मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025
जिल्ला ब्युरो नयाँ पत्रिका
२o८२ भदौ २८ शनिबार o९:३१:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँको मुखमा व्यापारिक सहरमा छैन चहलपहल

Read Time : > 3 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८२ भदौ २८ शनिबार o९:३१:oo
  • विगतमा दसैँअघि गुल्जार हुने काठमाडौं उपत्यकासहित बिर्तामोड, दमक, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, भैरहवा, धनगढीलगायतका बजार पछिल्लो राजनीतिक अवस्थाले सुनसान 

दसैँले छोइसक्न लाग्दा देशभरका मुख्य सहर र बजारको आर्थिक कारोबार सुस्त छ । विगतमा गुल्जार हुने उपत्यकासहितका ठुला बजारमा रहेका पसलमा यतिवेला सटर लागेका छन् । निषेधाज्ञा र कफ्यर्सका कारण चोक, बजारमा घटेको मानिसको न्यून उपस्थितिमा सुधार भएर बिस्तारै चहलपहल बढे पनि आर्थिक कारोबार सुस्त रहेको व्यापारीहरूले बताएका छन् । मुलुकमा व्याप्त भ्रष्टाचार छानबिनको माग राख्दै गत सोमबार र मंगलबार जेन–जी पुस्ताले गरेको आन्दोलनपश्चात् सिर्जित विषम परिस्थितका कारण राजनीतिसँगै आर्थिक क्षेत्र पनि प्रभावित बनेको हो ।

काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्युरोड, दरबारमार्ग, कुमारीपाटी, असनलगायतका क्षेत्र सुनसान छन् । न्युरोड क्षेत्रमा व्यापार केन्द्रित गरेका होलसेल तथा खुद्रा व्यापारीको संस्था राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष हेमलाल खरालले जेन–जीको आन्दोलन सुरु भएयतादेखि नै सटर खुल्न नसकेको बताए । ‘सटरहरू बन्द छन् । बुधबार, बिहीबार १० बजेसम्म केही पसल खुलेका थिए । तर, त्यसयता कर्फ्युको आदेश भन्दै सेनाले कडाइ गरेका कारण एकछिन पनि पसल खुल्न पाएको छैन,’ उनले भने ।

दसैँको मुखमा ठुलो कारोबार हुने गरे पनि अहिले पसल बन्द गर्नुपर्दा चिन्ता थपिएको उनले बताए । ‘दसैँ आइसकेको छ, सबैभन्दा बढी व्यापार हुने समयमा पसलहरू सञ्चालनमा आउन नसक्दा समस्या भइरहेको छ,’ उनले भने । राजनीतिक समस्या हल गरेर छिटो व्यापार गर्ने वातावरण हुनुपर्ने उनले बताए । ‘जति ढिला गर्‍यो, पछि त्यति नै भिडभाड हुन्छ,’ उनले भने ।

रसुवागढी र तातोपानी नाका सुचारु नभएकाले यसपालि नयाँ मोडेलका लत्ताकपडा र अन्य सामग्री भने उपलब्ध नहुने उनले बताए । त्यस्तै, दसँै–तिहारमा हुने मागअनुसारका सामग्री भने मौज्दातमा रहेको उनले जानकारी दिए । ‘थोक बजारमा दसैँ–तिहारको माग धान्न सक्ने सामानको मौज्दात छ । त्यसैले अभाव हुँदैन, तर नयाँ मोडेलको सामान खोज्ने उपभोक्तालाई भने निराशा दिन सक्छ । किनभने, नयाँ मोडेलको सामान पाउन मुस्किल छ,’ उनले भने । पुरानै सामग्री बिक्रीमा आउने भएकाले मूल्यसमेत नबढ्ने उनको भनाइ छ ।

झापामा व्यापार–व्यवसाय ठप्प
जेन–जीको आन्दोलनपछि उत्पन्न परिस्थितिले झापाका ठुला सहरहरू दमक, बिर्तामोड, काँकडभिट्टालगायतको व्यापार ठप्प भएको छ । सडकमा रहेका सेनाले पसलहरू खोल्न र हिँडडुल गर्न रोक लगाएकाले व्यापार–व्यवसाय बन्द भएका हुन् । झापाको दमकमा गल्लीहरूमा केही खुद्रा पसल खुला रहेको, तर ठुला पसलहरू बन्द रहेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले जानकारी दिए । ‘दमकमा ५ प्रतिशत पनि पसल खुलेको उनले जानकारी दिए ।

झापाको व्यापारिक केन्द्र बिर्तामोडमा पनि बजार ठप्प रहेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले जानकारी दिए । ‘बिर्तामोडको भित्री बजारहरूमा फाट्टफुट्ट पसल खुलेका थिए । तर, सुरक्षा निकायले बन्द गर्न भनेपछि बन्द भएका छन्,’ उनले भने ।

विराटनगरका पसलमा ग्राहक पाउन मुस्किल
औद्योगिक नगरी विराटनगरको दैनिकी शुक्रबारदेखि सहज बन्दै गएको छ । अधिकांश पसल खुल्न थालेका छन्, तर किनमेल गर्ने ग्राहक बजारमा देखिएका छैनन् । ग्राहक नआएपछि फेन्सी तथा अन्य विभिन्न थोक र खुद्रा पसल सञ्चालकहरू सफाइ गर्ने, सामानको स्टोक मिलाउने र माग भएका सामान सप्लाई गर्ने कामा व्यस्त देखिन्छन् । विराटनगरको ट्राफिक चोकस्थित फेन्सी स्टोरका सञ्चालक लक्ष्मण थापाले ग्राहक पाउन मुस्किल भइरहेको बताए । कञ्चनबारीका ग्यास पसल सञ्चालक राम सुवेदीले भने उपभोक्ता अतालिएर धेरै ग्यास सिलिन्डर खरिद गर्दै लगिरहेको जानकारी दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विराटनगरसहित अन्य सहर–बजारको अवस्था सामान्य बन्दै गएको जानकारी दिए । 

वीरगन्जमा पसल खुल्छन्, ग्राहक छैनन्
वीरगन्ज– १३, मुर्ली चोकमा किराना पसल सञ्चालन गर्दै आएका राजेश वर्णवालको जेन–जी आन्दोलनपश्चात् लागू भएको कर्फ्यु र निषेधाज्ञाका कारण व्यापारमा कमी आएको बताए । पर्सा प्रशासनले बिहान चार घण्टा र साँझ दुई घण्टा पसल खोल्नका लागि अनुमति दिने गरेको छ । तर, उक्त अवधिमा उपभोक्ताहरू घरबाट ननिस्कने गरेका कारण व्यापारमा असर परेको उनले बताए । ‘अहिले बाहिर हिँडडुल गर्न नेपाली सेनाले रोक लगाएपछि खासै ग्राहक आउन सकेका छैनन्,’ उनले भने । कर्फ्यु र निषेधाज्ञाका कारण वीरगन्ज बजारका ठुला–साना पसलहरूमा लागेको सटर खुल्न सकेको छैन । यद्यपि, भन्सार नाका भने बिस्तारै सहज बन्दै गएको छ ।

जनकपुरमा कारोबार सुस्त
जेन–जी आन्दोलन रोकिएसँगै मधेश प्रदेशको राजधानी जनकपुरधामसहित आसपासका बजारमा चहलपहल बढेको छ । तर, आर्थिक कारोबार अझै सुस्त छ । जनकपुरका कपडा व्यवसायी हैदर खानले सर्वसाधारणको चहलपहल देखिए पनि किनमेल गर्ने ग्राहकको संख्या न्यून रहेको बताए । ‘आर्थिक मन्दीका कारण पहिलादेखि नै व्यापार राम्रो थिएन, यो आन्दोलनले त झन् ठप्प बनाइदियो,’ उनले भने, ‘यस्तै अवस्था केही दिन लम्बिने हो भने पसलको भाडा तिर्नेसम्मको समस्या हुने चिन्ता छ ।’ आन्दोलनका कारण लामो समयदेखि ठप्प रहेको यातायात अझै पनि सामान्य अवस्थामा फर्किन सकेको छैन । जनकपुरबाट चल्ने छोटो दूरीका सवारीसाधन ग्यारेजमै थन्किएका छन् । रात्रि बस भने शुक्रबारदेखि सञ्चालनमा आएको जनकपुर बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले जानकारी दिए ।  

पर्यटकीय नगरी तथा गण्डकी प्रदेशको राजधानी पोखरामा तीन दिनदेखि बन्द रहेका पसलहरू फाट्टफुट्ट खुल्न थालेका छन् । तर, होटेल, रेस्टुरेन्ट भने पूर्ण रूपले बन्द छन् ।

बेलहिया नाका सहज बन्दै  
रुपन्देही प्रशासनले दिउँसो निषेधाज्ञा र राति १० बजेपछि कर्फ्यु आदेशलाई निरन्तरता दिइरहे पनि जनजीवन सामान्य बन्न थालेको छ । बेलहिया नाकाबाट अत्यावश्यक सामग्रीको आयात सुरु भएको छ । शुक्रबार बिहानैदेखि बेलहिया नाकाबाट ग्यास बोकेका बुलेटहरू नेपाल भित्रिएका छन् । नेपाल–भारत पर्यटक बस पनि भित्रिएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले सर्वसाधारणको दैनिकी सामान्य बन्दै गएको बताए । 

लामो र छोटो दूरीका सवारीसाधन पनि सञ्चालन हुन थालेका हुन् । आन्दोलका क्रममा जिल्लाका दर्जनाँै सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको थियो । अहिले भने बजारमा चहलपहलसमेत बढेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले बताए । भैरहवाको बजार ९० प्रतिशत खुलेको आचार्यले जानकारी दिए ।

सुनसान धनगढीमा व्यापार–व्यवसाय ठप्प
व्यापारिक केन्द्रका रूपमा विकास हुँदै आएको सुदूरपश्चिमको राजधानी धनगढीमा निषधाज्ञाका कारण चोेक–बजार सुनसान छ । आन्दोलनकारीले धनगढीको अधिकांश सरकारी कार्यालय आगो लगाएर ध्वस्त पारेका छन् । दसैँको मुखमा व्यापार–व्यवसाय बन्द हुँदा व्यवसायी मारमा परेको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले गुनासो गरे । ‘कर्फ्यु र निषेधाज्ञा जारी भएपछि सुदूरपश्चिमका सबैजसो प्रमुख सहर बन्द छन्,’ उनले भने, ‘व्यवसाय सुरु गर्ने वातावरण नै छैन । होटेल, बजार सबै व्यवसाय ठप्प छ । अरू वेलाभन्दा किनमेल बढी हुने दसैँको मुखमा बजार बन्द हुँदा ठुलो घाटा भइरहेको छ ।’

झापामा चिरञ्जीवी घिमिरे, विराटनगरमा गणेश लम्साल, जनकपुरमा हदिश खुद्दार, वीरगन्जमा तिवारी यादव, कास्कीमा रोहितराज पराजुली, भैरहवामा दिपेश पछाई र धनगढीमा तेजराज भट्ट