१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाै‌ं
Invalid date format १६:३३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मंगलबजार, पुल्चोक र जावलाखेलपछि लगनखेललाई पनि धूम्रपान निषेधित क्षेत्र बनाइँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌ं
नयाँ पत्रिका
Invalid date format १६:३३:oo

ललितपुर महानगरपालिकाले लगनखेल बसपार्क क्षेत्रमा पनि धूम्रपान निषेध गर्ने भएको छ। बसपार्क क्षेत्रमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग बढेकोले महानगरले त्यस क्षेत्रमा पनि धूम्रपान र सुर्तीजन्य पदार्थमा रोक लगाउन थालेको हो। यसअघि फाुगन २० गतेदेखि महानगरले पुल्चोक, जावलाखेल र मंगलबजारलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरिसकेको छ। सार्वजनिक स्थलमा जथाभावी धूम्रपानको प्रयोग हुन थालेपछि त्यसलाई रोक्न  कडाइ गरेको महानगरले जनाएको छ । 

महानगरले निषेधित क्षेत्रमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन तथा बिक्री–वितरणमा पनि रोक लगाएको छ। उक्त नियम कार्यान्वयनका लागि महानगरले नगर प्रहरी खटाएको छ । चारजना प्रहरी धूम्रपान निषेधित क्षेत्रमा खटाइएको महानगर नगर प्रहरी प्रमुख सीताराम हाछेंथुले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा एक साता प्रहरीले सम्झाइबुझाई गर्नेछ। एक सातापछि भने सार्वजनिक क्षेत्रमा धूम्रपान सेवन गर्नेलाई एक सय रुपैयाँ जरिवाना तिराइनेछ । त्यस्तै, निषेधित क्षेत्रमा बिक्री–वितरण गरे पाँच सय रुपैयाँ जरिवाना भराइने नगर प्रहरी प्रमुख हाछेंथुले जानकारी दिए। उनले भने, ‘चियापसलमा चुरोट सेवन गर्ने र सुर्तीजन्य पदार्थको प्रयोग निकै बढ्यो । पान, पराग, गुट्का खाएर जथाभावी थुक्दा सडकपेटी र भित्ताहरू पनि फोहोर भए । यो शरीरका लागि पनि हानिकारक भएकाले हामीले निषेध गर्‍याैँ।’ उनले मंगलबजारमा रहेका ऐतिहासिक सम्पदा क्षेत्र, पुल्चोकस्थित महानगरपालिका कार्यालय परिसर र मुख्य सडकको आसपासमा सुर्तीजन्य पदार्थ सेवन र बिक्री–वितरण गरे जरिवाना लिइने बताए ।  

पहिलो चरणमा मुख्य–मुख्य क्षेत्रमा यो नियम लागू गरेपछि त्यसको प्रभावका आधारमा अन्य क्षेत्रमा पनि लागू गरिने महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए। उनका अनुसार महानगरपालिकाका कर्मचारीलाई कार्यालय हाताभित्र कुनै पनि प्रकारको धूम्रपान प्रयोग नगर्न निर्देशन दिइएको छ। महानगरमा आउने सेवाग्राहीले समेत मुखमा गुड्का चपाउँदै कार्यालयमा प्रवेश गर्न पाउनेछैनन्। यसको निगरानीको जिम्मेवारी नगर प्रहरीलाई दिइएको छ। 

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ अनुसार सार्वजनिक स्थलमा धूम्रपान निषेध गरिएको हो। उक्त ऐनको दफा ४ मा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था छ।