Skip This
ad
बी डिभिजन लिग सुरु: तीन क्लबको विजयी सुरुवात
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
गोल गरेपछि खुसीयाली मनाउँदै सरस्वती युथ क्लबका खेलाडी ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o७:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बी डिभिजन लिग सुरु: तीन क्लबको विजयी सुरुवात

श्री भगवती, ब्वाइज युनियन र सरस्वती युथ क्लबले पहिलो खेलबाटै समान तीन अंक हात पारे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:३३:oo

ए डिभिजन लिग फुटबल प्रतियोगिता सकिएको चार दिनपछि बुधबारदेखि सातदोबाटो एन्फा कम्प्लेक्समा बी डिभिजन लिग सुरु भएको छ । लिगको पहिलो दिन तीनवटा क्लबले जित निकालेका छन् । एन्फा कम्प्लेक्समा श्री भगवती, ब्वाइज युनियन र सरस्वती युथ क्लबले तीन अंक हात पारेका छन् । श्री भगवतीले झम्सीखेल युथ क्लबलाई ३–१ ले हरायो । गत संस्करणमा झम्सीखेल बी डिभिजको ११औँ स्थानमा थियो । त्यसवेला झम्सीखेलले ११ खेलबाट ६ अंक मात्रै जोडेको थियो । श्री भगवती १५ अंकका साथ छैटौँ स्थानमा थियो । श्री भगवतीको जितमा अनिल गुरुङ, रमेश उरव र मिलान खड्काले एक–एक गोल गरेका थिए । झम्सीखेलका लागि मनकुमार राईले एक गोल फर्काए । 

सरस्वतीसँग बाँसबारीको हार
सरस्वती क्लबले बाँसबारी क्लबविरुद्ध ३–१ को सानदार जित निकाल्यो । खेलको छैटौँ मिनेटमा बाँसबारीले बिके राईको गोलसँगै अग्रता लिएको थियो । तर, बाँसबारीका खेलाडीले खेलमा थप गोल गर्न नसक्दा हारको सामना गर्‍यो । सरस्वतीका लागि सरस्वती विक्रम विसुंखे, श्रीजल लामा र भूपेन्द्र शाहीले गोल गरे । गत वर्षको ए डिभिजन सिजनबाट सरस्वती क्लब बी डिभिजनमा घटुवा भएको थियो । 

बाँसबारी भने गत सिजनको बी डिभिजनमा तेस्रो स्थानमा थियो । बाँसबारीले २१ अंक बटुलेको थियो । २०औँ मिनेटमा विक्रमले सरस्वतीलाई १–१ को बराबरीमा पुर्‍याए । खेल सकिन तीन मिनेट बाँकी रहँदा सरस्वतीका खेलाडीले लगातार दुई गोल गर्दै बाँसबाँरीलाई स्तब्ध पारे । खेलको ८७औँ मिनेटमा श्रीजलले सरस्वतीलाई २–१ ले अघि बढाए । खेलको अन्तिम इन्जुरी समयमा भूपेन्द्रले सरस्वतीलाई ३–१ को जित दिलाए । 

ब्वाइज युनियनको कठिन जित
ए डिभिजन लिगको पूर्वविजेता ब्वाइज युनियनले पनि जितका साथ बी डिभिजन लिग सुरुवात गरेको छ । ब्वाइज युनियनले दिनको अन्तिम खेलमा मोसफलको एक मात्र क्लब वीरगंज युनाइटेडमाथि १–० को कठिन जित निकालेको हो । पहिलो हाफमा वीरगन्जले ब्वाइज युनियनलाई गोलरहित बराबरीमा रोकेको थियो । तर, ६४औँ  मिनेटमा मिलन लिम्बूले गरेको एक मात्र गोलमा ब्वाइज युनियनले जित हात पार्‍यो । गत सिजनको बी डिभिजन लिगमा ब्वाइज युनियन २१ अंकका साथ तेस्रो भएको थियो । वीरगन्ज क्लब सी डिभिजनबाट बीमा बढुवा भएको हो । 

  चर्च ब्वाइजलाई अर्थोप्लास्टको साथ 
चर्च ब्वाइज युनाइटेडले मेडिकल पार्टनरका रूपमा अर्थोप्लास्ट रिह्याब सेन्टरसँग सम्झौता गरेको छ । ग्वार्कोस्थित अर्थोप्लास्ट रिह्याब सेन्टरमा बुधबार अर्थोप्लास्टका निर्देशक सुरज भुसाल र चर्च ब्वाइज युनाइटेड अध्यक्ष रुबेन राईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

ए डिभिजन लिगमा पनि अर्थोप्लास्टले सहकार्य गरेको छ । खेलाडीलाई ठूलो चोट लाग्नबाट बचाउन र चोट लागे छिटोभन्दा छिटो खेलमा फर्काउने अर्थोप्लास्टको मुख्य योजना रहेको निर्देशक भुसालले जानकारी दिए । ‘ए डिभिजन क्लबलाई मात्र होइन, जुनसुकै क्लब र प्रतियोगितामा सहयोग गर्न तयार छौँ,’ भुसालले भने, ‘खेलाडीलाई चोट लाग्नबाट कसरी जोगिने र चोट लागेको अवस्थामा कसरी पुनरागमन गर्ने भन्ने हाम्रो चासो हो ।’

यसैगरी काठमाडौं उत्तरीभेगको प्राचीन सहरको एक मात्र बी डिभिजन टोली श्री भगवती क्लबलाई टोखा नगरपालिकाले साथ दिएको छ । बी डिभिजन क्लबलाई नगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको मेयर प्रकाश अधिकारीले जानकारी गराएका छन् । डी, सी हुँदै बी डिभिजनमा पुगको श्री भगवती क्लबले दुईपटक उपविजेताका रूपमा आफूलाई बी डिभिजनमा उभ्याएको छ । क्लबले यसपटक ए डिभिजनको यात्रा तय गर्ने लक्ष्य राखेको अध्यक्ष इन्द्रराज जोशीले जानकारी गराए ।

ad
ad