१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत गेटामा निर्माणाधीन पुल ।
२o८१ बैशाख २५ मंगलबार १४:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मूल्यवृद्धिको नाममा ठूला योजनाको काम ठप्प

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:o४:oo

निर्माण सामग्रीको मूल्य बढेपछि कैलालीमा बहुवर्षीय ठेक्का लगाइएका अधिकांश ठूला योजनाको काम ठप्पप्रायः छ। मूल्यवृद्धिले काम गर्न सक्ने अवस्था नरहेको भन्दै निर्माण कम्पनीले सडक कालोपत्रे, पुल, भवन निर्माणका योजनाको काम रोकेका हुन्। निर्माण अवधि सकिनै लागेका योजनामा पनि काम रोकिएको छ।

धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत गेटाको मनहरा खोला र सुनिखोलामा पुल निर्माणको काम केही समययता ठप्प छ। सुनिखोलामा ‘पाइलिङ’को काम सकेको निर्माण कम्पनीले निर्माण सामग्रीको मूल्य बढेको भन्दै अहिले थप काम अगाडि बढाएको छैन। तीन करोड ३७ रुपैयाँमा पुल निर्माणको सम्झौता गरेको राजेन्द्र निर्माण सेवाले अब बर्खापछि मात्रै काम हुने जनाएको छ। करिब सात करोड रुपैयाँ लागतमा मनहरा खोलामा निर्माणाधीन पुलको ‘पाइलिङ’को काम पनि रोकिएको छ। यो पुल ठेकेदार कम्पनी उच्चाकोटी–साजेन्द्रेश्वर–सञ्जीव जेभीले निर्माण गरिरहेको छ।

६ लेन सडक आयोजना कार्यालयका सूचना अधिकारी भुवन खड्काले निर्माण सामग्रीको मूल्यवृद्धिको कारण देखाएर निर्माण कम्पनीले काम रोकेका बताए। ‘निर्माण सामग्रीको मूल्य अकासिएकाले अहिले काम गर्न सक्दैनौँ भनेका छन्,’ उनले भने, ‘हामीले काम अगाडि बढाउन ताकेता गरिरहेका छौँ।’ मनहरामा २९ महिना र सुनिखोलामा दुई वर्षको निर्माण अवधि आधाभन्दा बढी सकिएको उनले बताए।

६ लेन सडकअन्तर्गत नै धनगढीको मोहना नदीमा पुल निर्माणका लागि सम्झौता भएको चार महिनासम्म काम सुरु भएको छैन। निर्माणस्थलमा कामदार राख्न क्याम्प बनाएको कम्पनी सामग्रीको मूल्य बढेको भन्दै फर्केको छैन। मोहनामा भ्याटबाहेक १२ करोड १७ लाखमा सम्झौता गरेको रायमाझी कन्स्ट्रक्सनले पेस्की भने बुझिसकेको छ। यी तीनवटै ठाउँमा यसअघिका पुलको दुवै छेउतिर नयाँ पुल थपेर छ लेन बनाइनेछ।

धनगढीदेखि बझाङको उरै भञ्ज्याङ नाका जोड्ने धनगढी–खुटिया–दीपायल–चैनपुर–उरै भञ्ज्याङ सडकअन्तर्गत कैलाली र डोटीमा ठेक्का भएका ६ वटा पुलको काम पनि सुरु भएको छैन। आयोजना प्रमुख लक्ष्मण रावलले छड र इन्धनको मूल्य बढेको नाममा निर्माण कम्पनीले सम्झौता भएको चार महिनासम्म काम सुरु नगरेका बताए। यो सडक निर्माणको काम पनि सुस्त छ । ‘पुलको काम नै सुरु भएको छैन। ठेकेदारले सडक निर्माणको काम पनि सुस्त बनाएको छ,’ रावलले भने, ‘मूल्यवृद्धिको विरोधमा निर्माण कम्पनीले देशभरि नै काम रोकेका रहेछन्।’

निर्माण सामग्रीको मूल्य वृद्धिको कारण देखाएर हुलाकी राजमार्गअन्तर्गत कैलाली र कञ्चनपुरमा तीन महिनाअघि ठेक्का भएका तीनवटा पुलको काम पनि सुरु भएको छैन। सघन सहरी विकास कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा सडक कालोपत्रे तथा आरसिसी नाली निर्माणको काम पनि ठप्प छन्। आयोजना मातहत धनगढीमा यसै वर्ष पूरा हुनुपर्ने एक किलोमिटर आरसिसी नाली अधुरै छ।

कञ्चनपुरमा केही ठाउँमा हुलाकी राजमार्ग कालोपत्रेको काम रोकिएको छ। बेलौरी–बेल्डाँडी खण्डमा २० किलोमिटर र बेल्डाँडी–दैजी खण्डमा ११ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भए पनि इन्धनलगायतको मूल्य बढेको भन्दै निर्माण कम्पनीले काम रोकेका छन्। बेलौरी–बेल्डाँडी खण्डमा काम गरिरहेको बाबाहंश–सिद्धिसाई जेभीका साइट इन्चार्ज महेश चन्दले कालोपत्रेमा प्रयोग हुने सबैजसो सामानको मूल्य बढेपछि काम रोक्नुपरेको बताए।

‘डिजल, मट्टीतेल, बिटुमिनलगायत सामानको मूल्य एकैपटक ह्वात्तै बढेपछि समस्या भयो,’ उनले भने, ‘सामानको मूल्य बढेर घाटामा काम गर्नुपर्ने अवस्था छ।’ हुलाकीको यी दुवै खण्डको निर्माण अवधि गत चैतमै सकिए पनि म्याद थपको आशामा निर्माण कम्पनीले सडक कालोपत्रे गर्ने तयारी गरेका थिए।

भारतीय एक्सिस बैंकको दुई अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा नेपाल सरकारले निर्माण गरिरहेको कैलाली र डोटी जोड्ने बिपीनगर–बोगटान सडकको काम पनि केही महिनायता रोकिएको छ। थपिएको अवधि सकिन एक महिनामै सकिँदै छ, तर निर्माण कम्पनीले कामलाई तीव्रता दिनुको साटो सुस्त बनाएको छ। दर्जनौँ ग्रामीण बस्तीको समृद्धिसँग जोडिएको यो सडक ३० महिनामा बनिसक्नुपर्नेमा साढे तीन वर्षमा ६६ प्रतिशत मात्र भौतिक प्रगति छ।

आयोजना प्रमुख उज्ज्वल श्रेष्ठले निर्माण सामग्रीको मूल्य घट्ने आशामा कम्पनीले कामलाई सुस्त पारेको बताए। कामलाई तीव्रता दिन दबाब दिए पनि निर्माण व्यवसायीले इन्धनको मूल्यवृद्धिले समस्या भएको बताउने गरेका श्रेष्ठले बताए। यो आयोजनाको अवधि आगामी जनवरीसम्म थप गर्ने प्रक्रिया अगाडि बढेको छ।

बढेको मूल्य दिन निर्माण व्यवसायीको माग
निर्माणमा प्रयोग हुने छडलगायत फलामजन्य सामग्री, पेट्रोलियम पदार्थ, बिटुमिनलगायत सामग्रीको मूल्य अचाक्ली बढ्दा काम गर्न सक्ने अवस्था नरहेको निर्माण व्यवसायीले बताएका छन्। उनीहरूले बढेको मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन्।

निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले निर्माणमा प्रयोग हुने सबैजसो सामग्रीको मूल्य वृद्धि हुँदा निर्माण क्षेत्र पूरै प्रभावित भएको बताए। तत्काल निर्माण पूरा नगरे क्षति व्यहोर्नुपर्नेबाहेक सबैजसो ठूला आयोजनाको काम जिल्लाभरि ठप्प रहेको उनले बताए।

‘यही वर्ष छड प्रतिकिलो एक सयबाट एक सय ४० पुगेको छ। इन्धनलगायत अरू सामानको मूल्य पनि त्यसैगरी बढेको छ,’ अध्यक्ष उपाध्यायले भने, ‘सरकारले बढेको मूल्य दिनुपर्‍याे, व्यवसायीले घाटा खाएर काम गर्न सक्दैनन्।’ संघले नै ठूला आयोजनाको काम ठप्प पारेर ‘कन्स्ट्रक्सन होलिडे’ मनाउन निर्माण व्यवसायीलाई आग्रह गरेको छ।

ad
ad