
कोभिड महामारी फैलिएको करिब अढाई वर्ष नाघिसके पनि हालसम्म मानव शरीरमा संक्रमणको असरबारे यकिन हुन सकेको छैन । अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)का अनुसार कोभिडका सामान्य लक्षण देखिएका व्यक्ति एकदेखि दुई हप्तामा निको हुन्छन् ।
गम्भीर लक्षण देखिए बिरामीहरूलाई पूर्ण निको हुन ६ हप्ता वा सोभन्दा बढी पनि लाग्ने हुन्छ । यद्यपि, हालै ‘द ल्यान्सेट’मा प्रकाशित एक अध्ययनले कोभिडका कारण अस्पताल भर्ना भएका आधा संक्रमितलाई संक्रमणको दुई वर्षसम्म पनि लक्षण देखा पर्ने गरेको जनाएको छ ।
चीन–जापान फ्रेन्डसिप अस्पतालले गरेको उक्त अध्ययनमा चीनका एक हजार एक सय ९२ जनालाई सहभागी गराइएको थियो । सर्वेक्षणमा संलग्नमध्ये दुई हजार २० जना ७ जनवरीदेखि २९ मे २०२० को बीचमा कोभिड संक्रमित भएका थिए । अनुसन्धानकर्ताले ६ महिनासम्म उनीहरूको फलोअप गरेका थिए । जसमध्ये गम्भीर संक्रमणका कारण अस्पताल भर्ना भएका आधा व्यक्तिमा संक्रमणको दुई वर्ष पछिसम्म कम्तीमा एउटा लक्षण देखिएको थियो । अध्ययनले कोभिड संक्रमणको असर सामान्य नभएको दाबी गरेको छ ।
अध्ययनमा सहभागी चीनका प्राध्यापक विन काओले भनेका छन्, ‘अस्पताल भर्ना भएर बाँचेकाहरू एक निश्चित अनुपातमा निको भएर फर्केका हुन सक्छन् । तर, कतिपयमा प्रारम्भिक संक्रमण निको भए पनि यसका कुनै न कुनै लक्षण लामो समयसम्म रहन्छन् । जसलाई पूर्ण रूपमा निको हुन दुई वर्षसम्म लाग्न सक्छ ।’
अध्ययनले प्रारम्भिक उपचारले रोगको गम्भीरतालाई ध्यान नदिइने भएकाले पूर्ण रूपमा शारीरिक र मानसिक स्वास्थ्यमा सामान्य सुधार देखिने गरेको निष्कर्ष निकालेको छ । जसमध्ये करिब ५५ प्रतिशत बिरामीमा प्रारम्भिक संक्रमणका कारण कम्तीमा एउटा लक्षण देखिन सक्छ । जुन लक्षण करिब ६८ प्रतिशतमा लगातार ६ महिनासम्म देखिएको पाइन्छ । अध्ययनमा सहभागी अन्वेषकहरूले अन्य व्यक्तिको तुलनामा महामारीको बीचमा गम्भीर बिरामी परेकाहरूको स्वास्थ्य गुणस्तर कमजोर पाएको निष्कर्ष निकालेका छन् ।
सामान्यतया, संक्रमणका कारण गम्भीर बिरामी भएर अस्पताल भर्ना भएकाहरूमा थकान, सास फेर्न गाह्रो हुने र अधिकांशमा निद्रामा कठिनाइजस्ता लक्षण लामो समयसम्म देखिएको जनाइएको छ । जसमध्ये ३१ प्रतिशतमा थकान वा मांसपेशी कमजोरी देखिएको र आधाभन्दा बढीमा निद्रामा समस्या देखिएको अध्ययनको दाबी छ ।
महामारीको सुरुवातदेखि नै गम्भीर बिरामी परेकाहरूमा पोस्ट–कोभिडको असर देखिने आकलन गरिए पनि दुई वर्षको अवधिसम्म कुनै न कुनै लक्षण देखिनुले जोखिम कम गर्ने कदम चाल्नुपर्ने आवश्यकता बढ्दै गएको विज्ञहरूले बताएका छन् । यसका लागि निरन्तर फलोअप, खोपको प्रयोग, औषधिहरूको प्रयोगमा जोड दिनुपर्ने चिकित्सकहरूले बताएका छन् ।
चीनका अन्वेषक प्राध्यापक विन काओका अनुसार अस्पताल भर्ना भएर बाँचेकाहरू एक निश्चित अनुपातमा निको भएर फर्केका हुन सक्छन् । तर, कतिपयमा प्रारम्भिक संक्रमण निको भए पनि यसका कुनै न कुनै लक्षण लामो समयसम्म रहन्छन् । जसलाई पूर्ण रूपमा निको हुन दुई वर्षसम्म लाग्न सक्छ ।