१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ७ सोमबार १o:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

७७ वटै जिल्लामा मतपत्र ढुवानी सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १o:२७:oo

स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी कार्य सम्पन्न भएको छ भने निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यलय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका छन् । 

आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाएको हो । सडकमार्ग सहज नहुने जिल्लामा हवाइ मार्गबाट ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीयरूपमा मतपत्र ढुवानी गराउने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए ।  

उम्मेदवारी मनोनयनपत्र दर्ताको विवरण र निर्वाचन चिह्न प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कूल दुई करोड सात लाख ४६ हजार मतपत्र छपाइ भएको थियो । आयोगले वैशाख १२ गतेसम्ममै आवश्यक निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको थियो ।

आयोगका विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएका छन् । कतिपय जिल्लामा तालिम जारी रहेको छ भने कतिपय जिल्लामा तालिम सम्पन्न भएको छ ।

कार्यालयले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै प्याकिङ र वितरणको तयारी गरेका छन् । ती सामग्री चाँडै मतदानस्थल र केन्द्रमा लगिनेछन् । सुरक्षाको प्रबन्ध, आचारसंहिता कार्यान्वयनको अनुगमन, नमूना मतदान कार्यक्रमलगायत काममा पनि ति कार्यालय जुटिरहेका छन् ।

प्रदेश निर्वाचन कार्यालयले प्रदेशका मुख्यालय भएका जिल्लाभरका निर्वाचन गतिविधिको नेतृत्व लिन्छन् भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लाको जिम्मेवारी पाएका छन् । सबै जिल्ला र पालिकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ ।     
     
थप सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिने र आवश्यकताको आधारमा तत्काल परिचालन गरिने योजनासहित सुरक्षा योजना तयार पारिएको छ । आयोगले मतदानस्थल पुग्न, मतदान गर्न र घर फर्कनेसम्मको वातावरणलाई सुरक्षित बनाउन प्रबन्ध गरेको छ । निर्वाचनको तीन दिनअघि नै कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित निर्वाचनस्थलमा पुग्नेछन् । त्यसका लागि आवश्यक तयारीका काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । अहिले मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षाको गतिविधि पनि सञ्चालन भइरहेका छन् । रासस

ad
ad