१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ९ शुक्रबार
  • Thursday, 03 July, 2025
२o७९ बैशाख ९ शुक्रबार २o:o७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोलखा एमालेमा विवाद :  जिल्ला अध्यक्षविरुद्ध ८ नेताको प्रदेश कमिटीमा उजुरी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ९ शुक्रबार २o:o७:oo

एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले एकलौटी र जबर्जस्ती उम्मेदवारको टिकट घोषणा गरेको भन्दै दोलखा एमालेमा भीमेश्वर नगरको टिकट वितरण बदर गर्न माग गर्दै ८ जना नेताले प्रदेश समितिमा उजुरी गरेका छन् । आफूहरूको सहमतिबेगर बैठकमा छलफल नै नगरी उम्मेदवारहरूको टिकट घोषणा गरेको भन्दै भीमेश्वर नगरका ८ जना नेताहरूले पार्टीको प्रदेश समितिमा उजुरी गरेका हुन् ।

जिल्ला कमिटी बैठकमार्फत निर्णय गराएर उम्मेदवारको टुंगो लगाएको भनिए पनि बैठकमा निर्णय नगरेको र छलफल नगरी जबर्जस्ती नाम घोषणा गरेको भन्दै जिल्लाको निर्णय बदर गर्न प्रदेश समितिमा उजुरी गर्न बाध्य भएको एमालेका नेता एवं भीमेश्वर नगरको मेयरका आकांक्षी हरिवंश चौलागाईंले बताए । 

उनीहरूले दोलखा एमालेले गरेको निर्णय बदर गरेर माथिल्लो कमिटीमार्फत निर्णय गर्न माग गर्दै प्रदेश कमिटीमा लिखित उजुरी दर्ता गराएका छन्। उजुरी दिनेहरूमा मेयरका आकांक्षीहरू  एमाले जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर, हरिवंश चौलागाईं प्रवीण प्रधान र उपमेयरका आकांक्षीहरू डा. जानुका न्यौपाने, मेनुका सुवेदी, सीता केसी, रूपा शाही र पूर्णिमा खरेल छन् । 

उनीहरूले भीमेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखको टिकट बाँडफाँटमा असहमति राखेका छन् । उनीहरूले आफ्नो दाबी यथावत रहेकाले प्रदेश कमिटीबाट भीमेश्वर नगरको टिकट टुंगो लगाउन आग्रह गरेका छन् । भीमेश्वर नगरपालिकामा बहालवाला मेयर भरत केसी र उपमेयर कमला बस्नेतलाई नै दोहोर्याउने निर्णय दोलखा एमालेले गरेको थियो। बुधबार सम्पन्न जिल्ला कमिटी बैठकमा अध्यक्ष नरबहादुर श्रेष्ठले उम्मेदवारहरूको नाम प्रस्ताव गरेर छलफल नगरी हलबाट बाहिर निस्किएको एक जिल्ला नेताले बताएका छन् । 

विधिसंवत उम्मेदवार छनोट गरेका हौँ  : अध्यक्ष श्रेष्ठ 
नेकपा एमाले दोलखाका  अध्यक्ष नरबहादुर श्रेष्ठले पटक-पटक छलफल अन्तर्क्रिया र बैठक गरेर सहमतिअनुसार नै उम्मेदवारी छनोट गरेको दाबी गरेका छन् । उनले शीर्ष नेतृत्वदेखि सबै जिम्मेवार नेता कार्यकर्ताहरूको भावनाअनुसार नै उम्मेदवार टुंगो लागेको बताए। आकांक्षी राखेर समूहगत छलफलदेखि सबै प्रक्रिया पूरा गरेर नै निर्णय गरिएको उनको जिकिर छ ।