Skip This
नयाँ आइजिपीका नयाँ योजना 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नेपाल प्रहरीका आइजिपी धीरजप्रताप सिंह (बाँया), गृहसचिव टेकनारायण पाण्डे (बीचमा),  र सशस्त्र आइजिपी राजु अर्याल । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार o६:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ आइजिपीका नयाँ योजना 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o६:o९:oo

भ्रष्टाचारमा शून्य सहनशीलता, अपराध अनुसन्धानमा वैज्ञानिकीकरण तथा गैरव्यावसायिक आचरणप्रति कठोर हुने सिंहको सन्देश

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षकले सोमबार पदभार सम्हाल्दै संगठनमा विधि र थिति बसाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा सोमबार दर्ज्यानी चिह्न सुशोभन कार्यक्रमपछि बोल्दै उनीहरूले सुरक्षा निकायलाई बलियो बनाउन मन्त्रालय र सरकारको सहयोगको अपेक्षा गरेका छन् । 

नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी संगठनप्रति जनविश्वास गर्ने गरी पुलिसिङ अघि बढाउने बताए । पदीय चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने भन्दै उनले प्रहरी सेवाको गुणस्तरीयता बढाउने र प्रहरी कर्मचारीको वृत्तिविकासमा ध्यान दिइने बताए । गाउँ र सहरमा छुट्टाछुट्टै सुरक्षा अवधारणा लागू गरी ‘सुरक्षित गाउँ, सुरक्षित सहर’ बनाएर प्रहरीमाथिको विश्वास बढाउने गरी काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । भ्रष्टाचारमा शून्य सहनशीलता, अपराध अनुसन्धानमा वैज्ञानिकीरण तथा गैरव्यावसायिक आचरणप्रति आफू कठोर हुने उनको भनाइ छ ।

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले व्यक्तिले नभई नीतिले संगठन चलाउने प्रणालीको सुरुवात गरिने बताएका छन् । सरुवा–बढुवालाई न्यायोचित र पूर्वानुमानयोग्य बनाउन नयाँ कार्यविधि बनाई लागू गर्ने योजना उनले सुनाए । ट्रान्सफर फोरकास्ट बनाउने र त्यसबाट सरुवामा हुने अनावश्यक दबाब अन्त्य हुने उनको विश्वास छ । 

सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको ‘डेडिकेटेड फोर्स’ बनाउन सीमा क्षेत्र विकास कार्यक्रमको अवधारणा अघि सारेका छन् । सीमा क्षेत्रमा नागरिक सशस्त्र प्रहरी साझेदारी कार्यक्रम सुरु गरिने उनको भनाइ छ । त्यसका लागि सीमा क्षेत्रमा विकास कार्यक्रमको योजना उनले बनाएका छन् । सीमा निगरानी बहुउद्देश्यीय सडक बनाउने उनको प्रस्ताव छ । इन्टेलिजेन्समा आधारित सीमा सुरक्षाको अवधारणाअनुसार बोर्डर इन्टेलिजेन्स ब्युरोको विस्तार गरिने तथा सशस्त्र प्रहरी प्रधान कार्यालयमा २४सै घन्टा सक्रिय हुने गरी सीमा सुरक्षा डेस्क बनाउने अर्यालको तयारी छ । अन्य सुरक्षा निकायसँग सुमधुर सम्बन्ध राखेर सहकार्य गर्ने उनको प्रतिबद्धता छ । 

कार्यक्षमतामा अब्बल व्यक्तिलाई महानिरीक्षक बनाइएको दाबी 
सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा गृहसचिव टेकनारायण पाण्डेले चार एआइजीमध्ये सिंहको कार्यक्षमता राम्रो भएकाले उनलाई बढुवा गरिएको बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले ‘अतिरिक्त प्रहरी महानिरीक्षकहरूमध्ये सबैभन्दा उपयुक्त देखिएका’ले सिंहलाई सरकारले बढुवा गरेको बताए । दज्र्यानी चिह्न सुशोभन कार्यक्रममा गृहसचिव पाण्डेले कार्यक्षमता र कार्यकुशलतामा तुलनात्मक रूपमा सिंह अब्बल भएकाले उनको बढुवा गरिएको बताए । चारैजना एकै दिन भर्ना भएका, सबैको ज्येष्ठता बराबर भएको र सिंहमा अभिभावकत्वको भूमिका ग्रहण गर्न सक्ने क्षमतासमेतका आधारमा उनलाई चयन गरिएको उनको भनाइ छ । 

एआइजी पोखरेल अदालतमा 
आइजिपी बढुवामा आफूलाई अन्याय भएको भन्दै एआइजी विश्वराज पोखरेल अदालत पुगेका छन् । आफूलाई आइजिपीमा नियुक्तिको परमादेशको माग गरी उनले सोमबार सर्वाेच्च अदालतमा रिट दर्ता गराएका हुन् । सिंहलाई आइजिपी नियुक्त गर्ने निर्णय बदर गरी मुद्दा नटुंगिएसम्म आफूलाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिनसमेत माग गरी उनले रिट दर्ता गराएका हुन् । 

एसपीसम्म सिंह एक नम्बरमा रहेकोमा त्यसपछि पोखरेलले उनलाई उछिनेका थिए । आफूले नै दज्र्यानी चिह्न लगाइदिएको व्यक्तिको मातहतमा बसेर आफूले काम गर्न नसक्ने उनको रिटमा उल्लेख छ । उनले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र महानिरीक्षक सिंहलाई विपक्षी बनाई रिट दायर गरेका हुन् । बुधबार रिटउपर सुनुवाइ तोकिएको छ । बढुवामा असन्तुष्टि जनाउँदै पोखरेल सोमबारदेखि ३० दिन बिदामा बसेका छन् । अर्का एआइजी सहकुल थापाले पनि बढुवामा असन्तुष्टि जनाए पनि उनी भने अदालत नजाने भएका छन् । सोमबार साँझ गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेसँग भेटेपछि बुधबारदेखि नियमित काममा फर्कन उनी तयार भएका हुन् । थापा केन्द्रीय प्रहरी सेलको कमान्डरका रूपमा कार्यरत छन् । 
 

ad
ad