१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार ११:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

फिल्म सिटी प्रवेशमार्ग सम्पन्न नहुँदै उप्कियो कालोपत्रे, पिच सडकमा उम्रियो झार 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:५४:oo

सरकारले दोलखाको खरिढुंगामा निजी–सार्वजनिक साझेदारी अवधारणामा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय चलचित्र नगरी (फिल्म सिटी) प्रवेश गर्ने सडक निर्माण सम्पन्न नहुँदै कालोपत्रे उप्किएको छ भने पिच सडकमा झार उम्रिएको छ । लामोसाँघु–जिरी सडकखण्डको खरिढुंगाबाट फिल्म सिटीतर्फ उक्लिने खरिढुंगा-डाङडुङे सडक निर्माण सम्पन्न नहुँदै कालोपत्रे उप्किएको र कालोपत्रे गरिएको सडकमा झार उम्रिएको हो । स्थानीयका अनुसार उक्त सडकमा गत वैशाखमा कालोपत्रे गरिएको थियो । सडक निर्माण सम्पन्न भइसकेको छैन, तर कालोपत्रे गरिएको सडकको बीचभागमा झार उम्रिएको र कालोपत्रे उप्किएपछि स्थानीय सशंकित भएका छन् । कम गुणस्तरका सामग्री प्रयोग गरेकै कारण सडक यति छोटो समयमा बिग्रिएको हुन सक्ने उनीहरूको गुनासो छ । 

स्थानीय तहको निर्वाचनताका गरिएको कालोपत्रे स्थानीयले महसुस गर्ने गरी नै कम गुणस्तरका सामग्री प्रयोग भएको र आफूहरूले ध्यानाकर्षण गराउँदा यो विधि नै यस्तै हो भन्दै जवाफ दिएको उनीहरूले आरोप लगाएका छन् । पूर्वशिक्षकसमेत रहेका खरिढुंगाका स्थानीय जयबहादुर श्रेष्ठले सुरुवातदेखि नै सडक निर्माणमा सरोकारवालाहरूले हेलचेक्य्राइँ गरेको सुनाए । त्यसको परिणाम आज सडक भत्किएको उनको भनाइ छ । 

सरकारले प्राथमिकताका साथ अघि बढाएको फिल्म सिटी प्रवेश गर्ने सडकमा यति ठूलो बदमासी भएको भन्दै तत्काल छानबिन गर्न सरोकारवालाहरूले माग गरेका छन् । भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले गुणस्तरीय सडक निर्माण गर्न र गुणस्तरीय नभए छानबिन गरी कारबाही गर्न माग गरेका छन् । उनले फिल्म सिटीजस्तो मेघा प्रोजेक्ट प्रवेश गर्ने मार्ग कालोपत्रे गरेको दुई महिना नबित्दै उप्किनु दुःखद भएको बताए । 

सडक कालोपत्रे गर्नुपूर्व बिछ्याइने बेस र सबबेसको राम्रो तालमेल नमिल्नु र कालोपत्रे गर्दा प्राविधिकको भरपर्दो अनुगमन नहुनुजस्ता कारणले कालोपत्रे उप्किने र झारहरू उम्रिने हुन सक्ने सो क्षेत्रका जानकार बताउँछन् । उक्त सडक व्यवस्थापन गर्दै आएको प्रादेशिक डिभिजन कार्यालय सिन्धुलीका डिभिजन प्रमुख देवनारायण यादवले सो क्षेत्रमा धेरै चिसो हुने भएकाले कोल्ड मिक्स प्रविधिको कालोपत्रे गरिएको बताए । उनले कालोपत्रे गरिएको दुई महिना नबित्दै उप्किएको र सडकमा झार उम्रिएको भन्नेमा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नयाँ पत्रिकासँग उनले भने, ‘कसरी त्यस्तो हुन गयो, त्यसबारे म अध्ययन गर्छु ।’ कार्यालयले १२ करोड ४५ लाख लागतमा खरिढुंगादेखि डाङडुङेसम्मको आठ किलोमिटर सडकमध्ये चार किलाेमिटर ६ सय मिटर सडकमा कालोपत्रे र दुई किलोमिटर खण्डमा स्तरोन्नतिसहित सबबेस बिछ्याउने गरी ठेक्का लगाएको थियो । 

के हो कोल्ड मिक्स कालोपत्रे ?
सडक विभागका अधिकारीहरूका अनुसार कोल्ड मिक्स कालोपत्रे भन्नाले धेरै चिसो तथा उच्च हिमाली क्षेत्रका सडकमा दिगोपनाका लागि गरिने कालोपत्रेको प्रविधि हो । तापक्रम कम भएका ठाउँमा ६५ प्रतिशत इमोल्सन बिटुमिन र ३५ प्रतिशत पानीको मात्रा मिलाएर चिप्स मिसाई यो विधिबाट सडक कालोपत्रे गरिन्छ । यसरी इमोल्सन बिटुमिन, पानी र चिप्स मिसाई सबबेस र बेस हालेर रुलिङ गरिएको सडकमा कोल्ड मिक्स बिछ्याएपछि धेरैपटक पेल्नुपर्ने र त्यसपछि सडक बलियो हुने उनीहरूको तर्क छ । यसलाई तापक्रम आवश्यक पर्दैन, तर यो सडकमा भने उल्लेखित सामग्रीहरूको सम्मिश्रण नमिलेको वा पानीको मात्रा धेरै भएको हुन सक्ने बताइएको छ ।

  ०७३/७४ देखिकै रुग्ण ठेक्का 
 प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले व्यवस्थापन गरिरहेको उक्त सडकको ठेक्का संघीयता कार्यान्वयन हुनुअघि अर्थात् ०७३/७४ मा डिभिजन सडक कार्यालय चरिकोटले लगाएको थियो । तर, संघीयता कार्यान्वयन भएपश्चात् उक्त सडक बागमती प्रदेश सरकारअन्तर्गतको प्रादेशिक सडक डिभिजन  कार्यालय सिन्धुलीलाई हस्तान्तरण भएको थियो । सिन्धुली डिभिजनले पटकपटक म्याद थप गरी यही असार मसान्तभित्र सम्पन्न गर्ने गरी पदम लामा नेतृत्वको लामा कन्स्ट्रक्सनमार्फत काम गराइरहेको छ । सडकको गुणस्तरबारे प्रतिक्रिया लिन खोज्दा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग सम्पर्क हुन सकेन । 

मातहतका निकायसँग छलफल गर्छौँ
फिल्म सिटी निर्माण अभियानका संयोजक कलाकार मदनदास श्रेष्ठले सडकमा भएको बेथिति तत्काल छानबिन गरी गुणस्तरीय सडक निर्माणका लागि मातहतका निकायहरूको ध्यानाकर्षण गराएका छन् । उनले तत्काल प्रदेश भौतिक मन्त्रालय, सडक विभाग, चलचित्र विकास बोर्डलगायतका निकायहरूसँग छलफल गर्ने बताएका छन् ।  
 

ad
ad