
संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्राकृतिक स्राेत तथा वित्त आयोग तेस्रो वार्षिक प्रतिवेदन, २०७८ पेस गर्नेछन् ।
त्यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक, २०७० माथि विचार गयरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।
त्यस्तै, गृहमन्त्री बालकृष्ण खाणले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।