सेप्टेम्बरसम्म भैरहवाबाट चार कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्ने
भैरहवामा जजिराको सातामा सातै दिन उडान गर्ने तयारी
भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा सेप्टेम्बरसम्म विभिन्न चार विदेशी वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी थालेका छन् । २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले दैनिक तीनवटा उडान गर्दै आइरहेको छ । अहिले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले भैरहवा उडानका लागि अध्ययन र छलफल गरिरहेको गौतम बुद्ध विमानस्थल कार्यालयले जनाएको छ ।
कुवेतको जजिरा एयरवेज भैरहवामा उडान गर्ने पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो । सातामा तीनवटा उडान गरिरहेको जजिराले आगामी हप्ताभित्र एउटा उडान थपेर साताको चार पु¥याउन लागेको छ । यस्तै, साताको सातै दिन उडान गर्ने तयारी जजिराले गरिरहेको जिबिआइएका प्रवक्ता श्यामकिशोर शाहले बताए । भैरहवाबाट पनि उल्लेख्य यात्रु पाएपछि जजिराले साताको सातै दिन उडान गर्न लागेको उनको भनाइ छ । पश्चिम नेपालबाट वैदेशिक रोजगारीमा जाने यात्रुहरू भैरहवाबाटै विदेश जान थालेका छन् ।
यस्तै, सेप्टेम्बरदेखि हंगेरीको ‘विज एयर’ले भैरहवा उडान गर्न खोजेको प्रवक्ता शाहले जानकारी दिए । विज एयरले एसिया क्षेत्रमा दुबईलाई बेस बनाएर उडान गर्दै आइरहेको छ । यो वायुसेवाले नेपालमा दुबईबाट साताको सातै दिन उडान गर्ने तयारी थालेको उनले बताए । विज एयरले नेपाल उडान गर्न आरआर ग्रुपलाई जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त गरिसकेको छ । यो वायुसेवाले नेपाललाई युरोपसँग हवाई सम्पर्कमा जोड्ने हुँदा पर्यटक आगमन पनि बढ्ने अपेक्षा गरिएको छ ।
एयर अरेबिया र फ्लाई दुबईले पनि दसैँअगाडि नै भैरहवा उडान गर्न खोजेको शाहले बताए । एयर अरेबियाले एक दिन अबुधाबी र एक दिन सारजाहबाट सातामा सातै दिन उडान गर्ने तयारी थालेको उनले बताए । तर, हालसम्म कुनै पनि वायुसेवाले भैरहवा उडानका लागि आवेदन भने दिइसकेका छैनन् । आगामी पर्यटकीय सिजनसम्म भैरहवा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्तीमा चार पुग्ने अपेक्षा रहेको उनले बताए ।
जजिराले भैरहवा उडान गर्दा सुरुदेखि नै राम्रो यात्रु पाइरहेको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो समय वैदशिक यात्रामा जानेहरूका लागि भैरहवामै श्रम कार्यालय स्थापना गरिएको छ । सो कार्यालयले वैदेशिक रोजगारीका लागि आवश्यक सबै प्रकारका सेवाहरू प्रदान गर्ने बताइएको छ । त्यसो त पछिल्लो समय अनलाइनबाटै श्रम स्वीकृति लिन सकिने हुँदा वैदेशिक रोजगारीमा जानेहरू काठमाडौं धाइरहनुपर्ने बाध्यता पनि हटेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलाइन्स आकर्षित गर्न भारी छुट दिएको हो । १४ जेठ ०७९ मा नयाँ विमानस्थल सेवाशुल्क नियमावली, २०७८ लागू भएपछि एक वर्ष (जेठ ०८०)सम्म अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले भैरहवामा ल्यान्डिङ, पार्किङ, न्याभिगेसन र सेक्युरिटी शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । न्यारोबडी जहाज भैरहवा उडान गर्दा काठमाडौंको तुलनामा प्रतिउडान एक लाख रुपैयाँसम्म छुट पाउने प्रवक्ता शाहले बताए । यस्तै, काठमाडौंको तुलनामा भैरहवाबाट पश्चिम उडान गर्दा झन्डै २० मिनेट छिटो हुने हुँदा जहाजको अपरेटिङ कस्ट पनि घट्न जान्छ । त्यसैले पनि भैरहवा उडान गर्न धेरै वायुसेवा कम्पनीले चासो देखाइरहेको जिबिआइएका प्रवक्ता शाहले बताए । जजिरा एयरवेजमार्फत भैरहवा–कुवेत उडान गर्दा यात्रुलाई काठमाडौंको तुलनामा झन्डै आठ हजार रुपैयाँ कम भाडा लाग्ने गरेको जजिराको नेपालस्थित जिएसए कम्पनीले जनाएको छ ।