१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format ११:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रातो मत्स्येन्द्रनाथ रथाजात्रा : आज रथारोहणको साइत 

Read Time : < 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:२९:oo

उपत्यकाकाे प्रसिद्ध रातो मत्स्येन्द्रनाथ रथ निर्माण कार्य सकिएपछि साइतअनुसार आज पुल्चोकमा रहेको रथमा मत्स्येन्द्रनाथ देवतालाई विराजमान गराइँदै छ। दिउँसो करिब ५ देखि ६ बजे बीचको समयमा रथारोहणको साइत जुरेको छ।  

मत्स्येन्द्रनाथको मुर्तिलाई हाल पाटनको तःवहालमा राखिएको छ। आज बिहानैदेखि उक्त मूर्तिको विधिपूर्वक पूजाआजा गरिएको छ। आज दिउँसो नै खटमा राखेर नगर परिक्रमा गराउँदै देवतालाई पुल्चोकमा रहेको रथमा विराजमान गराइने जात्राका मूल पुजारी कपिल बज्राचार्यले जानकारी दिए। 

उनका अनुसार अहिले (बिहान) कटुवालदहबाट जल ल्याइँदै छ। त्यसले रथलाई चोख्याइनेछ। त्यसको साथै अन्य विधिपूर्वक पूजाआजा सकिएपछि रथारोहण गरिनेछ। जल ल्याउनेका लागि मूलपुजारी र पुजारी अघिल्लो रातदेखि नै कटुवालदहमा बास बस्ने चलन छ। आज बिहान विधिपूर्वक पूजाआजा गरी जल ल्याइँदै छ। 

रथारोहण गरेको चौथो दिन अर्थात् चौथी तिथिमा रथजात्रा सुरु हुनेछ। यसलाई रथयात्रा पनि भनिन्छ। पुल्चोक हुँदै रथलाई विभिन्न भित्री नगर परिक्रमा गराइन्छ। पुल्चोक, गाःवहाल, मंगलबजार, सुन्धारा, थटिटोल, कुमारीपाटी हुँदै रथलाई तानेर जावलाखेलमा ल्याइन्छ। त्यहाँ ल्याएपछि साइत जुराएर राष्ट्रप्रमुखको हातबाट भोटो देखाइन्छ । त्यसपछि रथ जात्रा समाप्त हुन्छ। भोटो देखाउने जात्राको दिन सार्वजनिक बिदा दिने चलन रहँदै आएको छ।  

मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताको रूपमा लिइन्छ। यो जात्रा लिच्छविकालदेखि चल्दै आएको किंवदन्ती छ। उपत्यकामा मनाइने जात्रामध्ये यो जात्रा सबैभन्दा लामो मानिन्छ। जात्रा सकिएपछि देवतालाई खटमा राखि बुङमती लगिन्छ । त्यहाँ ६ महिना राखेपछि मूर्तिलाई पुनः पाटन ल्याइन्छ।