१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १९ बुधबार १८:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी एउटा विकास परियोजना मात्रै हो : एमाले उपमहासचिव ज्ञवाली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १९ बुधबार १८:३०:००

प्रमुख प्रतिपक्ष दल एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरूले एमसिसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताएका छन् । बुधबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा ज्ञवालीले सत्तागठबन्धनका नेताहरूले एमसिसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताएका हुन् । 

सत्तामा रहेका नेताहरूले एमसिसीमार्फत भूराजनीतिक द्वन्द्व निम्त्याइरहेको उनले आरोप लगाए । एमसिसी एउटा विकास परियोजना मात्रै भएको उनले बताए । ज्ञवालीले एमसिसीलाई संसदमा ल्याएर सांसदहरूलाई स्वविवेकले निर्णय गर्न दिनुपर्ने पक्षमा एमाले रहेको बताए । उनले भने, ‘सत्तामा रहेका नेताहरू जानीजानी भूराजनीतिक द्वन्द्व निम्त्याउँदै हुनुहुन्छ । एमसिसी परियोजना एउटा विकास परियोजना हो । त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसद्को, नेपालको राजनीतिक दलहरूको स्वेच्छिक रोजाइको विषय हो । तर, त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ, भर्चुअल मिटिङहरू भइरहेका छन् । विदेशीको एडभाइस लिने खालका कुराहरू भइराखेका छन् । एउटा विकास परियोजनालाई जानीजानी भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्तागठबन्धनकै नेताहरू लागिरहनुभएको छ । सरकार क्लियर होस् । हाम्रो प्रस्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ । र, सार्वभौमसत्ता सम्पन्न सांसदहरूले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ । संसदमा आउन नदिने, बन्द कोठामा, बन्द इजलासमा तथाकथित गठबन्धनका कार्यदलहरूको त्यो अँध्यारो घेराभित्र राखेर यसलाई गिजोल्न पाइँदैन ।’

ज्ञवालीले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने पनि उहाँले स्पष्ट पार्नुभयो । एमालेले गरेको कामको आधारमा निर्वाचनमा जानका लागि कसैको बैशाखी टेक्नुपर्ने अवस्था नरहेको उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो – ‘स्थानीय तहको निर्वाचन समयमा हुनुपर्छ । कुनै बहानाबाजी स्वीकार्य छैन । र, नेकपा(एमाले) यसमा एक्लै लड्छ । हामीलाई चुनाव सामना गर्नका लागि अरू कसैको साहारा लिनुपर्ने, अरू कसैको बैशाखी टेक्नुपर्ने जरुरी छैन । हाम्रा लागि हामीले गरेका कामहरू र हामीलाई काम गर्दै जाँदा जहाँजहाँ बाटो छेक्ने प्रयत्न भयो, ती तथ्यहरू नै जनताका मन जित्नका लागि पर्याप्त छन् । नेकपा एमाले चुनाव एक्लै लड्छ ।’