१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २० शुक्रबार १०:३३:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

१२ वर्षपछि मण्डला थिएटर आफ्नै भवनमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २० शुक्रबार १०:३३:००

नयाँ भवनमा दुई सय सिट क्षमताको अडिटोरियम र ७० सिटको बाल नाटकघर छ

मण्डला थिएटर स्थापनाको १२ वर्षपछि आफ्नै भवनमा सरेको छ । थिएटरले काठमाडौंको नयाँबानेश्वरमा आफ्नो भवन बनाएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले थिएटरको नयाँ भवनको बिहीबार उद्घाटन गरेका छन् ।

मण्डला थिएटरकी अध्यक्ष सिर्जना सुब्बाले १२ वर्षदेखिको मिहिनेत र संघर्षले एउटा स्वरूप लिएको बताइन् । ‘यो बीचमा मण्डलाले ८० वटा नाटक मञ्चन गरेको छ । यसमध्ये ५१ वटा आफ्नै नाटक हुन् । मण्डलाले सामाजिक विकृति र विसंगतिका विरुद्ध सधैँ आवाज उठाइरह्यो,’ उनले भनिन् । दुई सय सिट क्षमताको अडिटोरियम र ७० सिट क्षमताको बाल नाटकघर निर्माण भएको उनले बताइन् । ३० आना जग्गा भाडामा लिएर मण्डलाले भवन निर्माण गरेको हो । 

उपराष्ट्रपति पुनले नेपाली समाज रूपान्तरणका लागि नाटकले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । ‘राजनीतिक तथा सामाजिक रूपान्तरणका लागि भएका क्रान्ति र आन्दोलनमा नाटकले महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने, ‘समाजका अन्धविश्वास, विकृति, विभेदलाई उदाङ्गो पारेर जनमानसमा प्रस्तुत गर्ने प्रमुख प्रेरक नाटक नै हो । राजनीतिक क्रान्तिका परिवर्तनहरू, परिवर्तनको पक्षमा जनमतका लागि नाटकको प्रमुख भूमिका रह्यो ।’ उपराष्ट्रपति पुनले नयाँ भवनमा मञ्चन भएको नाटक ‘रोगन’ पनि अवलोकन गरेका थिए । 

कार्यक्रममा नाट्यकर्मी हरिहर अधिकारीले मण्डला थिएटरको आफ्नै भवन तयार हुँदा नेपाली रंगकर्म पुनर्जागरण भएको बताए ।  नाट्यकर्मीका लागि नाटक मञ्चन गर्न स्थायी थलोको आवश्यक पर्ने उनले बताए । उनले मण्डला थिएटर टिमलाई शुभकामना व्यक्त गर्दै भने, ‘नाटक कुरा गरेर मात्रै हुँदैन, नाटक लेखेर मात्रै पनि हुँदैन । नाटक गरेपछि, त्यो नाटक हुन्छ । नाटक दर्शकसम्म पुग्नुपर्छ । नाटक मञ्चनका लागि स्थायी थलोको आवश्यक पर्छ ।