
कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ। १५औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा उद्घाटन भएको हो। सम्मेलनको आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा बत्ती बालेर उद्घाटन गरेकी हुन्।
‘कानुनी शासन र संवैधानिक सर्वोच्चता : व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सम्मेलन फागुन १७ गतेसम्म चल्नेछ।
सम्मेलनको अवसरमा बारले पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘कानुन वाङमय शताब्दी पुरुष’को रूपमा सम्मान गर्दै छ। उनको सम्मानमा दिउँसो ४ बजे कलात्मक बग्गीमा राखी प्रज्ञा प्रतिष्ठान कमलादीबाट रत्नपार्क, भद्रकाली हुँदै रामशाह पथस्थित बारको प्रांगणसम्म रथारोहणसमेत गरिने बारले जनाएको छ। भण्डारी ६४ वर्षदेखि सक्रिय रूपमा न्यायको पैरवी गर्दै आएका छन्।
वि.सं. १९८४ जेठ २६ मा रौतहटमा जन्मिएका भण्डारीले २००७ सालको क्रान्तिबाट राजनीतिक स्वतन्त्रता र आर्थिक शोषणविरुद्ध संघर्ष सुरु गरेका थिए। पछिल्ला समय दुईपटकसम्म भएको संसद् विघटनको विपक्षमा रहेका भण्डारी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमन माग्दै बारले गरेको सय दिन लामो आन्दोलनमा अग्रमोर्चामा सक्रिय रहँदै आएका थिए।