१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:२३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गौतम बुद्ध विमानस्थलमा १ वैशाखमा परीक्षण उडान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:२३:oo

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा नयाँ वर्षको १ वैशाख ०७९ मा परीक्षण उडान गरिने भएको छ । ‘न्यू इयर, न्यू रन वे’ भन्ने नारासहित विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (एनएसी)को वाइडबडी जहाजबाट परीक्षण उडान सुरु गरिने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । विमानस्थलमा एरोनेटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई)ले ६ फागुनदेखि क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) गरिरहेको छ ।

थाइल्यान्डबाट ल्याइएको विशेष जहाजबाट विमानस्थलमा जडान गरिएका उपकरणको परीक्षण गर्न दैनिक सात घन्टासम्म उडान भइरहेको छ । ‘क्यालिब्रेसन फ्लाइट बढीमा १५ फागुनसम्म सम्पन्न हुनेछ, एरो थाईले रिपोर्ट दिएपछि अरू प्रोसिडियरहरू पनि समयमै पूरा गर्नेछौँ,’ दाहालले भने, ‘हामी २ जेठ अर्थात् बुद्धपूर्णिमाको दिनदेखि नियमित उडान सुरु गर्नेछाैँ ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भैरहवा पुगेर क्यालिब्रेसन फ्लाइट शुभारम्भ गर्दै नयाँ वर्षमा परीक्षण उडान र बुद्धपूर्णिमामा नियमित उडान सुरु गर्ने गरी काम गर्न निर्देशन दिएका थिए । ‘मन्त्रीज्यूले भनेकै समयमा परीक्षण उडान गर्न हामीले काम गरिरहेका छौँ,’ महानिर्देशक दाहालले भने, ‘अब विमानस्थलमा त्यति ठूलो प्राविधिक समस्या आउलाजस्तो लाग्दैन, नयाँ वर्षमा परीक्षण उडान हुनेछ ।’

क्यालिब्रेसन फ्लाइट सम्पन्न भएपछि एरो थाईले प्रारम्भिक रिपोर्ट उपलब्ध गराउनेछ । क्यालिब्रेसन सुरु भएको ५६ दिनभित्र परीक्षण उडानका लागि आवश्यक सबै प्रक्रियाहरू पूरा गरिसक्ने महानिर्देशक दाहालले बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को प्रक्रिया पूरा गर्न पर्याप्त समय रहेको उनको भनाइ छ । उनका अनुसार विमानस्थलमा उपकरण जडानको जिम्मेवारी पाएको एरो थाईले क्यानका प्राविधिकलाई इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) र भिओआर डिएमईको तालिम दिनेछन् । 

विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट परीक्षण उडान सम्पन्न हुनेछ । तर, परीक्षण उडानका लागि जहाज उपलब्ध गराउने विषयमा निगमलाई औपचारिक पत्र भने आइसकेको छैन । ‘१ वैशाखमा निगमको वाइडबडीबाट परीक्षण गर्ने भन्ने अनौपचारिक रूपमा मन्त्रीज्यूले भनिसक्नुभएको छ, तर अझै औपचारिक पत्र आइसकेको छैन,’ निगमका एक अधिकारीले भने, ‘औपचारिक प्रस्ताव आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग आवश्यक छलफल गरेर तोकिएको दिनमा परीक्षण उडान गर्न तयार छौँ ।’ भैरहवा विमानस्थलमा परीक्षण उडान गर्ने सम्बन्धमा बुधबार निगमको आन्तरिक विभागीय छलफल हुँदै छ ।