Skip This
दलहरू गाउँतिर : सत्तारूढ गठबन्धनका दलहरू कार्ययोजनासहित गाउँ–गाउँमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
किरण दहाल काठमाडाैं
२o८१ बैशाख २७ बिहीबार o७:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दलहरू गाउँतिर : सत्तारूढ गठबन्धनका दलहरू कार्ययोजनासहित गाउँ–गाउँमा

Read Time : > 2 मिनेट
किरण दहाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o७:o८:oo

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा प्रमुख राजनीतिक दल गाउँतिर फर्केका छन् । चुनावकेन्द्रित कार्ययोजना बनाएर दलहरूले नेता–कार्यकर्ता गाउँमै परिचालन गरेका छन् । सम्पूर्ण रूपमा चुनावमै ध्यान केन्द्रित गरेका दलहरूबीच चुनावी गठबन्धनबारे भने अझै केही निर्णय भइसकेको छैन । 

प्रमुख सत्तारूढ दल कांग्रेसले जनताको घरदैलोमा पुग्ने गरी आइतबारदेखि एक महिने चुनावी अभियान सुरु गरेको छ । केन्द्रीय प्रतिनिधि सबै जिल्लामा पुगेर सक्रियतापुर्वक चुनावी कार्यक्रममा भाग लिइरहेको पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए । ‘जिल्ला–जिल्लामा, गाउँ–गाउँमा हाम्रो पार्टीका कार्यक्रम भइरहेका छन् । प्रशिक्षण चलिरहेका छन्,’ डा. महतले भने, ‘हाम्रो मुख्य लक्ष्य जनताको घरदैलोमा पुग्ने हो । एक महिने अभियानमा जिल्ला जानुभएका केन्द्रीय प्रतिनिधि चुनावी कार्यक्रममा सक्रिय हुनुहुन्छ ।’

कांग्रेसले चुनावलक्षित अभियानमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने नारा बनाएको छ । अभियान आगामी २९ चैतसम्म चल्नेछ । अभियानमा ७७ जिल्लामै केन्द्रीय सदस्यहरू केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका छन् । अभियान सुरु हुनु दुई दिनअघि नै कांग्रेसले सबै जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि खटाएको थियो । गत २८ फागुनमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता महतले स्थानीय चुनावमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहाद्र्रता, एकता र ऊर्जा अभिवृद्धि गर्ने तथा कांग्रेस उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने पार्टी योजना सुनाएका थिए । 

सत्तारूढ अर्को दल माओवादीले पनि चुनावी कार्ययोजनासहित आफ्ना नेता–कार्यकर्तालाई गाउँ पठाएको छ । केन्द्रीय नेताहरू विभिन्न तहका राजनीतिक–वैचारिक प्रशिक्षणमा छन् । माओवादी नेता शक्ति बस्नेतले स्थानीय चुनावलक्षित गरी पार्टीका कार्यक्रम सुरु भइसकेको बताए । ‘चुनावकेन्द्रित अभियानमा लागिरहेका छौँ । प्रदेशहरूमा प्रशिक्षण कार्यक्रम भइरहेको छ,’ उनले भने, ‘जिल्ला–जिल्लामा संगठनात्मक काम पनि भइरहेको छ,’ उनले भने ।

२३ फागुनमा बसेको माओवादीको केन्द्रीय कमिटी वैठकले पार्टीको सम्पूर्ण शक्ति स्थानीय चुनावमा लगाउनेसहितको दुई महिने चुनावी अभियान चलाउने निर्णय गरेको छ । अभियानका क्रममा घरघरमा सदस्यता वितरण, पालिकास्तरमा घोषणापत्र बनाउने, मापदण्डका आधारमा उम्मेदवारको सूची बनाउने, भेला–प्रशिक्षण चलाउने, सदस्यता वितरण गर्ने र सबै तहका कमिटीलाई पूर्णता दिनेलगायतका कार्यक्रम कार्ययोजनामा छन् ।

चुनावी कार्ययोजनासँगै कार्यान्वयनका लागि माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू पनि तोकेको छ । केन्द्रीय समिति बैठकले प्रदेश १ मा राम कार्की, मधेस प्रदेशमा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लीलामणि पोखरेललाई इन्चार्ज बनाएको छ । 

एकीकृत समाजवादीले पनि केन्द्रीय कमिटी बैठक सकेर चुनावतिर ध्यान केन्द्रित गरेको छ । महासचिव बेदुराम भुषालले चुनावलाई मध्यनजर गर्दै जनताको बीचमा जाने र कमिटी बनाउनेलगायतका काम सुरु भइसकेको बताए । भुषालले स्थानीय तहको निर्वाचनका लागि गर्नुपर्ने तयारीका बारेमा छलफल भइरहेको जानकारी दिए । 

२५ र २६ फागुनको केन्द्रीय कमिटी बैठकले चुनावी कार्ययोजना पास गरिसकेको समेत उनले बताए । ‘केन्द्रीय कमिटीले कार्ययोजना पारित गरेको छ । सबैले सुझाव पनि दिइरहनुभएको छ । स्थानीय चुनावका सन्दर्भमा गर्नुपर्ने काम, त्यसको तयारी र उम्मेदवारी चयनको मापदण्डलगायतका विषयमा छलफल भइरहेको छ,’ उनले भने । एकीकृत समाजवादीको २५ र २६ फागुनको केन्द्रीय कमिटी बैठकले स्थानीय चुनावमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको थियो । 

सत्तारूढ अर्को दल जसपाको सोमबार सकिएको केन्द्रीय कमिटी बैठकले पनि चुनावकेन्द्रित कार्यविभाजन र कार्ययोजना बनाएर नेता–कार्यकर्ता गाउँ पठाउने निर्णय गरेको छ । जसपाका कार्यकारिणी सदस्य नवराज सुवेदीका अनुसार पार्टीले सबै केन्द्रीय सदस्यका लागि स्थानीय चुनावका लागि कार्यक्षेत्र तोकेको छ । ‘सबै केन्द्रीय सदस्यलाई भूगोल निर्धारण गरेर निर्वाचनका लागि कार्यक्षेत्र तोकिएको छ,’ उनले भने, ‘चुनावकेन्द्रित गरी नेतृत्वको कार्यविभाजन पनि गरिएको छ । हरेक पालिकामा एक–एक केन्द्रीय सदस्यलाई चुनावी जिम्मेवारी दिने निर्णय भएको छ ।’ जसपामा ४९९ जना केन्द्रीय सदस्य छन् । 

ad
ad