१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादीले आजदेखि निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३६:oo

प्रशिक्षण कार्यक्रममा २६० जनप्रतिनिधि र पार्टीका शीर्षनेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी हुनेछन्

नेकपा माओवादी केन्द्रले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौंमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्षनेता, पूर्वमन्त्री, पार्टीको विभिन्न विभागका प्रमुख एवं संघीयताताविद्, अर्थतन्त्रविज्ञ, पूर्वमहान्यायाधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ । अघिल्लो कार्यकालमा उत्कष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदान–प्रदान गर्ने कार्यक्रम राखिएको छ ।  

प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्र रूपमा निर्वाचित उम्मेदवार गरी दुई सय ६० जनप्रतिनिधि र पार्टीका शीर्षनेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी हुने माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

उद्घाटन सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिनेछन् । पहिलो दिन पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, स्कुल विभाग प्रमुख एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेल, संघीयताताविज्ञ डा. खिमलाल देवकोटा, स्थानीय तह विभागका प्रमुख उर्मिला अर्याल र पूर्वमुख्यसचिव लीलामणि पौड्यालले प्रशिक्षण दिने कार्यक्रम छ । स्थानीय तहका पदाधिकारी अहिले नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीमा छन् । आगामी असार १० गतेभित्र स्थानीय तहले आगामी आवका लागि बजेट प्रस्तुत गर्नुपर्छ ।  

‘स्थानीय सरकारको कानुनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’, ‘स्थानीय तहमा स्वास्थ्य र शिक्षा’, ‘संघीयता र स्थानीय सरकार’, ‘स्थानीय तह र सामाजिक न्याय’, ‘स्थानीय सरकार र सुशासन’, ‘स्थानीय तहको नीति, योजना र कार्यक्रम’, ‘स्थानीय अर्थतन्त्रको निर्माण र नेपाली विशेषताको समाजवाद’, ‘स्थानीय तहको लेखा प्रणाली’, ‘स्थानीय तहको बजेट निर्माण’ र ‘स्थानीय तहमा वन, वातावरण र विपत् व्यवस्थापन’लगायत विषयमा प्रशिक्षण दिइने माओवादीले जनाएको छ ।

दोस्रो दिन अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयाल, पूर्वमन्त्री एवं पार्टीको श्रम, अर्थ तथा योजना विभागका प्रमुख वर्षमान पुन, चार्टर्ड एकाउन्टेट चन्द्रकान्त भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, विज्ञान तथा प्रविधि विभागका प्रमुख एवं पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, प्रविधिविज्ञ सुलभ बुढाथोकी र डा. शैलेन्द्र गिरीले प्रशिक्षण दिने माओवादीले जनाएको छ ।  

अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका प्रत्येक प्रदेशबाट एक–एक स्थानीय तहका प्रमुखले अनुभव आदान–प्रदान गर्ने कार्यक्रम छ । प्रदेश १ को थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राई, मधेसको बागमती नगरपालिकाका प्रमुख भरत थापा, बागमती प्रदेशको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, गण्डकीको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, लुम्बिनीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल, कर्णालीको दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी र सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले आ–आफ्नो अनुभव प्रस्तुत गर्ने कार्यक्रम छ। 

ad
ad