
जिल्ला प्रशासन कार्यालय मनाङले डढेलो नियन्त्रणका लागि पूर्वतयारी थालेको छ। डढेलोको याम सुरु भएसँगै डढेलाे नियन्त्रणका लागि प्रशासनले अग्नि नियन्त्रण उपकरण खरिद गरेको हो।
अग्नि नियन्त्रण गर्न सुरक्षा निकायका लागि ३० थान फायर कन्ट्रोल वाटर ज्याकेट खरिद गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए। जिल्ला सुरक्षा समितिको बैठकले मनाङका चार स्थानीय तहलाई अग्नि नियन्त्रणका उपकरणहरू खरिद गर्न अनुरोध गर्ने निर्णय गरी पत्राचारसमेत गरिएको आचार्यले बताए।
मनाङमा गत वर्ष विभिन्न समयमा लागेको डढेलोबाट दुई हजार आठ सय १२ हेक्टर वन जलेर सखाप भएको थियो। आगलागीबाट नासोँ गाउँपालिका– ८ ताचै वनको ७ सय हेक्टर, नासोँ– ५ थोचे र ७ तिल्चे जंगलको २१ सय हेक्टर तथा ङिस्याङ गाउँपालिका– २ ङावल घ्यारूस्थित मुखुङ सामुदायिक वनको १२ हेक्टर जंगल सखाप भएको हो।
मनाङमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्मले डढेलो नियन्त्रणका लागि विपत् तथा उद्धारसम्बन्धी तालिमप्राप्त सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखेको गुल्मका प्रमुख अर्जुन पौडेलले बताए।