१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेयर कारोबार रकम २५ प्रतिशतले घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:o७:oo

नेप्से परिसूचकमा गत साता उच्चदरमा उतारचढाव देखिए पनि साताको अन्त्यमा ६९ अंकले गिरावट आएको छ । कारोबार रकममा पनि २५ दशमलव ५५ प्रतिशतले कटौती भएर १८ अर्ब १९ करोडमा सीमित भएको छ । 

साताको पहिलो दिन नै उच्चदरमा घटेको बजारले तेस्रो दिन बाउन्स ब्याक गरेपछि वृद्धि टिकाउ हुन सकेन । अन्तिम दिनको कारोबारमा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेका थिए । 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउने लगभग समय भएकाले पनि लगानीकर्ता बजारमा लगानी बढाउन हतारिएका देखिएनन् । यही कारण बिहीबार मात्रै दुई अर्ब २७ करोडमा कारोबार सीमित भएको थियो । घट्दो बजारमा राष्ट्र बैंकबाट सार्वजनिक समीक्षाले भने राहत दिने सम्भावना कम छ । 

विशेष गरी मौद्रिक नीतिले सेयर धितोमा बैंकहरूले गर्ने कर्जा लगानीको जोखिम भारमा पुनरावलोकन गर्ने उल्लेख गरेको छ । हाल प्राथमिक पुँजीबाट नघटाइएका यस्ता लगानीका लागि शतप्रतिशतबराबर भार मानेर बैंकहरूले प्रावधान राख्नुपर्ने व्यवस्था छ । यसलाई थप बढाउन सक्ने संकेत राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकको यो निर्णयले बैंकहरू यो कर्जा लगानीमा कम आकर्षित हुने सम्भावना छ । 

बैंकहरूको कर्जा र निक्षेप दुवैको बढ्दो ब्याजदरका बीच आएको यो निर्णयले सेयर बजारलाई थप प्रभावित पार्न सक्ने सम्भावना छ । निक्षेपमा बढेको ब्याजदरका कारण कम जोखिम चाहने लगानीकर्ता यता आकर्षित भइरहेका छन् भने बैंकबाट ऋण लिएर कारोबार गर्ने लगानीकर्तालाई पनि कर्जामा बढेको ब्याजदरले लागत बढ्न गएको छ ।
 
प्राविधिक विश्लेषण 
गत साता सोमबार र मंगलबार मात्र नेप्से बढ्दा हरियो (सेतो) मैनबत्ती आकार बन्यो भने अन्य दिन रातो (कालो) मैनबत्ती बनेको छ । अन्तिम दिन भने घट्दो प्रवृत्तिमा पुगेर नेप्सेले दुवैतर्फ लगभग उत्तिकै लामो धागोसहितको डोजी आकृति बनाएको छ । डोजी आकृतिले बजार थप घट्न रोकिन सक्ने संकेत गरे पनि यो संकेत दरिलो संकेत भने होइन ।   

नेप्सेको मुभिङ एभरेज रेखाले भने डेथ क्रसओभर भएको संकेत गरेको छ । अर्थात्, २१ दिने रेखाले सातदिने रेखालाई काटेर माथि लागेको छ । यसले बजार बियरिस प्रवृत्तिमा प्रवेश गरेको संकेत गरिरहेको छ । यसको प्रवृत्तिमा पनि चाँडो–चाँडो परिवर्तन देखिएकाले पर्ख र हेरको अवस्थामा बस्नु सही हुन सक्छ । सातदिने मुभिङ एभरेज रेखा माथि नै रहेमा बुलिस प्रवृत्ति कायम रहने, तर २१ दिने रेखा माथि लागेमा बियरिस प्रवृत्ति सुरु हुने विश्लेषण गरिन्छ ।    

नेप्सेको आरएसआई सूचक हाल ४४ दशमलव ५४ मा छ । यो सूचक स्केल ३० मुनि भए बजारमा अधिक बिक्री रहेको, ३० देखि ७० सम्म रहे बजार सन्तुलित र ७० माथि भए बजारमाअधिक खरिद रहेको विश्लेषण गरिन्छ ।  पिभट विश्लेषणले भने आगामी साता दुई हजार ६ सय ९० मा पहिलो टेवा प्राप्त गर्न सक्ने र यसको कारण नेप्से बढ्न थाले दुई हजार सात सय ७९ मा पहिलो प्रतिरोध परीक्षण गर्नेछ ।   
 

ad
ad