मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुरेश प्राञ्जली
२०७९ असार २१ मंगलबार ०६:४०:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

रुन्चे कम्युनिस्टहरू !

एकजना कम्युनिस्ट मन्त्रीको हिसाबले रामकुमारीको ‘आँसु झराइ’ले सिंगो कम्युनिस्ट आन्दोलनको ‘नैतिक स्खलन’को साइरन बजाउँछ

Read Time : > 4 मिनेट
सुरेश प्राञ्जली
२०७९ असार २१ मंगलबार ०६:४०:००

गत १२ असारमा निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफू ८ महिना २० दिनसम्म बसेको मन्त्रीको कुर्सी आफ्नै ‘सहयोद्धा कम्युनिस्ट’लाई छाड्नुपर्दा उनले मन थाम्नै सकिनन् । विभिन्न मिडिया, कर्मचारी पंक्तिका अघिल्तिर धरधरी रोइदिइन्, भक्कानिइन् । व्यक्ति रामकुमारी भावुक मनकी होलिन् ! त्यो बैग्ले हो । अनि, रुन नपाइने पनि होइन, पाइन्छ । यसमा पंक्तिकारको कुनै टिप्पणी छैन । तर, एकजना कम्युनिस्ट मन्त्रीको हिसाबले उनको ‘आँसु झराइ’ले चाहिँ सिंगो कम्युनिस्ट आन्दोलनको ‘नैतिक स्खलन’को साइरन बजाउँछ ।

आफ्नो पद जोगाउन आवश्यक हतकण्डा सबै अपनाइसकेर कुनै सीप नचलेपछि उनी पद छोड्न राजी भएकी थिइन् । विचारका अघिल्तिर पद गौण ठान्ने ‘कम्युनिस्ट पात्र’ले आफ्नो क्षणिक पद गुमाउँदा गरेको यो ‘रोइलो’ भने टिप्पणीयोग्य नै छ । हुन त यो एक सन्दर्भ मात्रै हो, नेपालका कम्युनिस्ट कसरी सत्तालोलुपताको भट्टीमा राँकिँदै गएका छन् भन्ने । खासमा, नेपालमा आजसम्म ‘कम्युनिस्ट’ कहलिँदै आएको राजनीतिक नेतृत्व पंक्तिको चारित्रिक हुलियाको नैतिक आकार नै खाम्न सकिन्न । 

सन् १८४८ मा जर्मन दार्शनिक कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले ‘पुँजीवाद’को विरोध गर्दै समाजको वर्गीय फासलाको अन्त्य नभएसम्म सामाजिक न्यायको स्थापना र समाजको संरचनागत रूपान्तरण असम्भव रहेको तर्क गरेपछि कम्युनिज्म ‘विकासवादी’ राजनीतिक दृष्टिकोणका रूपमा दरिन थालेको हो । त्यसयता विश्व राजनीतिक व्यवस्थासित पौँठेजोरी खेल्दै कम्युनिजमले राजनीतिक दर्शनका रूपमा आफ्नो सैद्धान्तिक आधार तय गर्न र वैचारिक आयतन कायम गर्न सफलसमेत भयो ।

कम्युनिजम वैचारिक परिष्करणको चरणबाट गुज्रिँदै गर्दा विश्वले विभिन्न राजनीतिक आन्दोलन भोग्यो, ‘क्रान्ति’ व्यहोर्‍यो । त्यसैको ‘जस’ र ‘अपजस’को टेकोमा अडिएर विश्व राजनीतिक सामाजिकीकरणतर्फ उन्मुख हुँदै गर्दा कम्युनिजम राजनीतिक आर्थिक दर्शनका रूपमा विश्व व्यवस्थालाई नयाँ आकार र उचाइ दिन कामयाब पनि रह्यो । २०औँ शताब्दीको वैश्विक शासकीय उतारचढावदेखि राजनीतिक सामाजिकीकरणका हरेकजसो घटनासित कुनै न कुनै रूपमा यस दर्शनको साइनो रहेको ठानिन्छ । यसरी विश्व राजनीतिक–आर्थिक व्यवस्थामा आफ्नो ‘भव्य रवाफ’ छोडेको राजनीतिक दर्शन आज कतिपय मुलुकका निम्ति फुटपाथमा बेच्न राखेको फुटकर सामानजस्तो भइदिएको छ । जसरी फुटपाथे व्यापारमा जसलाई जति मन लाग्यो त्यति भाउ लगाउन सक्छ, आज यस दर्शनको मोलभाउ पनि त्यसरी नै तय हुने अवस्था सिर्जना गराइएको छ । 

एउटा गज्जबको विरोधाभास के छ भने नेपालमा कम्युनिस्ट कहलिएको वा कम्युनिस्ट दर्शनमा आफ्नो एकाधिकार दाबी गर्दै आएको राजनीतिक नेतृत्व पंक्ति स्वयंले नै सार्वजनिक स्रोतसाधन राज्यमातहत रहेको निको मान्दैन । व्यापारिक घराना वा ‘पुँजीवादका मतियार’को पोल्टामा खन्याउनुमै ऊ बढ्ता रमाउँछ, रमाएको हामीले देखिआएकै छौँ । कथंकदाचित् बिर्सिहालिएछ भने, ‘यती’, ‘ओम्नी’ वा ‘बतास’लाई सम्झेर एकचोटि ‘राधेराधे’ भनौँ ! यी व्यापारिक घरानाको पोल्टामा राज्यको सम्पत्ति खन्याउन सार्वजनिक नीतिमाथि कति झटारो हानिए, छँदाखाँदाका सद्दे ऐन–कानुन घोचेर कति छिद्रा पारिए, लेखाजोखा गर्न सकिएला र ! यसरी नै उनीहरू पुँजीवादको ‘पियानो’ बजाएर कम्युनिस्ट दर्शनको ‘लोकभाका’ गाउन पल्किएका हुन् ! हाम्रा तिनै उस्ताद कम्युनिस्ट नेताको यतिखेरको मनोदशा हतासभन्दा बढ्ता रोमाञ्चक लाग्छ ! समाज मात्रै होइन, संसारै बदल्नका निम्ति विचारको पहाड बोकेर हिँडेका र परिआएमा हतियारै पनि उज्याउन सक्ने त्यस्ता ताकतवारलाई पनि जाबो मन्त्री पदसित त्यतिभाँति दिलचस्पी, त्यतिभाँती मोह हुनुपर्ने हो र ? सुन्दा पनि कति रोमान्टिक लाग्छ है ! झन्डै अंग्रेजी कविहरू विलियम वर्डस्वर्थ र पिबी सेलीका कविता पढे बराबर ! 

समाजको पिँधमा रहेर ‘सबै हारेको’ शोषित–पीडित वर्गलाई कम्युनिस्टकै भाषामा ‘सर्वहारा’ भनिन्छ । त्यही वर्गको गाँस काटेर पेट भरेका वा तिनै ‘सर्वहारा’को आँसुको गीत गाउँदागाउँदै कम्युनिस्ट बनेका हाम्रा कम्युनिस्ट नेताले आफूलाई नढाँटी एकपटक मार्क्स, लेनिन वा माओलाई सम्झे भने तिनले आजसम्म कम्युनिस्ट दर्शनको ‘मासु पसल’थापेर तिनै ‘सर्वहारा’को पेटमा बजारेको लात्ती र गरेको अर्घेल्याइँ सम्झेर कलेजी दुई कप्टेरा पर्दो होला र ? नेपालमा सबैभन्दा बढ्ता वैचारिक बेमेलबाट गुज्रिनुपरेको दलगत इतिहास कसैको नाममा लेखिएको छ भने त्यो यही कम्युनिस्ट नामधारी राजनीतिक दलको नाममा लेखिएको छ ।

दलीय सिद्धान्त, विचार र नीतिको भुइँ तह छाडेर ‘पुँजीवाद’को पखेटामा वैभवको ‘उचाइ’ छुन उडिसकेपछि अझै पनि आफूलाई कम्युनिस्ट नै हौँ भनिरहने छुट कुन नैतिकताले देला र ?
 

सबैभन्दा धेरैपटक फुटेको र जुटेको कम्युनिस्ट नामक राजनीतिक दलको ‘जुटाइ’चाहिँ त्यति दिगो बनेन जति दिगो ‘फुटाइ’ बनिदियो । उनीहरूको फुटाइमा कम्युनिस्ट दर्शनको ‘सक्कली’ पाइनले पनि कुनै काम गर्न सकेन । दलीय अन्तर्विरोध र अन्तर्संघर्षको सामान्य व्यवस्थापन गर्नबाट पनि उनीहरू चुके । फलतः निरन्तर फुटिरहे । फुट्दा फुट्दा आज यस्तो बिन्दुमा आइपुगेका छन् कि उप्रान्त उनीहरू फुटे भने कुनै कणसम्म बाँकी रहनेछैन । त्यसो त उनीहरूका निम्ति अब फुटेर गुमाउनु पनि केही छैन, न त जुटेर नै हासिल गर्ने केही बाँकी रह्यो । बाँकी रहेको भनेको उनीहरूले पार्टी कार्यालयको भित्तामा टाँगेको कार्ल माक्र्स, भ्लादिमिर लेनिन वा माओ त्से तुङको तस्बिर र आफू सच्चा कम्युनिस्ट भएको भ्रम मात्रै हो । 

नेपालमा कम्युनिस्ट कहलिन चाहनेले आजसम्म गरेको शासकीय राजनीतिलाई कम्युनिस्ट दर्शनको कसीमा राखेर जाँच्ने हो भने इतिहासले नेपालमा सिद्धान्ततः असली कम्युनिस्ट गुणको कुनै पनि राजनीतिक दलको अस्तित्व सायदै स्विकार्ला । हाम्रा ‘कम्युनिस्ट नेता’ कम्युनिस्ट नेतामा दरिन सकेनन् । बरु विचारको वस्त्र उतारेर ती बिचौलियामा दरिए, ती व्यापारीमा दरिए । जसले रातारात धनी बन्न इमान र नैतिकताको व्यापार गरे । तर, उनीहरूको चरित्रमा तिनै दुई चिज इमान र नैतिकता कहिल्यै भेटिएन । तिनले ‘द कम्युनिस्ट मेनिफेस्टो’को भुत्ते नेपाली अनुवाद पढे । त्यसैलाई सिरानी हालेर सुते । तर, तिनको बिचौलिया मानसिकता र ढोँगी आचरणमा कम्युनिस्ट दर्शनले विद्वत्ता भर्न सकेन ।

उनीहरूका चक्षु खुल्न सकेनन् । बरु कम्युनिस्ट दर्शनै बिटुलियो ! आफैँले ‘बिटुल्याएको’ दर्शनको ‘सहस्रधारा’मा स्नान गरेर उनीहरू भने चोखिएको स्वाङ पार्दै गए र आफूलाई सच्चा कम्युनिस्ट ठान्दै गए ! उनीहरूले शासकीय संस्थामा भ्रष्टाचार संस्थागत गर्ने ‘पवित्र महाअभियान’को अगुवाइ गरे । भ्रष्टाचारीलाई चोख्याउने ‘पुण्यकर्म’मा पनि नयाँ कीर्तिमान कायम गरे । हाम्रा ‘कम्युनिस्ट’ नेता कुनै दिन ‘फोब्र्स’को धनाढ्य सूचीमा दरिएछन् भने पनि अनौठो मान्नुपर्दैन । पछिल्लो डेढ दशकको अवधि मात्रै हेर्‍यौँ भने कम्युनिस्ट मनोग्रन्थीले सैद्धान्तिक विचलन र वैचारिक विभ्रमको ‘रसायन’ यति तीव्र रूपमा निष्कासन गरिदिएको छ कि त्यसको दलीय रूपमा वैज्ञानिक व्यवस्थापन हुनै सकेन ।

उनीहरूको आँखामा भौतिकवादी सौन्दर्य र चमकधमकको रंगीन पट्टी बाँधिन पुग्यो । झट्ट हेर्दा यस्तो पनि लाग्ने भयो कि कम्युनिजम भनेको त इमान बेचेर नवधनाढ्य बन्ने राजनीतिक ‘फर्मुला’सहितको अर्थशास्त्रीय ‘सिद्धान्त’पो हो कि क्या हो ! साँच्चै, उनीहरू त खाँटी पुँजीवादका निर्मम मतियारको बुइँ चढिसके । दलीय सिद्धान्त, विचार र नीतिको भुइँ तह छोडेर ‘पुँजीवाद’को पखेटामा वैभवको ‘उचाइ’ छुन उडिसकेपछि अझै पनि आफूलाई कम्युनिस्ट नै हौँ भनिरहने छुट कुन नैतिकताले देला र ?

त्यसो त, उवेला कम्युनिजमले समाज विकासको वाधकका रूपमा जेलाइ औँल्याएको थियो आज त्यही ‘पुँजीवाद’सित नेपालका कम्युनिस्ट गलो मिलाउन पुगे । अन्ततः उनीहरू स्वयंलाई सिध्याउने खराबी पनि त्यही बनिदियो । कम्युनिजम नेपालको शासकीय राजनीतिमा सही दिशानिर्देश गर्ने औजार बन्न सकेन । बरु त्यो त रातारात पुँजीपति बन्ने साधन पो बनिदियो । उप्रान्त नेपालका कम्युनिस्टले आत्मसात् गर्ने राजनीतिक दर्शनमा ‘समाजवाद’को गन्ध पनि रहेन, त्यसलाई पूर्ण रूपमा पुँजीवादले ‘रिप्लेस’ गरिदिइसकेको माने हुन्छ ! नेपालमा कम्युनिस्ट कहलिएकाको सान, सौकत र पुँजीवादी भव्यताले रंगिएको आधुनिक जीवनशैलीको ‘टिजर’ मात्रै हेर्‍यो भने पनि आज असली कम्युनिजमले त आँखै छोप्दो हो !

खासमा, नेपालका कम्युनिस्टले जे गर्नुपर्ने हो त्यो गर्दै गरेनन्, जे नगर्नु पर्ने हो त्योचाहिँ गरे । आज कम्युनिजम राजनीतिक दर्शन कम र कम्युनिस्ट नामधारी राजनीतिक दलको ‘कमण्डलु’ बढ्ता भइदिएको छ ! हाम्रा कम्युनिस्ट ‘पण्डित’हरूले राम्रोसँग पक्कै बुझेको हुनुपर्छ कि नेपालको कम्युनिस्ट आन्दोलन ‘समाजवाद’का निम्ति थिएन, त्यो ‘पुँजीवाद’ प्राप्तिको साध्यमा उहिल्यै रूपान्तरण भइसकेको हो ! नत्र ‘जाबो’ मन्त्री पद त्याग्नुपर्दाको रामकुमारी झाँक्रीको त्यत्रो रोइलो केका लागि ?