१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार २o:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाको स्थापना दिवस : प्रदेश सभालाई सुचारु गर्नुपर्नेमा प्रदेश प्रमुख शेरचनको जोड

एक सय ८८ वटा बैठक, दुई सय ५५ घण्टा ४२ मिनेट सभा सञ्चालन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २o:१२:oo

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ऐन कानुन बनाउने प्रदेश सभालाई अन्याेलमा नराख्न र सुचारु गर्न आग्रह गरेका छन् । सहमति र सहकार्यबाट अगाडि बढ्न जरुरी रहेकोमा उनले जोड पनि दिएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो स्थापना दिवसको अवसरमा भर्चुअल रूपमा सम्बोधन गर्दै शेरचनले दलहरूबीचको मत भिन्नतालाई छुट्टै छलफलको विषय बनाएर संसद् सुचारु गर्न आह्वान गरे । 

उनले प्रदेश सभाका समस्या आपसी छलफल र संवादबाट समाधान गर्न आग्रह गरे । जनताका पक्षमा काम गर्न जनताका आवश्यकतासँग जोडिएका विधेयकहरू अझै पूरा नभएको भन्दै उनले चाँडोभन्दा चाँडो जनताका पक्षमा काम गर्ने गरी अगाडि बढ्नुपर्ने धारणा राखे । 

कार्यक्रममा बोल्दै सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभाको स्थापनायता एक सय ८८ वटा बैठक बसेको र सो अवधिमा दुई सय ५५ घण्टा ४२ मिनेट सभा सञ्चालन भएको बताए । संसद् बैठकका अवधिहरूमा संघीयता कार्यान्वयनमा महत्वपूर्ण काम भएको, जनसरोकारका विषयहरूमा छलफल भएको सभामुख घर्तीले बताए । 
प्रदेश सभाले ४ वर्षको अवधिमा ६७ वटा कानुन बनाएको छ । प्रदेश सभा स्थापनादेखि पछिल्लो अधिवेशनसम्म दर्ता भएका ७४ विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेश सभा सचिवालयमा विचाराधीन अवस्थामा छन् । चारवटा विधेयक भने फिर्ता भएका छन् ।

कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले सरकार प्रदेशका जनताको भावना र प्रदेशको विकासमा प्रतिबद्ध रहेको बताए । कार्यक्रममा उपसभामुख कृष्णी थारू, प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल, सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान, प्रदेश सभा सचिवालयका आलोक अग्रहरीलगायतले प्रदेश सभाका गतिविधिका बारेमा धारणा राखेका थिए । स्थापना दिवसका अवसरमा प्रदेशका १२ जिल्लाका माध्यमिक विद्यालयमा संघीयता कार्यान्वयनमा प्रदेश सभाको भूमिका विषयक निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई पुरस्कार र प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
 

ad
ad