१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २ सोमबार १७:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकाको फोहोर विसर्जनको लागि तत्काल संघीय सरकारले समाधान खोज्नुपर्छ : मेयर शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २ सोमबार १७:१५:००

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल समस्या समाधानको खोजी गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। पासाङ ल्हामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरबाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जनमा समेत अवरोध गरेपछि प्रमुख शाक्यले संघीय सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘स्थानीयको आन्दोलनका कारण फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिका मात्रै होइन, सम्पूर्ण उपत्यकाकै फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिएर थप समस्या हुन सक्छ,’ प्रमुख शाक्यले भने, ‘त्यसैले संघीय सरकारसँग तत्काल समस्याको समाधान खोजी फोहोर विसर्जनको अवरोध हटाउन आग्रह गर्दछु।’

उनले ०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयले आन्दोलन गर्ने र फोहोर विसर्जनमा समेत अवरोध हुने गरेको स्मरण गराए। उनले त्यहाँको बाटो बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहोर पटकपटक रोकिँदा गाली महानगरपालिकाले खानुपरेको बताए।

शाक्यले बञ्चरे डाँडाको अहिलेसम्म निर्माण कार्य पूरा नहुँदा थप समस्या भएको पनि बताए। ‘सरकारले समयमा निर्माण सम्पन्न नगर्ने हो भने अहिले फोहोर विसर्जन गरिरहेको स्थान सिसडोलमा फोहोर व्यवस्थापन गर्न कठिनाइ भई आउँदो असार–साउनबाट फोहोर विसर्जनमा थप समस्या सिर्जना हुन्छ,’ उनले भने, ‘त्यसले काठमाडौं महानगर र उपत्यका नै दुर्गन्धले भयावह हुने खतरा बढी छ। त्यसैले छिटोभन्दा छिटो बञ्चरे डाँडाको काम सम्पन्न गरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्न पनि संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’