१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

‘जननिर्वाचित प्रतिनिधिबाट मुलुकको  शासन व्यवस्था सुदृढ तुल्याइने’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:४३:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले छिटै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा संघीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याइने बताएका छन् । ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले ती सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा जोड दिएका छन् । 

प्रधानमन्त्री देउवाले २००७ मा प्रजातन्त्र प्राप्तिका लागि भएको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्व राख्ने क्रान्ति भएको र यसैको जगमा त्यसपछि विभिन्न क्रान्ति सम्पन्न भई आज लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीसम्मको यात्रा पूरा भएको स्मरण गरे । 

‘वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । राजनीतिक रूपमा मुलुकले ठूलो फड्को मारेको छ । यसका लागि ००७ को राजनीतिक क्रान्तिदेखि ०४६ र ०६२/६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘आज हामी जे–जस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौँ, जुन स्तरको नागरिक हक–अधिकारको उपभोग गर्न पाउने स्थितिमा छौँ, राज्यको सबै तह र संरचनामा आमनागरिकको जुन प्रकारको पहुँच स्थापित हुन सकेको छ यो सबै सात सालको क्रान्तिको जगमा उभिएर भएको हो ।’

उनले सात सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको र यसलाई सबैले थप सबल र सुदृढ तुल्याउन आवश्यक रहेको बताए । ‘हामी संविधानसभाबाट नेपाली जनताले चाहेजस्तो संविधान निर्माण गरी त्यसैअन्तर्गत मुलुकमा शासन व्यवस्था सञ्चालन गर्न सफल भएका छौँ । हाम्रा भावना र चाहनालाई संविधानमा प्रतिबिम्बित गर्न सक्षम भएका छौँ । समाजमा व्याप्त छुवाछुत, जातीय तथा लैंगिक भेदभावजस्ता कुरीति र कुप्रथालाई उन्मूलन गर्दै सबैलाई समान अवसर र सहभागिता सुनिश्चित गरी समावेशी विकासको परिकल्पना गरेका छौँ,’ प्रधानमन्त्री देउवाले भने । 

मुलुकले युगान्तकारी राजनीतिक परिवर्तन गरेको र अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी भएको प्रधानमन्त्री देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट जतिसक्दो चाँडो मुक्ति दिलाई सबै किसिमका राजनीतिक स्वतन्त्रता र आर्थिक तथा सामाजिक अधिकार उपभोग गर्न सक्ने समतामूलक समाज निर्माण गर्नु राष्ट्रिय दायित्व बनेको बताए । 

कोभिड– १९ ले नेपालीको जीवन र अर्थतन्त्रमा ठूलो असर गरेको तथा कोभिड– १९ को प्रकोपलाई नियन्त्रण गर्न सरकारले देशभर खोप लगाउने अभियानलाई तीव्रता दिएको र यस कार्यमा उल्लेखनीय सफलता पनि हासिल भएको प्रधानमन्त्रीको भनाइ छ । सरकारले स्वास्थ्य पूर्वाधार सेवा विस्तार र सुदृढीकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले सबैको समन्वयात्मक प्रयासबाट कोभिडलाई छिटै परास्त गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे ।

ad
ad