मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ फाल्गुण २६ बिहीबार ०८:०५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सुदूरपश्चिम खप्तड गोल्डकप : मनाङ उपाधिनजिक

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण २६ बिहीबार ०८:०५:००

मनाङ मर्स्याङ्दी  क्लब सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा मनाङले हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै आफूलाई उपाधि होडमा उभ्याएको हो । उपाधिका लागि मनाङले बागमती युथ क्लब र फ्रेन्ड्स क्लबबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ ।

मनाङलाई फाइनलमा पुर्‍याउन कप्तान अन्जन विष्ट, शिशिर लेखी, मोसा र पुजन उपरकोटीले पेनाल्टी सुटआउटमा गोल गरे । हिमालयन शेर्पाका विदेशी खेलाडी उल्रिक सिवे र पिस्टन मुटुरम्बाले गोल गरे ।हिमालयनका विशाल श्रेष्ठ र विवेक पण्डितका प्रहार सफल भएनन् । हिमालयन शेर्पाको एक प्रहार क्रसबारमा लागेको थियो । अर्को एक प्रहारलाई मनाङका गोलरक्षकले जोगाएका थिए । निर्धारित समयमा मनाङ र हिमालयनले १–१ गोल गरेका थिए । त्यसपछि खेलको छिनोफानो पेनाल्टीबाट भएको हो । खेलको २८औँ मिनेटमा शिशिरले मनाङलाई १–० को अग्रता दिलाए । उनले कप्तान अञ्जनको क्रसमा सुन्दर हेडिङ गोल गरेका थिए । 

खेलको ७९औँ मिनेटमा हिमालयनले १–१ का लागि गोल फर्कायो । सुरेश कुमालले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका हुन्  । खेलको अन्तिम समय खेल बराबरी अवस्थामा पुग्नुअघि हिमालयनका गोलरक्षक किशोर गिरी घाइते भए । उनको स्थानमा हिमालयनले पारस खत्रीलाई मैदानमा उतारेको थियो । अञ्जन र गोलरक्षक बिहोर एकआपसमा ठोक्किएर मैदानमा लडेका थिए । 

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आफ्ना खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । उनले अब उपाधि जित्ने दावी गरे । ‘खेम एकदमै राम्रो भयो, खेलाडीहरूले अनुभव देखाए,’ तामाङले भने, ‘केही गल्तीले गोल खान पुग्यौँ तर पनि खेल जित्यौँ ।’ हिमालयनका प्रशिक्षक युगलकिशोर राईले सोचेभन्दा राम्रो खेलेको बताए । तर पेनाल्टीमा भाग्यले साथ नदिएको उनको प्रतिक्रिया रह्यो । आफ्नो टिमले राम्रो स्पिरिट देखाएको उनले बताए । ‘खेल रोमाञ्चक रह्यो । हामीले कमब्याक गर्‍याैँ । सोचेभन्दा राम्रो खेल्यौँ’ उनले भने, ‘प्रतिस्पर्धात्मक खेललाई पेनाल्टीसम्म पुर्‍यायौँ । पेनाल्टीमा ५०–५० कुरा आउँछ । त्यसमा उनीहरू सफल भए ।’