मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
उपाधिका साथ मनाङका खेलाडी । तस्बिर : नयाँ पत्रिका 
२०७८ फाल्गुण २९ आइतबार ०७:१९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खप्तड गोल्डकप उपाधि मनाङलाई

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण २९ आइतबार ०७:१९:००

मनाङमर्स्याङ्दी क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको च्याम्पियन बनेको छ । धनगढी रंगशालामा शनिबार फ्रेन्ड्स क्लबविरुद्ध ३–१ गोलअन्तरको जित निकाल्दै मनाङले उपाधि कब्जा गरेको हो ।

मनाङलाई उपाधि दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक–एक गोल गरे । उपाधिसँगै मनाङले २१ लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ । हारसँगै उपविजेतामा चित्त बुझाउन बाध्य फ्रेन्ड्सले १० लाख रुपैयाँ प्राप्त गर्‍यो । 

खेल सुरु भएको २२औँ मिनेटमा दिनेश राजबंशीको गोलबाट मनाङले अग्रता लिएको थियो । फ्रिकिकबाट गोल गर्दै उनले मनाङलाई सुरुआती अग्रता दिलाए । दोस्रो हाफको सुरुआतमै फ्रेन्ड्सले खेलमा पुनरागमन गर्‍यो । फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोइसलले ५१औँ मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा ल्याए । तर, ७२औँ मिनेटमा आफिज ओलावालेको गोलबाट मनाङले २–१ को अग्रता लियो । 

२–१ को अन्तरपछि दबाबमा परेको फ्रेन्ड्सविरुद्ध मनाङले खेलको इन्जुरी समयमा एक गोल थप्यो । इन्जुरी समयमा मौसाले गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए । निकै प्रतिस्पर्धात्मक खेलमा फ्रेन्ड्सले थप गोल फर्काउन सकेन । खेलको ८४औँ मिनेटमा दुई खेलाडीले रातो कार्ड पाएपछि दुवै टोली १०–१० जना खेलाडीमा सीमित भएका थिए । मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीलाई रेफ्रीले रातो कार्ड दिएका हुन् ।

फ्रेन्ड्सले गोल गर्ने केही अवसर सदुपयोग गर्न सकेनन् । खेलको १९औँ मिनेटमा फ्रेन्ड्सका जमोउल पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहारलाई मनाङका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गरे । ९२औँ मिनेटमा राजीव लोप्चनले गोल गर्ने मौका पाए पनि उनको फितलो प्रहार गोलमा परिणत हुन सकेन । मनाङले पनि गोल गर्ने केही अवसर गुमाएको थियो । मनाङले दोस्रोपटक खप्तड गोल्डकपको उपाधि जितेको हो । उसले पहिलो संस्करणको पनि उपाधि जितेको थियो ।

शिशिर सर्वोत्कृष्ट खेलाडी
प्रतियोगितामा मनाङका शिशिर लेखी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । मनाङकै विशाल सुनार उत्कृष्ट गोलरक्षक, राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक र मौसा अवगाना उत्कृष्ट मिडफिल्डर भए । 

यस्तै, फेन्ड्सका सुरज विश्वकर्मा उत्कृष्ट रक्षक र फेन्ड्सकै जमोउल एन्थोनी फ्रान्कोइस सर्वाधिक गोलकर्ता भए । उदीयमान खेलाडीको पुरस्कार सुदूरपश्चिम–११ का फागुराम चौधरीले पाए । यी विधाका विजयीलाई जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । 

विजयी टिम तथा खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलगायत प्रतियोगिता समापनका अतिथिहरूले पुरस्कार प्रदान गरे । सुदूरपश्चिम–११ स्पोर्टस् क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।