काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका– ८ पिपलटारमा १५ वर्षअघि निर्माण सुरु भएको गुम्बा बल्ल अहिले सम्पन्न भएको छ। संविधानसभा सदस्य हर्षजित लामाले ०६६ सालमा सुरु गरेको गुम्बाले ०८१ सालमा पूर्णता पाएको हो।
बौद्ध धर्मावलम्बीहरूको धार्मिक स्थल गुम्बाले १५ वर्षपछि पूर्णता पाएको अवसरमा पूर्णिमाको दिन प्राणप्रतिष्ठा गरिएको छ। बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा र बागमती प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमाले काभ्रेका उपाध्यक्ष चन्द्र लामाको उपस्थितिमा गुम्बुको प्राणप्रतिष्ठा गरिएको थियो।
उक्त प्राणप्रतिष्ठामा विभिन्न लामा गुरुहरूले पूजापाठ गरेका थिए। नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रत्न लामा, रोशीका उपाध्यक्ष मिमबहादुर वाइबालगायत वडाध्यक्षहरू र विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।
गुम्बा निर्माणका लागि ०६६ सालमा गुम्बा विकास समितिमा दर्ता गरेको संविधानसभा सदस्य लामाले बताए। तत्कालीन समयमा आर्थिक अभावमा गुम्बाले पूर्णता नपाएको उनले बताए। ०७० सालमा जिल्ला प्रशासन कार्यालय काभ्रेमा पनि दर्ता गरी विधिवत् सुरुवात गरिएको थियो।
पहिलो संविधान सभा सदस्य हुँदा संसदीय कोषबाट १० लाखबाट सुरु गरेको र रकम अपुग भएपछि पटकपटक गरी गुम्बा विकास समितिबाट १५ लाख प्राप्त गरी छोर्तेन र गुम्बा निर्माण गरेको लामाले जानकारी दिए। निर्माण सम्पन्न हुँदासम्म एक करोड १२ लाख खर्च भएकोमा संसद् विकास कोष र गुम्बा विकासबाट प्राप्त गरेकोबाहेक सबै रकम चन्दाबाट संकलन गरेको उनले जानकारी दिए।
चार रोपनीमा गुम्बा र एक रोपनीमा छार्तेन रहेको लामाले बताए। तत्कालीन गाउँपरिषदबाट गुम्बा निर्माणका लागि जग्गा भोगचलन पारित भएको थियो।