न गर्ला भन्ने बुझाइमा अपेक्षाकृत परिणाम देखिएन । बैठकको सुरुकै दिनमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्ययोजनासहितको कार्यतालिकामा समावेश भएका विषयवस्तुमा भन्दा सतही अध्ययन र त्यसको खण्डनबाहेक उपयुक्त विकल्प प्रस्तुत गर्न कुनै पनि केन्द्रीय सदस्यले जाँगर चलाएनन् । बरु उनीहरू महामन्त्रीद्वयलाई रोक्ने रणनीतिमा केन्द्रित देखिए । 

लोकतान्त्रिक जेठो दलले सामाजिक सञ्जालमार्फत बैठकको लाइभ प्रसारण गरेपछि कांग्रेस केन्द्रीय समितिका सदस्यको लोकतान्त्रिक चरित्र र मनोदशा उदांगिएको छ । पछिल्लो समय कांग्रेसका युवा महामन्त्रीद्वय गगन–विश्वको ‘केमेस्ट्री’ले पार्टीभित्रका र अन्य पार्टीका पुरातनपन्थी नेताहरूलाई हतास बनाएको छ । महामन्त्रीद्वयका गतिविधि यति परिपक्व छन् कि कुनै पनि समस्या समाधानका लागि मिहिन अध्ययन, तथ्यगत जाँचबुझ, विज्ञसँगको नियमित परामर्श, कानुनी व्यवस्था र विगतका अभ्यासका साथै अन्तर्राष्ट्रिय राजनीतिक विकासक्रममार्फत समस्याको पहिचान र त्यसको समयसापेक्ष समाधानमा केन्द्रित देखिन्छन् । 

समुन्नत नेपाल, सम्मानित नेपालीको परिकल्पना, निर्वाचनका घोषणापत्र, ऐतिहासिक दस्ताबेजका सम्पादित पुस्तक, एमसिसी पास, एसपिपी रोकमा अडान, प्रोजेक्ट गभर्नेन्सको परिकल्पना, विधेयकमा नियमित छलफल र संशोधन, संसद्को प्रस्तुति आदिमा महामन्त्रीद्वयको परिपक्वता देखिन्छ । यस्तै, प्रभावकारी कार्यलाई कुशलतापूर्वक सञ्चालन गर्न थालेपछि संसद् र सडकमा मात्र होइन, पार्टीभित्रको पंक्ति र अन्तरपार्टीमा समेत गगन–विश्वको केमेस्ट्रीको डाहा गर्नेहरू बढ्दै छन् । प्रत्यक्ष वा अप्रत्यक्ष नेपाली राजनीतिको केन्द्रमा रहँदा गगन–विश्वको वेग र आत्मविश्वासले चौतर्फी रूपमा धेरै पुरातन र यथास्थितिवादी नेता र कार्यकर्ताका लागि चिन्ताको विषय बनेको छ । पार्टीभित्रै र पार्टीबाहिर विभिन्न ढंगले उनीहरूका गतिलाई रोक्न चौतर्फी रणनीति प्रयोग भएका देखिन्छन् । 

आफ्नै समूहभित्रको अन्तरसंघर्ष :  १४औँ महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाको विकल्पका रूपमा शेखर कोइरालालाई सभापतिमा समर्थनसहित आफू महामन्त्री लडेर लोकप्रिय मतबाट निर्वाचित गगन र शेखरको पछिल्लो सम्बन्धमा केही लय नमिलेको अनुमान गरिँदै छ । त्यसको पुष्टि पार्टीका कतिपय निर्णय, नियुक्ति र शेखर पक्षको एकलौटी व्यवहारले पनि देखाउँछ । सार्वजनिक रूपमा आफ्नो पक्षको चालीस प्रतिशतकै नेतृत्व गरेको भनेर शेखरले पटक–पटक विश्वस्त पार्न खोजे पनि व्यवहारमा त्यस्तो देखिँदैन । केन्द्रीय समितिको छलफलअगावै इतरपक्षबाट रणनीतिक छलफलका लागि पनि शेखर पक्षधरले रुचि देखाउँदैनन् । अर्कातर्फ, महामन्त्री गगनले पनि आफ्नो समूहमा विगतमा जस्तो वर्तमानका एजेन्डामा मिहिन रूपमा समीक्षा हुन छाडेको स्वीकार गरेका छन् । 

पार्टीका संस्थापन पक्षका अधिकांश नेता–कार्यकर्ता गगनको कार्यशैलीमा आलोचना गर्ने ठाउँ नपाउँदा उनलाई ‘पपुलिज्म’बाट उदाएको आरोप लगाउँछन् । तर, त्यस्तो पपुलिज्म गगनले ‘स्टन्ट’ गरेर होइन, सामूहिक प्रयत्नमा मिहिनेत गरेर देखाएका हुन् भन्ने तथ्यलाई चाहिँ उनीहरू स्विकार्न चाहँदैनन् ।
 

कांग्रेसमा समूह समीकरण बदलिनु नयाँ होइन । यतिवेला कांग्रेसमा नयाँ धुव्रीकरण देखिन थालेको आशंका उब्जिएका छन् । देउवासँग शेखरको निकटताले कांग्रेस वृत्तमा नयाँ तरंग सिर्जना गर्दै छ । सार्वजनिक रूपमा शेखरले त्यस्तो सानिध्यलाई इन्कार गरे पनि देउवाका निर्णयविरुद्ध खरो उत्रिन सकेका छैनन् । केन्द्रीय समितिमा महामन्त्रीले प्रस्तुत गरेका एजेन्डा र संस्थापन पक्षले लगाएका आरोपको खण्डन गर्नेतर्फ पनि इतरसमूहको खासै रुचि देखिएन । अर्कातर्फ, महामन्त्रीद्वयको नजिकिँदो सम्बन्धका कारण पनि गगनसमक्ष शेखर समूहले आशंका गरिरहेको केही केन्द्रीय सदस्यको बुझाइ छ । यस्ता परिघटनाले एजेन्डामा केन्द्रितभन्दा व्यक्तिगत स्वार्थकेन्द्रित अन्तरसंघर्षमा आफ्नै समूह रुमल्लिएको देखिन्छ । 

कांग्रेसका दोस्रो तहका नेताले गगन–विश्वलाई अहिले नै सर्वस्वीकार्य नेताका रूपमा अपनत्व लिन चाहेको देखिँदैन । महामन्त्रीद्वयलाई रोक्न उनीहरू भरमग्दुर कोसिस गरिरहेका देखिन्छन् । गगन–विश्वको जुझारु र सक्रिय पुस्ता अहिले नै पार्टीको शीर्ष तहमा आए भने राजनीतिक जीवन सकिने संशय उनीहरूमा छ । शेखर आफैँ निकट नेताहरूमार्फत गगनलाई रोकेर पार्टी सभापति र संसदीय दलको नेताका साथै भावी प्रधानमन्त्रीसम्मको रणनीतिमा लागेको निकटस्थहरूको बुझाइ छ । शेखर–गगनभित्रैको अविश्वासले कसलाई बढी क्षति गर्छ, भन्न सकिन्न । तर, गगन–विश्वको केमेस्ट्री र आमकार्यकर्तामा देखिएको आशाले कांग्रेसमा जीवन्तताको सञ्चार भने अवश्य गरेको छ । 

पार्टीभित्रैबाट अवरोधका प्रयास :  पार्टीका संस्थापन पक्षका अधिकांश नेता–कार्यकर्ताले गगनको कार्यशैलीमा आलोचना गर्ने ठाउँ नपाउँदा उनलाई ‘पपुलिज्म’बाट उदाएको आरोप लगाउँछन् । तर, त्यस्तो पपुलिज्म गगनले ‘स्टन्ट’ गरेर होइन, सामूहिक प्रयत्नमा मिहिनेत गरेर देखाएका हुन् भन्ने तथ्यलाई चाहिँ उनीहरू स्विकार्न चाहँदैनन् । पार्टीलाई समयसापेक्ष, विधानअनुरूप र आमअपेक्षामुखी रूपमा रूपान्तरण गरेर जनताको कांग्रेस बनाउने उद्घोष गरेका महामन्त्रीद्वयका भिजनले कांग्रेस कार्यकर्तादेखि सर्वसाधारणमा आशा सञ्चार गरेको छ । भुइँतहदेखि केन्द्रसम्मै कांग्रेसको नेतृत्वप्रति देखिएको वितृष्णाको विकल्प खोजिरहेका उनीहरूलाई पार्टीभित्रैको संस्थापनको प्रतिपक्षका रूपमा हेरिन्छ । सभापति देउवाको विकल्प, संसदीय दलको नेता परिर्वतन गरेर नेतृत्व र नीतिमा कांग्रेसलाई अब्बल बनाउने एजेन्डामा केन्द्रित हुँदा संस्थापनलाई निकै हम्मे परेको देखिन्छ । 

सार्वजनिक रूपमै साथीहरूले साथ दिए संसदीय दलको नेता बदलेर कांग्रेसलाई नवजीवन दिन्छु भनेपछि संस्थापन पक्षमा बेचैनी बढेको छ । संसद्को प्रतिपक्षलाई भन्दा पार्टीको संस्थापन पक्ष गगनलाई रोक्ने रणनीतिमा केन्द्रित देखिन्छ । अर्कातर्फ, गगनको रणनीतिक मुभमा विश्वप्रकाश र प्रदीपजस्ता युवानेताले साथ दिँदा संस्थापनमा विचलन देखिन्छ । कांग्रेसका भुइँतहसम्मकै कार्यकर्तामा पनि गगन, विश्व र प्रदीपको सहकार्यले आशाको सञ्चार गरेको छ । संस्थापनमा देउवाका लागि एउटै लयमा उत्रिएका दोस्रो तहका नेताबीच नै तालमेल र आपसी सम्बन्ध चिसिएका वेला नयाँ उदीयमान पार्टीहरूसँगको प्रतिस्पर्धा र कांग्रेसको साख जोगाउन गगन, विश्व र प्रदीपलगायतको अडान आमकार्यकर्ताले चाहेका छन् । कांग्रेसमा बन्दै गरेको यो नयाँ समीकरण रोक्न संस्थापन पक्षले कठोर र नरम दुवै नीतिको प्रयोग गरिरहेको पछिल्ला राजनीतिक घटनाक्रमले देखाउँछ । 

विपक्षी पार्टीको एकलव्य निसाना :  नेपाली राजनीतिका पछिल्ला दशकमा निकै प्रभावशाली ढंगले उदाउँदै गर्दा गगन–विश्व विपक्षी पार्टीका लागि निसानामा देखिन्छन् । संसद्मा होस् कि सार्वजनिक भाषणमा, निडर भई विपक्षीका लाञ्छनाविरुद्ध परिपक्व ढंगमा उत्रिने दुवै महामन्त्री उनीहरूको निसानामा हुन्छन् । राजनीतिक सवालमा एमाले अध्यक्ष केपी ओलीसँगको सवालजवाफमा समेत निकै घोचपेच हुन्छ । एमालेका दोस्रो र तेस्रो तहमा ओलीको प्रभावकारी उत्तराधिकारी नदेखिँदा कांग्रेस र आमसर्वसाधारणमा गगन–विश्वले देउवाको विकल्पमा दाबी गर्दा ती पार्टीभित्र पनि हलचल भएका दृष्टान्त छन् । 

लोकतान्त्रिक रूपमा महाधिवेशनबाट लोकप्रिय मतसहित निर्वाचित गगन–विश्व र कांग्रेसलाई रोक्न एमालेलगायत कम्युनिस्ट पार्टीका दोस्रो तहका नेता पनि आफूहरू एकताबद्ध भएको सन्देश दिन चाहन्छन् । सत्ता समीकरणमा रहेका दलहरूले पनि गगन–विश्वले संसद् र सरकारमा देखाएको भूमिकालाई आशंकाका रूपमा हेर्छन् । विशेषतः पछिल्लो समय निर्वाचनअगावैको गठबन्धनलाई लिएर खरो रूपमा उत्रिएका गगनको शैली माओवादी केन्द्र र समाजवादी पार्टीका नेताले पचाउन सकेका छैनन् । सरकार र संसद्मा सत्तापक्षकै प्रतिपक्षका रूपमा गगन–विश्व उत्रिएपछि उनीहरूलाई रोक्न अनेक प्रयत्न गरिएका राजनीतिक घटनाक्रमले नै पुष्टि गर्छन् । 

नयाँ उदीयमान पार्टीलाई पनि रणनीतिक रूपमा गगन–विश्वको वेगलाई रोक्न निकै कसरत गरेको देखिन्छ । विशेषतः उदीयमान रास्वपा नेपाली राजनीतिमा नाटकीय रूपमा उदाएपछि कांग्रेसका गगन–विश्व–प्रदीप पुस्ता र सो दलको प्रतिस्पर्धा रोचक देखिएको छ । पपुलिज्मको धारबाट उदाएका नेता रवि लामिछाने र आफ्नै सहकर्मी स्वर्णिम–मनिष–शिशिर आदि रास्वपा नेता र गगन, विश्व र प्रदीपबीच भावी प्रतिस्पर्धा हुने अनुमान धेरैको छ । रास्वपाले गगन–विश्वको व्यवस्थित राजनीतिक अभ्यासलाई कमजोर मानेको छैन । बरु, त्यस्तो कदमलाई रोक्न अन्य पार्टीका क्रिम नेतालाई स्वागत गरेर समूह विस्तारमा रणनीतिक जोड दिएको छ । अर्कातर्फ, स्थानीय तहमा बालेन र हर्कजस्ता नेताको उदयले पनि गगन–विश्वलाई चुनौती थप्ने देखिन्छ । 

अन्त्यमा, पछिल्ला राजनीतिक घटनाक्रम, उपनिर्वाचनको परिणाम र सन्देश, महामन्त्रीद्वयको कार्यसम्पादन, आमकार्यकर्ताको सहानुभूति र समर्थन साथै केन्द्रीय समितिमा प्रस्तुत कार्ययोजनाले गगन–विश्वको आत्मविश्वास बढाएको छ । लोकतन्त्र, सुशासन, शासकीय कौशल, ‘डेलिभरी’ र पर्फर्मेन्स बेस्ड पोलिटिक्स’बाट सक्षमलाई अवसर दिने उनीहरूको प्रयासले पक्कै पनि केही फरक र नयाँपन दिने संकेत गरेको छ । अहिलेको समयमा गगन–विश्वलाई रोक्ने रणनीति बनाउनु भनेको आफ्नै खुट्टामा आफैँले बन्चरो हान्नुजस्तो दुष्प्रयास हो । समयको चेत र देशको मागअनुरूप भिजिनरी नेतृत्वका रूपमा गगन–विश्वसँग तुलना गर्न सकिने समकक्षी राजनीतिकर्मी नेपाली राजनीतिमा देखिँदैनन् । तर, आफूले आर्जन गरेको ज्ञान, अनुभव र भिजनलाई कार्यान्वयन गरेर आमअपेक्षालाई सम्बोधन गर्ने रणनीतिमा गगन–विश्व कसरी प्रस्तुत हुन्छन् भन्नेचाहिँ हेर्न बाँकी नै छ । 

ad
ad