Skip This
पुस्तौनी पेसा र श्रमले मूल्य नपाएपछि वैदेशिक रोजगारीको विकल्प रोज्दै नरेश  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Sunday, 16 June, 2024
२o८१ जेठ ७ सोमबार १४:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पुस्तौनी पेसा र श्रमले मूल्य नपाएपछि वैदेशिक रोजगारीको विकल्प रोज्दै नरेश  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १४:२o:oo

महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका– २ निवासी नरेश मल्लिक तेस्रोपटक वैदेशिक रोजगारीमा जाने तैयारीमा छन्। पुस्तैनी पेसाबाट अपेक्षाकृत आयआर्जन हुन नसकेपछि उनी तेस्रोपटक वैदेशिक रोजगारीमै जाने विचार गरेका हुन्। 

जलेश्वरस्थित भार्गवसर कुट्टीभन्दा करिब ५० मिटर पूर्व नरेश मल्लिकको घर छ। आमा, श्रीमती, दुई छोरा, दुई छोरी, बुहारी र एक नाति तथा एक नातिनीसँग बस्दै आएका उनी  बुबाको मृत्युपछि भाइ दरेशसँग परिवार पुस्तैनी पेसा ‘बाँसको छिट्टी, डलिया, बेना, चंगेरा’ बनाउने गर्थे।

त्यहीबाट आएको आम्दानीले घर धान्दै आएका उनीहरूको पेसा र व्यवसाय संकटमा छ। अहिले प्लास्टिकका सामानले बजार रिप्लेस गर्दा रैथाने पेसा मात्र संकटमा परेन, आम्दानीको स्रोत नै गुम्न पुग्यो।

नरेश भन्छन्, ‘दुई दिन लगाएर बनाएको छिट्टीको बजारमा न्यूनतम मूल्य तीन सय छ । कसरी धान्नु ? पहिला विवाह, व्रतबन्ध, श्राद्धलगायतका विभिन्न संस्कारमा यस्ता सामानको माग थियो। अहिले त दिनमा एक वा दुई सामग्री बिक्री गर्न पनि हम्मेहम्मे पर्छ । बाँसकै सामग्री बेचेर घर चलाउनु अहिले दिवा स्वप्नजस्तै भएको छ।’

उनले वैदेशिक राजगारी अनुभव सुनाउँदै भने, ‘पहिले वैदेशिक रोजगारीमा दुई वर्ष साउदी बसेँ। त्यहाँबाट फर्केर दुबई गएँ। दुबईमा कोरोनामै फसेँ। कमाएको सबै पैसा त्यहीँ स्वाहा भयो। कम्पनीले लकडाउन खुलेपछि फिर्ता पठाइदियो। अब फेरि विदेश नगई सुखै छैन। घरमा दुई छोरी र एक छोराको बिहे गर्न बाँकी छ। नाति–नातिनीलाई पढाउनु छ। सबै जोहो मिलाउन पुनः वैदेशिक रोजगारीमा जानुको विकल्प छैन।’

नरेशकी श्रीमती चन्द्रकलालाई जलेश्वर नगरपालिकाले करारमा नगर सरसफाइमा काम दिएको छ। तर, पछिल्लो सात महिनादेखि उनले पनि तलब पाएकी छैनन्।

नरेशको परिवारका सबै सदस्यलाई पुस्तौनी पेसा सिकाएका छन्, तर आर्थिक उपार्जन गर्न नसक्दा पेसा नै संकट पर्ने चिन्ता गर्छन् नरेश। परिवारका सबै सदस्यले सामान बनाएर बजारसम्म पुर्‍याउँदा पनि घर खर्च चलाउने खर्च त कता हो कता श्रमकै दामसमेत नपाउने अवस्था छ।

चन्द्रकला भन्छिन्, ‘ठूलो परिवार चलाउन थोरै पैसाले पुग्दैन। हालसम्म पूर्वजले गर्दै आएको कामलाई हामीले अंगाल्दै उक्त गुण छोराछोरीलाई दियौँ। तर, अब मेरा नाति नातिनीलाई यो काम सिकाउँदैनौँ। उनीहरूलाई पढाउने इच्छा छ। छोरा–छोरीलाई स्कुल पठाउँदा भागेर आउँथे। उनीहरूलाई कर गरेर पढाउन सकेनौँ। अहिले पछुतो भइरहेको छ। । नाति–नातिनीलाई शिक्षाविनाको अन्ध्यारो जीवन जिउँन दिन्नौँ।’

पढेर शिक्षित हुँदा जातीय भेदभावसमेत हट्ने गरेको उनीहरू सुनाउँछन्। पछिल्ला केही वर्षमा नरेश र उनको परिवारले त्यति धेरै जातीय छुवाछुतको सामना गर्नुपरेको छैन। तर, अझै छुवाछुत मानेर कसैले केही भन्छन् कि भनेर डर भने मनमा लागिरहने नरेश बताउँछन्।

पूर्वजले हस्तान्तरण गरेको सीप छोडेर वैदेशिक रोजगारीमा जान मन त नरेशलाई पनि छैन। तर, पुस्तौनी पेसाबाट गुजारा चलाउन नसक्दा नातिनातिनासँग खेल्ने वेला उनी फेरि निराश हुँदै वैदेशिक रोजगारी जाने तरखरमा छन्। उनी भन्छन्, ‘सरकारले हाम्रो श्रम र सीपको मूल्य दिए त विदेश जानुपर्ने थिएन। हाम्रो कामको उचित मूल्य तोक्ने व्यवस्था गर्नुपर्छ।’


 

ad
ad
ad
ad