१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार १२ आइतबार ०८:३९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा अत्याधुनिक पुस्तकालय भवन निर्माण

Read Time : > 1 मिनेट
२०७९ असार १२ आइतबार ०८:३९:००

गुल्मीको किरण पुस्तकालय भवनको उद्घाटन गरिएको छ । नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा करिब तीन करोडमा चारतले अत्याधुनिक भवन निर्माण गरिएको हो ।

भवन निर्माणका लागि सुनील समीर बाँसुरी जेभीले दुई करोड ९१ लख ५२ हजार एक सय ७३ रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । अहिले भवन बाहिरबाट अत्याधुनिक र आकर्षक देखिन्छ । तर, दिगो र स्थायी आर्थिक स्रोत नहुँदा पुस्तकालय व्यवस्थापन र उद्देश्यअनुसारको काम अगाडि बढाउन निकै चुनौती रहेको किरण पुस्तकालयका संस्थापक शशि पन्थीले बताए । किरण पुस्तकालय निकै पुरानो पुस्तकालय हो ।

०२५ सालमा सामान्य स्थानीय एक व्यक्तिको घरमा श्रुति, स्मृति पुराण र कर्मकाण्डका केही पुस्तक र केही पाठ्यपुस्तक संकलन गरी पुस्तकालय सञ्चालन गरिएको थियो । तत्कालीन समयमा स्थानीय स्तरमा आवश्यकताअनुसारका पुस्तक थिएनन् । जसका कारण स्वयंसेवकहरूले नै केही पुस्तक खरिद गरेर पुस्ताकालय सञ्चालन गरे । त्यसवेला विद्यालय पनि कम र कहीँ–कतै पुस्ताकालय नभएकाले स्थानीहरू मिलेर स्थापना गरेको पुस्तकालयको महत्व छ । तर, समयअनुसार पुस्तकालयको अत्याधुनिक भवन निर्माण भएको छ ।

करिब १० हजारभन्दा बढी पुस्तक

संस्थापक पन्थीका अनुसार किरण पुस्तकालयमा अहिले पनि करिब १० हजारभन्दा बढी पुस्तक छन् । भवन संरचनाको हिसाबले पुस्तकालय अहिलेको भवनको एक छेउमा मात्रै साँघुरिएको छ । पहिलेजस्तै पुस्तकालय गएर पुस्तक पढ्ने अवस्था छैन । पुस्तकालयलाई अहिले उपलब्ध पुस्तक व्यवस्थापन गर्न पनि भवनभित्र आवश्यक संरचनाको समस्या छ भने कार्यालय व्यवस्थापन गर्न जनशक्तिको समेत अभाव उस्तै छ । अहिलेको पुस्ता सुहाउँदो प्रविधिको विकास गरेर पुस्तकालयलाई विकास गर्नुपर्ने आवश्यकता रहेको पन्थीले बताए ।

किरण पुस्तकालयले जिल्लाको शिक्षा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको छ । पुस्तकालयले स्थापनाकालदेखि हाम्रो पुरुषार्थ नामक साहित्यिक पत्रिकाको प्रकाशन गरिरहेको छ भने पुस्तक प्रकाशन, कवि गोष्ठी, जयन्तीहरू मनाउने तथा पुस्तक र पत्रपत्रिका पढ्न पाउने सुविधा दिइरहेको छ । भौतिक संरचनाले मात्रै पुस्तकालयको उद्देश्य पूरा हुँदैन् । त्यसैले किरण पुस्तकालयजस्ता महत्वपूर्ण जिल्लाका शैक्षिक धरोहरहरूको संरक्षण र व्यवस्थापनमा राज्यकै तर्फबाट चासो र पहल हुनुपर्ने सचिव चनकबहादुर कुँवरले बताए । 

नवनिर्मित अत्याधुनिक भवनको शनिबार पूर्वमन्त्री तथा सांसद गोेकर्ण विष्टले उद्घाटन गर्दै पवित्र संस्थाको काम पवित्र मनले गरिएको बताए । उनले प्रविधिमैत्री पुस्तकालय बनाउन आगामी दिनमा पनि थप रचनात्मक काम गर्ने बताए । ‘आधा शताब्दीभन्दा बढीको इतिहास बोकेको पुस्तकालय कुनै स्थानीय तह र जिल्लाको नभएर राष्ट्रको सम्पत्ति हो । पूर्वाधारबाहेक पुस्तकालयका कैयौँ व्यवस्थापकीय काम बाँकी छन्,’ उनले भने, ‘स्थानीय तहहरू मिलेर पनि काम गर्नुस् ।’