१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सी डिभिजन लिगको उपाधिका साथ झापा फुटबल क्लबका खेलाडी । तस्बिर : नयाँ पत्रिका 
२o८१ बैशाख २० बिहीबार o८:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

झापा सी डिभिजन लिग च्याम्पियन 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२९:oo
  • लिगको अन्तिम खेलमा स्वयम्भू फुटबललाई ४–२ ले हराउँदै झापा फुटबल क्लब सी डिभिजन च्याम्पियन बन्यो । च्याम्पियन बन्न झापाले लिगमा १३ खेलबाट सर्वाधिक ३४ अंक बटुल्यो । 
  • साँगासँग गोलरहित बराबरीमा रोकिँदा आरसी ३२ फुटबल एकेडेमी तेस्रो स्थानमा सीमित भयो । ३१ अंक जोडेको प्लानिङ ब्वाइज १२ वर्षपछि बी डिभिजनमा बढुवा भयो । अन्तिम खेलमा प्लानिङ ब्वाइजले ओसिसलाई ५–० ले हरायो ।

झापा फुटबल क्लब सहिद स्मारक सी डिभिजन फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । झापा एक खेलअगाडि नै बी डिभिजनमा बढुवा भइसकेको थियो । प्लानिङ ब्वाइज पनि उपविजेता हुँदै बी डिभिजनमा बढुवा भएको छ । सी डिभिजन लिगअन्तर्गत शुक्रबार सम्पन्न अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबलाई ४–२ ले हराउँदै झापा च्याम्पियन बनेको हो । उपाधिसँगै झापाले १० लाख र उपविजेता प्लानिङ ब्वाइजले सात लाख पाएका छन् । 

झापालाई अन्तिम खेलमा च्याम्पियन बनाउने क्रममा विशाल खवासले दुई गोल गरेका थिए । झापाका लागि मनीष लिम्बू र पूजन राईले थप एक–एक गोल गरे । स्वयम्भूका पाल्साङ लामा र राजीव मगरले एक–एक गोल गरेका थिए । लिगको अन्तिम तालिकाअनुसार झापाले १३ खेलबाट सर्वाधिक ३४ अंक बटुलेको छ । झापाले १३ खेलमा ११ जित निकाल्यो । झापाले समान एक हार र जितको सामना गरेको छ । 

उपविजेता प्लानिङ ब्वाइजले ३१ अंक जोड्यो । प्लानिङ ब्वाइज १२ वर्षपछि बी डिभिजनमा बढुवा भएको हो । प्लानिङ ब्वाइजले १३ खेलमा नौ जित र चार बराबरी खेलेको छ । लिगमा अपराजित रहने एक मात्र टोली प्लानिङ ब्वाइज हो । गोलअन्तरमा झापाभन्दा प्लानिङ ब्वाइजको राम्रो छ । ०६७ सालमा प्लानिङ ब्वाइजको स्थापना भएको थियो । स्थापनाको दोस्रो वर्षमै प्लानिङ ब्वाइज सी डिभिजनमा उक्लियो । त्यसयता प्लानिङ ब्वाइजले लगातार सी डिभिजन खेल्यो । एक दशकपछि प्लानिङ ब्वाइज सी डिभिजनबाट बढुवा भएको हो । 

झापाका कार्की सर्वोत्कृष्ट खेलाडी
सी डिभिजन लिगमा च्याम्पियन क्लब झापाका पारस कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले उत्कृष्ट उपाधिसँगै ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । यसैगरी, उपविजेता प्लानिङ ब्वाइजका लोकेश चौधरी उत्कृष्ट गोलरक्षक भएका छन् । उनले ३५ हजार रुपैयाँ हात पारे । लिगमा प्लानिङ ब्वाइजका फागुराम थारू र सानेपाका खेमराज तामाङ संयुक्त रूपमा सर्वाधिक गोलकर्ता बनेका छन् । 

दुवैले समान १४ गोल गरेका थिए । दुवैले ३५ हजार रुपैयाँ प्राप्त गरे ।  प्रतियोगितामा  महावीर क्लबले फेयर प्ले घोषित हुँदै ५० हजार रुपैयाँ जित्यो । प्रतियोगितामा वीरगन्ज युथ एकेडेमी रेलिगेसनमा पर्‍यो । लिगको १३औँ स्थानमा वीरगन्ज तथा १४औँ स्थानमा ओसिस रहे । वीरगन्जले लिगमा एक मात्र जित निकाल्यो । वीरगन्जले पाँच तथा ओसिसले चार अंक बटुले । 

आरसी ३२  तेस्रो स्थानमा
लिगको मध्य चरणसम्म आरसी ३२ फुटबल एकेडेमीले बी डिभिजनमा बढुवा हुने बलियो दाबेदारी प्रस्तुत गरेको थियो । खेलको अन्त्यतिर आरसी ३२ ले अपेक्षाअनुसार नतिजा निकाल्न नसक्दा सी डिभिजनमै सीमित भयो । लिगको अन्तिम चरणमा आरसी ३२ ले बराबरी खेल खेल्दा तेस्रो स्थानमा लिग समाप्त गरेको छ । तेस्रो भएको आरसी ३२ फुटबल एकेडेमीले २९ अंक जोड्यो । 

आरसी ३२ एकेडेमीले १३ खेलमा नौ जित, समान दुई हार र बराबरी नजिता निकाल्यो । तेस्रो स्थानमा रहेको आरसी ३२ फुटबल एकेडेमीले चार लाख रुपैयाँ प्राप्त गर्‍यो । यसैगरी, सानेपा क्लब चौथो स्थानमा रह्यो । सानेपाले २३ अंक बटुलेको छ । पुल्चोक स्पोर्टस् र सानेपाले समान २३ अंक जोडे । गोलअन्तरमा सानेपा अगाडि रह्यो । प्लेयर प्ले टोली बनेको महावीर लिगको पाँचौँ स्थानमा भयो । कुनै समय ए डिभिजन लिगको हैसियत राखेको महावीरले सी डिभिजन लिगमा २२ अंक हात पारेको छ । 

लिगको अन्तिम चरणमा छिनोफानो
सी डिभिजन लिगको शुक्रबार अन्तिम दिनबाटै बढुवा हुने टोलीको छिनोफानो भएको हो । अन्तिम चरणमा प्लानिङ ब्वाइज र आरसी ३२ बढुवा हुने संघारमा थिए । प्लानिङले जित निकाल्दै माथि उक्लियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्लानिङ ब्वाइजले रेलिगेसनमा परिसकेको ओएसिस क्लबलाई ५–० ले हरायो । प्लानिङ ब्वाइजको जितमा फागुराम थारूले ह्याट्रिक गरे । प्लानिङका लागि अर्जुनकुमार राना र ओमप्रकाश चौधरीले थप एक–एक गोल गरे ।

अघिल्लो वर्ष मात्र सी डिभिजनमा बढुवा भएको आरसी–३२ क्लबले स्पोर्टस् एकेडेमी साँगासँग गोलरहित बराबरी खेल्यो । च्याम्पियन झापाले स्वयम्भूविरुद्ध खेलको तेस्रो मिनेटमा अग्रता लिएको थियो । खवासको गोलबाट झापाले अग्रता लिएको हो । खेलको ३९औँ मिनेटमा विशालले व्यक्तिगत दोस्रो गोल थप्दा झापा २–० ले अघि रह्यो । 

४८औँ मिनेटमा मनीषले झापालाई ३–० को स्थितिमा राखे । ५१औँ मिनेटमा रोशन क्षत्रीले स्वयम्भूलाई ३–१ को स्थितिमा ल्याए । खेलको ५५औँ मिनेटमा पूजन राईले झापालाई ४–१ को स्थितिमा राखे । ६७औँ मिनेटमा पाल्साङले झापाको जित ४–२ ले पक्का पारे । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले विजयी टोली तथा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरे । 

ad
ad