मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ५ बिहीबार ११:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीमा अस्पताल र विद्यालयअगाडिकाे सडकमा जोखिमपूर्ण खाडल

Read Time : > 1 मिनेट
२०७९ जेठ ५ बिहीबार ११:०३:००

रेसुंगा नगरपालिका- ८ का दुई स्थानमा पक्की सडक भत्किएर ठूला जोखिमपूर्ण खाडल बनेका छन् । त्यो पनि अति व्यस्त र अस्पताल तथा विद्यालय क्षेत्रअगाडि । रेसुंगा नगरपालिका- ८ को खानीगाउँ चौडाह निकै व्यस्त ठाउँ हो । जसको नजिकै सिद्धबाबा मावि र रिडर्स पब्लिक हाइस्कुल रहेका छन् । सिद्धबाबा विद्यालयको गेटनजिकैको सडकमा ठूला खाल्डा भएको महिनौ भयाे । तर, अहिलेसम्म पनि सडक मर्मत भएको छैन । 

बिहान विद्यालय र कार्यालय समयमा स्कुलबस र विद्यार्थीकाे ओहोरदोहोरले सडक निकै व्यस्त हुने गर्दछ । त्यसबाहेक रेसुंगा नगरपालिका- १४ पराल्मीबाट आउने सार्वजनिक यातायात र रेसुंगा क्षेत्रमा निर्माणका सामग्री बोक्ने ट्रिपर र ट्याक्टरका कारण ठूलो दुर्घटनाको सम्भावना रहेको छ ।

खानीगाउँ चौडाहमा केही दिनअघि बस पसलभित्र पसेर लाखौँको भौतिक क्षति गर्‍यो । दुर्घटना रातिको समयमा भएकाले ठूलो मानवीय संकट टर्‍यो । तर, दुर्घटनाको सम्भावना अझै टरेकाे छैन । 

साँघुरो, ओरालो र खाल्डाखुल्टी भएको सडक लामो समय मर्मत नहुँदा बच्चा लिएर विद्यालय पुग्ने मात्रै नभएर घरमै बस्ने अभिभावक पनि ढुक्क हुने अवस्था नभएको रेसुंगा नगरपालिका- ८ की कमला केसीले गुनासो गरिन्  ।

‘विद्यार्थीको भिडले निकै व्यस्त सडकमा गाडी आए कसरी विद्यालय पुग्ने भनेर तनाव हुन्छ । त्यसैमाथि बीचसडकको खाल्डो तर्काउँदा गाडीले कसलाई हान्ने हो केही थाहा हुँदैन,’ उनले भनिन, ‘महिनौँसम्म सोच्ने र बनाउने कोही भएनन्।’ 

त्यस्तै, गुल्मी अस्पतालअगाडि पनि निकै ठूला खाडल छन् । जसका कारण तलमाथि गर्ने सानाठूला गाडीहरूलाई निकै ठूलो समस्या रहेको छ । बैंक, अस्पताल र टेलिकम क्षेत्र भएकाले सडकको बिजोगबारे धेरैले आलोचना गर्ने गरेका छन् । 

रेसुंगा नगरपालिकामा मेयर डिल्लीराज भुसालले सबै बजारमा पुनः पक्की सडक निर्माणका लागि बजेट व्यवस्थापन गरेर टेन्डर भइसकेकाले धेरै समय समस्या नहुने बताए । उनले अब केही ठाउँका खाल्डा मात्रै नपुर्ने भएकाले सबै बजार नै पक्की बनाउने गरेर काम अगाडि बढेको जानकारी दिए ।