१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ५ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ५ बिहीबार १७:३o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केन्द्रीय सुरक्षा समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ५ बिहीबार १७:३o:oo

केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थापनबारे छलफल गरिएको छ। बैठकले निर्वाचन एकै चरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी, राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद व्यक्त गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। 

बैठकले निर्वाचनमा सक्रिय सहभागिताका लागि राजनीतिक दलहरूलाई पनि धन्यवाद व्यक्त गरेको छ।  निर्वाचन गराउने सिलसिलामा घाइते भएको सुरक्षाकर्मी तथा कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, निर्वाचनमा खटिएका बेलामा मृत्यु भएका नेपाल प्रहरी र म्यादी प्रहरीका परिवारमा दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामनासहित बैठकले समवेदना व्यक्त गरेको छ।  

मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम निर्वाचनका क्रममा खटिँदा घाइते भएका सुरक्षाकर्मीलाई उपचार खर्च र मृत्यु भएकाका परिवारलाई राहत दिने प्रक्रिया सुरु गर्न सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरेको छ।  स्थानीय तह निर्वाचनका क्रममा खटिएका ५ म्यादी प्रहरी र एक प्रहरीको मृत्यु भएको थियो।  

मन्त्रिपरिषद् बैठकले निर्वाचनमा खटिएका बेला मृत्यु हुने सुरक्षाकर्मी र म्यादी प्रहरीका परिवारलाई जनही २० लाख दिने र घाइतेको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो।   

बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्था सीमित स्रोतसाधन उपयोग गरेर एकै चरणमा सम्पन्न महत्वपूर्ण भूमिका निभाएकोमा गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई धन्यवाद व्यक्त गरेका छन्।

त्यस्तै निर्वाचन सम्पन्न गर्न अहोरात्र खटिएका निर्वाचन आयोग, प्रमुखसहित आयुक्तहरू, राष्ट्रसेवक कर्मचारी, मुख्य निर्वाचन अधिकृत भएर खटिएका न्यायाधीशहरूलाई पनि एकै चरणमा निर्वाचन सम्पन्न गर्न योगदान पुर्‍याएको भन्दै धन्यवाद व्यक्त गरे।  

एकै चरणमा सीमित स्रोत र साधन उपयोग गरेर छिटफुट घटनाबाहेक शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण रहेको गृहमन्त्री खाणले सुरक्षा समिति बैठकमा बताए। गृह प्रवक्ता पोखरेलले बैठकमा अहिलेको निर्वाचनमा भएका कमजोरी र आगामी निर्वाचनमा सुधार्नु पर्ने विषयबारे परामर्श भएको बताए।