
राजमार्ग पूर्ण रूपमा अवरुद्ध : डाइभर्सन बनाएर सडक खुल्न आज दिन भर लाग्न सक्ने
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जयराम वन्तका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखेला, मध्यबिन्दु नगरपालिका– १० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीनवटा डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
मंगलबार दिउँसोदेखि परेको वर्षाका कारण बाढीले डाइभर्सन बगाएको हो । बाढीले डाइभर्सन बगाएको स्थानमा प्रहरीले डोजरको सहयोगमा डाइभर्सन निर्माण गरिरहेको वन्तले जानकारी दिए । स्थानीयका अनुसार डाइभर्सन बनाएर सडक खुल्न आज दिन भर लाग्न सक्ने देखिएको छ ।
पूर्व–पश्चिम राजमार्ग विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले पछिल्लो सम्झौताअनुसार यो असार मसान्तसम्म काम सकिसक्नुपर्ने भए पनि अहिलेसम्म १८ प्रतिशत मात्र काम सकिएको छ । सडक अवरुद्ध हुँदा झरीमा यात्रुले निक्कै सास्ती खेप्नुपरेको छ ।