मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ११ बुधबार ०६:०३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एक सातामै दुईपटक बढ्यो गाडी भाडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ११ बुधबार ०६:०३:००

अन्तरप्रदेशमा सञ्चालित गाडीमा मात्रै भाडा वृद्धि, स्थानीय रुटमा पुरानै कायम

१० दिनमा डिजेलको भाउ १० रुपैयाँले बढेपछि सार्वजनिक सवारीसाधनको भाडामा पनि सातामै दुईपटक बढेको छ । यातायात व्यवस्था विभागले दुई वा दुईभन्दा बढी प्रदेश भएर राष्ट्रिय रुटमा सञ्चालित सार्वजनिक सवारीसाधनको हकमा भाडा बढाएको हो । एकै प्रदेशभित्र चल्ने अर्थात् स्थानीय रुटका सवारीसाधनमा भने भाडा बढेको छैन । 

विभागका अनुसार यात्रुवाहक सवारीसाधनको हकमा २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २.७ प्रतिशत र तराईको बाटोमा गुड्ने मालवाहक सवारीमा तीन प्रतिशतले भाडा वृद्धि भएको छ । वृद्धि भएको भाडादर बुधबारबाटै लागू हुनेछ । विभागले पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै स्वचालित रूपमा सार्वजनिक सवारीसाधनको भाडा समायोजन हुने व्यवस्थाअनुरूप बढाएको हो । विभागले गरेको निर्णयलाई आधार मानेर प्रदेश सरकारले पनि सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्नेछन् । 

यसअघि ४ जेठबाट लागू हुने गरी यात्रुवाहक सार्वजनिक सवारीसाधनमा ३.५ प्रतिशतसम्म भाडा बढेको थियो । पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडा ४.६ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ५.१ प्रतिशतले ढुवानी भाडा वृद्धि भएको थियो ।

यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले वृद्धि भए वा घटेमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडादर समायोजन प्रणालीअनुसार अन्तरप्रदेशको भाडा समायोजन गर्छ । विभागले विभिन्न १३ सूचकलाई आधार मानेर सार्वजनिक यातायातको भाडा समायोजन गर्छ । जसमा ३५ प्रतिशत भार पेट्रोलियम पदार्थलाई दिइएको छ । बाँकी ६५ प्रतिशत सवारीसाधनमा काम गर्ने स्टाफको तलब सुविधा, कर, वार्षिक बिमा प्रिमियम, मर्मतसम्भार खर्च, ब्याजदर, ब्याट्रीको मूल्य ह्रास, अन्य खर्च, इन्धन, टायर, लुब्रिकेन्टलगायतलाई मानिएको छ ।