१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भारतले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थको निर्यात खुलायो

एक साताअघि भारतले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थको निर्यात रोकेको थियो, आयात हुने भएपछि विकास परियोजनामा सम्भावित समस्या टरेको छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:३४:oo

भारतले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थको निर्यातमा लगाएको रोकावट हटाएको छ । विस्फोटक पदार्थको निर्यात रोक्ने एक साताअघिको निर्णयबाट भारत पछि हटेको हो । यससँगै अब नेपालमा पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थको आयात खुल्ने भएको छ । 

भारतले आफ्नै मुलुकका लागि आवश्यकता रहेको भन्दै १३ अप्रिलमा सूचना जारी गरेर विस्फोटक पदार्थको निकासीमा रोक लगाएको थियो । त्यसको करिब एक सातापछि १९ अप्रिलमा अर्को सूचना जारी गर्दै भारतले विस्फोटक पदार्थको निर्यात पुनः खुला गरेको हो । 

पूर्वाधार निर्माणका क्रममा चट्टान, पहाड फोर्न तथा सुरुङ बनाउन विस्फोटक पदार्थको प्रयोग हुन्छ । त्यस्तै, सिमेन्ट उद्योगका लागि आवश्यक पर्ने चुनढुंगा खानीको उत्खननमा समेत विस्फोटक पदार्थको प्रयोग हुन्छ । भारतले विस्फोटक पदार्थको आयात रोक्ने सूचनापछि नेपालका पूर्वाधार आयोजना प्रभावित हुने सम्भावना देखिएको थियो । भारतले निकासी खुलाएसँगै पूर्वाधारमा हुने सम्भावित समस्या टरेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का कोषाध्यक्ष आनन्द चौधरीले बताए । 

‘भारतले विस्फोटक पदार्थको निकासीमा रोक लगाउँदा हाम्रा पूर्वाधार निर्माण प्रभावित हुने देखिएको थियो, तर एक सातामै भारत सरकारले आफ्नो निर्णय बदलेको छ,’ उनले भने, ‘यसबाट पूर्वाधार क्षेत्रमा हुन सक्ने सम्भावित समस्या टरेको छ ।’ अहिले नेपालका पूर्वाधार आयोजनामा भारतबाट आयातीत विस्फोटक पदार्थको प्रयोग ८० प्रतिशत हाराहारी हुन्छ ।

बाँकी २० प्रतिशत भने नेपाली सेनाले नै उत्पादन तथा आपूर्ति गर्दै आएको सरोकारवाला बताउँछन् । नेपाली सेनाले मकवानपुरस्थित सुनाचरी इमल्सन प्लान्टबाट विस्फोटक पदार्थ उत्पादन गरेर आपूर्तिसमेत गरिरहेको छ । सेनाले दैनिक १० टन विस्फोटक पदार्थ उत्पादन गरेर आपूर्ति गरिरहेको छ ।

ad
ad