निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ १ बुधबार
  • Wednesday, 17 August, 2022
लेखनाथ पाण्डे
२०७९ असार १७ शुक्रबार ०६:५७:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पत्रकारिताविनाका पत्रकार

पत्रकारिता पेसाप्रति सबैभन्दा चुनौती तिनैबाट देखिन्छ– जो पत्रकार भनिन्छन्, तर पत्रकारिता गर्दैनन्

Read Time : > 5 मिनेट
लेखनाथ पाण्डे
२०७९ असार १७ शुक्रबार ०६:५७:००

नेपालमा विनापत्रकारिताका पत्रकारको बिगबिगी नै छ । पत्रकार महासंघमा आबद्ध १३ हजारभन्दा बढी पत्रकारमध्ये अधिकांशको कर्म र मूल आयस्रोत पत्रकारिता नभएको भनाइ वेलाबखत महासंघका पदाधिकारीबाटै सुन्न पाइन्छ । पत्रकारिता पेसाप्रति सबैभन्दा चुनौती तिनैबाट देखिन्छ, जो ‘पत्रकार’ भनिन्छन्, तर पत्रकारिता गर्दैनन् । ठूला मूलधारका र संस्थागत रूपमा अघि बढेका सञ्चारमाध्यम र त्यहाँ कार्यरत सञ्चारकर्मीको मूल प्रवृत्ति यो देखिन्न । तर, विनापत्रकारिताका पत्रकारले तिनका भूमिका र योगदानलाई पनि ओझेल पार्दै छन् ।

पत्रकारितालाई देखाउने दाँत बनाएर राजनीति, दलाली र सौदाबाजी गर्नेहरू अनेक छन् । तिनलाई पत्रकार भन्नुपरेको छ । उद्देश्य, कार्यशैली र स्वार्थका आधारमा विनापत्रकारिताका पत्रकारका कैयौँ ‘भेरियन्ट’ भेटिन्छन् । कुनैमा पत्रकारिताका व्यवहार र लक्षणा देखिन्छ, तर उद्देश्य अर्कै हुन्छ । कतिपयमा गुण र लक्षण रत्तिभर देखिन्न, तर गलामा सूचना विभागको ‘प्रेस कार्ड’देखि गाडीसम्म ‘प्रेस’समेत प्रस्टै देख्न पाइन्छ । यहाँ केही प्रतिनिधि प्रवृत्तिमाथि विवेचना गरिन्छ ।

दलीय पत्रकारिता : पत्रकारिता राजनीतिक पक्षधरता र स्वार्थबाट निरपेक्ष र स्वतन्त्र पेसा हो । पत्रकारिताबाट राजनीति, कूटनीति वा प्राज्ञिक क्षेत्रमा प्रवेश गर्न नसकिने होइन । तर, पत्रकारिता पेसामा छउन्जेल वैचारिक पक्षधरता प्रदर्शन गरेर पेसाको दोहोलो काडिँदैन । पत्रकारिताका आदर्श र आचारसंहिता पालना गर्ने मिडिया तथा मिडियाकर्मी नभएका होइनन् । तर, ती सीमित हुँदै छन् । दलीय पत्रकार र पत्रकारिता ००७ साल आसपासतिरै सुरु भएको हो । ०१४ सालमा प्रेस आयोग गठनका वेला पनि यो विषय उठेको थियो । जनमत संग्रहका वेला सञ्चारकर्मीहरू खुलेरै राजनीतिक पक्षधरतामा उत्रिए, जसलाई मिसन पत्रकारिता भनियो । ०४६ र ०६२/६३ का जनआन्दोलनमा पनि यो प्रवृत्ति दोहोरियो । जनआन्दोलनमा प्रेसको सहयोगी भूमिकाका कारण आचार संहितामा समेत पत्रकारले प्रजातन्त्रको रक्षार्थ काम गर्नुपर्ने बुँदा समेटिएको छ । व्यवहारमा चाहिँ पत्रकारिताको आवरणमा राजनीति र दलीय चाकरी गर्ने प्रवृत्ति बढ्दो छ ।

दलीय पत्रकारिता यतिसम्म झाँगिएको छ, तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा सयौँ पत्रकारहरू प्रम निवास बालुवाटारमा पार्टीको शपथ खान पुगे । यस्तै हालै स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा सत्तारुढ दलनिकट प्रेस संगठनले वाम–लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आमजनतालाई आह्वान नै ग¥यो । नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन र प्रेस मञ्च नेपालका अध्यक्ष तथा प्रगतिशील पत्रकार संघका सचिवद्वारा निर्वाचनको ६ दिनअघि २०७९ वैशाख २४ मा मतदाताका नाममा जारी संयुक्त अपिलमा ‘हाम्रो सानो भुलले देश फेरि द्वन्द्व र अस्थिरताको भुमरीमा जान सक्छ’ भनेर चेतावनी नै दिइयो । हुन त दलीय जुवामा नारिएका ट्रेड युनियनको आह्वानमा मतदान गर्ने कति नै मतदाता होलान् र ? तैपनि पत्रकारका अगुवाहरू नै दलीय पक्षधरतामा उत्रिएपछि समग्र पत्रकार तथा पत्रकारिता पेसाकै निष्ठा र निष्पक्षतामाथि प्रश्न उठ्नु स्वाभाविक हो ।

स्थानीय चुनावमा कैयौँ (पूर्व) पत्रकारले विभिन्न दलको टिकटमा प्रतिस्पर्धा गरे, तर त्यसो गर्दा पत्रकारिता छाडेनन् वा छाडेको सार्वजनिक घोषणा गर्न जरुरी ठानेनन् । पछिल्लो समय मन्त्रीदेखि पालिका प्रमुखसम्मले प्रेस सल्लाहकार, संयोजक तथा जनसम्पर्क अधिकृतका रूपमा पत्रकारलाई रोज्न थालेका छन् । यसले अन्य कैयौँ पत्रकारलाई पनि त्यस्तै किसिमको राजनीतिक नियुक्ति वा लाभका लागि व्यावसायिक निष्ठा दाउमा राख्न प्रोत्साहन गरेको छ ।

सल्लाहकारको मौसमी जागिरपछि कतिपय पुनः पत्रकारिता पेसामा फर्किने गरेका छन् । तर, उनीहरू न नियुक्तिअघि पत्रकारिता छाडेको, न पुनः पत्रकारिता अँगालेको घोषणा गर्छन् । बरु, पेसामा फर्किए पनि कतिपय सल्लाहकारकै लयमा देखिन्छन् । किनकि, पत्रकारिताका तटस्थता, सन्तुलन र निष्पक्षताजस्ता सिद्धान्तः तिनका हकमा बिरानो भइसकेको हुन्छ । समस्या अझ त्यहाँ भयावह छ, जहाँ सञ्चार माध्यम स्वयं हाकाहाकी दल र नेताको पक्षविपक्षमा उत्रिन्छन् । कतिपय दल तथा नेतानिकटका सञ्चारमाध्यम चुनावमा तिनैका बैसाखीका रूपमा प्रयोग हुने गरेका छन् । चुनावी तयारीस्वरूप मिडिया र विशेषगरी अनलाइन मिडिया सञ्चालन गर्नेहरू कैयौँ छन्, जसले पत्रकारितालाई होइन, सम्बन्धित उमेदवारका एजेन्डालाई मलजल गर्छन् ।

पत्रकारिताविनाका कैयौँ पत्रकार नेपाल पत्रकार महासंघको चुनावताका मात्र देखा पर्छन् । कतिपय त केवल दल, गुट र नेताका खल्तीका पत्रकार छन्, जसका लागि नेताका चाकडी गर्नुजति गज्जब केही लाग्दैन । यस्ता पात्र र प्रवृत्तिले गर्दा समग्र पत्रकारिता पेसा नै बदनाम छ भने पेसाकर्मीमाथि अविश्वास, वितृष्णा र घृणासम्म देखिन्छ । कैयौँ निष्ठावान् पत्रकारहरू पेसाबाटै विस्थापित भएका छन् ।

पत्रकारितालाई बार्गेनिङ वा सौदाबाजी शब्दसँग जोड्नु आफैँमा लज्जाको विषय हो । अफसोस्, यही पत्रकारितामा जबर्जस्त प्रवृत्ति बन्दै छ । सबै पत्रकार र मिडियालाई मुछ्न मिल्दैन, तर विगतमा साप्ताहिक अखबारमाथि लाग्ने गरेको यस्तो प्रवृत्ति अनलाइन मिडियामा दिनप्रतिदिन झाँगिँदो छ । बार्गेनिङका दर्जनौँ भेरियन्ट छन्, जसमा दलीय पत्रकारिताका प्रवृत्ति पनि पाइन्छ । आर्थिक तथा राजनीतिक लाभ, विज्ञापन वा अन्य स्वार्थका लागि सौदाबाजी हुने गर्छ । ‘एक्सक्ल्युसिभ’ समाचार सम्पादकका डेक्समा पुग्नासाथ रोकेर सम्बन्धित अधिकारी वा व्यवसायीसँग मोलमोलाइ गरिएका घटना पनि प्रशस्त छन् । संगठित वा समूह बनाएरसमेत बार्गेनिङ गर्ने गरेको पाइन्छ, जुन आमपाठक वा दर्शकलाई पत्तै हुँदैन । सम्बन्धित सञ्चारकर्मीका असन्तुष्टि छछल्किएसँगै खुल्दै जान्छ । कहलिएका मिडिया तथा मिडियाकर्मीसमेत यस्ता गतिविधिमा संलग्न भएको वेलावेलामा चर्चा हुन्छ । प्रेस काउन्सिलको पछिल्लो प्रतिवेदन र गत २५ पुसमा जारी विज्ञप्तिमा विज्ञापनका लागि बार्गेनिङ गर्ने र विज्ञापन नदिए तथ्यहीन सामग्री प्रकाशन गर्ने प्रवृत्ति बढेको स्वीकार गरिएको छ ।

पत्रकारिता पेसामा मौलाउँदो पत्रकारिताविनाको पत्रकार बन्ने विकृति सम्बोधन गर्दै पेसालाई मर्यादित र निष्कलंक बनाउने जिम्मा पत्रकार र यस पेसासँग सम्बन्धित सरोकारवालाकै हो 

मोफसलको स्थिति पनि उस्तै छ । कैयन् साना–ठूला मिडिया र पत्रकारको आम्दानी समाचार लेखेरभन्दा नलेखेबापत ज्यादा हुने स्वयं पत्रकार नै बताउँछन् । तिनले काम गर्ने मिडियाका लागि विज्ञापन जुटाइदिएबापत तलबभन्दा अधिक कमाइ गरिरहेका छन् । कतिपयका आफ्नै विज्ञापन एजेन्सी छन् र पत्रकारिता विज्ञापन माग्ने हतियार बनेको छ । एक सञ्चारकर्मीले केसम्म सुनाए भने ‘पहिले–पहिले भ्रष्टाचारका समाचार लेख्दा वा लेख्ने धम्की दिँदा विज्ञापन पाइन्थ्यो । अब, त्यस्ता समाचार लेख्दा विज्ञापन आउँदैन, त्यसका लागि सम्बन्धित व्यक्तिका परिवार वा विवाहेतर सम्बन्धमाथि लेख्नुपर्छ ।’ बार्गेनिङ विज्ञापनका लागि मात्र हुँदैन, मिडिया मालिक र सञ्चारकर्मीका स्वार्थ गाँसिएका व्यवसाय, टेन्डर, प्रोजेक्ट आदिका लागि पनि हुन्छ । कतिपय त सिंहदरबारलगायत राज्यको केन्द्र र उच्च अधिकारीसँग सहज पहुँचका लागि मात्र सूचना विभागबाट जारी हुने प्रेस कार्ड लिइरहेका छन् । तिनीहरू समाचारका लागि फिल्ड वा समाचारकक्षमा भेटिन्नन् । बरु मन्त्री, सचिव, उद्योगी, व्यवसायीका च्याम्बरमा भेटिन्छन् । समाचार वा अन्तर्वार्ताका लागि होइन, ठेक्कापट्टा, सरुवा–बढुवा वा भनसुनका लागि ।

बैंकर्स एसोसियसनका एक पदाधिकारीले हालै विज्ञापन माग्ने र नदिए तथानाम लेख्नेहरूबाट सास्ती व्यहोर्दै आएको सुनाए । तिनलाई विज्ञापन दिएर थप प्रोत्साहित गर्नुभन्दा समग्र पत्रकारिता पेसालाई नै कसरी मर्यादित र व्यावसायिक बनाउन सकिन्छ भन्ने बहसका लागि सहयोग गर्न आफूहरू तयार हुने उनले बताए । हामीकहाँ मिडियालाई एउटा ‘सफ्ट पावर’का रूपमा हेरिन्छ । पत्रकारिताविनाका ‘पत्रकार’ले दिने हैरानीबाट बच्न पनि मिडिया सञ्चालन गर्ने उद्योगी, व्यवसायी, ब्रोकर एजेन्सी कैयौँ छन् । तिनको मूल उद्देश्य व्यावसायिक पत्रकारिता गर्नेभन्दा पनि आफ्नो अन्य व्यवसाय प्रवद्र्धन गर्ने तथा बार्गेनिङ पत्रकारिताविरुद्ध ‘सेल्फ–डिफेन्स’मा उत्रिने हो । पत्रकारितामा मौलाउँदै गएको यस्तो विचलनले समग्र पेसा र सञ्चारकर्मीलाई कलम बोकेको ‘डन’का रूपमा बदनाम तुल्याएको छ ।

बफादार पत्रकारिता : बफादार पत्रकारिता पेसामा विकसित तेस्रो प्रवृत्ति हो । यसलाई अंग्रेजीमा प्रचलित ‘ल्यापडग जर्नालिज्म’को समकक्षी शब्द भने पनि हुन्छ । मिडिया र सञ्चारकर्मी पेसागत निष्ठा, आचारसंहिता र पाठक, दर्शक र श्रोताप्रति बफादार बन्नुपर्ने हो । तर, तिनको बफादारी आर्थिक स्रोत तथा राजनीतिक शक्तिप्रति बढ्दै गएको छ । पेसागत संगठनका अगुवाहरूले राजनीतिक नियुक्ति र अवसरका लागि बफादारी प्रदर्शन गर्छन् । बफादारीबापत तिनले पद, पदवी, मानसम्मान प्राप्त गरेका छन् र अन्य कैयौँ पत्रकारका लागि त्यही मार्गमा लाग्न प्रोत्साहित गरिरहेका छन् । ट्रेड युनियनदेखि प्रेस काउन्सिल, मिडिया आयोग, पारिश्रमिक निर्धारण समिति र अन्य नीति–निर्माण तहमा तिनै पुग्छन् । विगतमा राज्यले मिडिया सञ्चालन गर्नु हुँदैन भन्दै धुवाँधार विरोध गर्नेहरू पनि बफादारीकै पुरस्कारस्वरूप सरकारी मिडियाको नेतृत्वमा पुगेका उदाहरण छन् । कतिपयचाहिँ बफादारीको इनामस्वरूप चुनावका वेला दलको प्रचार समितिमा आफ्नो नाम देखेर दंग पर्छन् ।

सरकारी मिडियाको झुकावमाथि प्रश्न छैन । राणाशासन, पञ्चायतकाल, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतान्त्रिक व्यवस्था आइसक्दा पनि सरकार र सत्ताधारीप्रति तिनको बफादारी बदलिएको छैन । सामुदायिक भनिएका कतिपय मिडिया र विशेषगरी एफएम रेडियो पनि दलका नेता, कार्यकर्ता, व्यापारी र ठेकदारका कब्जामा पुग्दै छन् । स्वतन्त्र र व्यावसायिक भनिएका मिडियाले आफूलाई ‘वाचडग’को भूमिकामा उभ्याउन नखोजेको होइन । तर, ती पनि आर्थिक वा राजनीतिक स्वार्थ जोडिएको मुद्दामा चुक्ने गरेका छन् । प्रायः ठूला सञ्चारगृहले कोकाकोला वा एनसेलका करछली प्रकरणका समाचार नलेख्नु वा लेख्न नसक्नुमा विज्ञापनका लागि बफादारी झल्किन्छ । स्थानीय तहमा मिडिया सञ्चालक तथा पत्रकारलाई डकुमेन्ट्री निर्माण, प्रोजेक्ट रिपोर्ट आदि शीर्षकमा रकम उपलब्ध गराएर प्रभाव पार्ने प्रवृत्ति बढेको छ । यो प्रवृत्ति एक किसिमको ‘तैं चुप, मैं चुप’को सेटिङ हो । फलतः त्यस्ता मिडियाले स्थानीय तहमा हुने भ्रष्टाचार र अनियमितताका समाचार प्रकाशन–प्रसारण गर्ने क्षमता गुमाउँदै गएका छन् । र, यस्ता व्यवहारले पत्रकार र सिंगो पत्रकारिता पेसा सशक्त वाचडगको भूमिकाबाट बफादार ल्यापडगमा रूपान्तरण हुँदै छ ।

उपसंहार : मूलधारका मिडिया र मिडियाकर्मीले मूलतः चौथो अंगको भूमिका निर्वाह गरे पनि त्यसभित्र राजनीतिक, आर्थिक वा अन्य स्वार्थका लागि पेसागत मूल्य–मान्यता दाउमा राखिएका बग्रेल्ती उदाहरण छन् । केही त पत्रकारिताको आवरणमा राजनीति, दलाली वा चाकडीमा उत्रिएका छन् । राज्यका अंगहरूको गतिविधिमाथि स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगले रखबारी गर्ने भएकाले पत्रकारितालाई चौथो अंगको उपमा दिइएको हो । जब चौथो अंगका नाममा राजनीतिज्ञ, बिचौलिया वा न्यायाधीशको भूमिका देखापर्छ, पत्रकारिता मर्छ ।

तसर्थ, यस्ता गतिविधि निरुत्साहनको प्रथम पाइला भनेकै पत्रकारका नाममा खुलेका दलीय भ्रातृसंगठनहरू खारेज गरी पेसागत हित प्रवद्र्धनका लागि एउटा स्वतन्त्र ट्रेड युनियन खडा गर्न सकिन्छ । दोस्रो, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता भिन्न विषय हुन् । कसैले अनलाइन खोलेर आचार संहिता र निष्पक्ष पत्रकारिताको बर्खिलाप हुने गरी सूचना सामग्री प्रवाह गर्छ भने त्यसलाई बढीमा अभिव्यक्ति स्वतन्त्रताका रूपमा सम्म हेर्न सकिएला तर प्रेस स्वतन्त्रता मान्न सकिन्न । तिनले प्रेस स्वतन्त्रताको अधिकार र उन्मुक्ति पनि पाउनु हुँदैन । यसतर्फ पत्रकारको प्रतिनिधि संस्था, प्रेस काउन्सिल र अन्य सरोकारवाला सचेत र स्पष्ट हुनैपर्छ । पत्रकारिता पेसामा मौलाउँदो पत्रकारिताविनाको पत्रकार बन्ने विकृति सम्बोधन गर्दै पेसालाई मर्यादित र निष्कलंक बनाउने जिम्मा पनि पत्रकार र यस पेसासँग सम्बन्धित सरोकारवालाहरूकै हो । यदि मिडिया र मिडियाकर्मीहरू नै यसमा चुक्ने हो भने राज्यका अन्य अंगमाथि प्रश्न उठाउने उनीहरूमाथि नै प्रश्न उठिरहनेछ ।

(पाण्डे त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विषयका उपप्राध्यापक हुन्)