१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
उमाकान्त गिरी
२o८१ बैशाख २२ शनिबार o७:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

श्रीलंकाको आर्थिक संकट : नेपालका लागि शिक्षा 

Read Time : > 2 मिनेट
उमाकान्त गिरी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:२७:oo

विप्रेषणकै भरमा अर्थतन्त्र टिकाउन खोज्ने नेपालको नियति श्रीलंकाको जसरी नै कुनै पनि वेला तीव्र गतिमा ओरालिन सक्छ


दक्षिण एसियाली मुलुक श्रीलंकाले विगत वर्षदेखि नै बढ्दो आर्थिक एवं मानवीय संकट सामना गरिरहेको छ । यसबीच, मुद्रास्फीति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । खाद्यान्नको मूल्य बढ्दै गएको छ । सरकारी ढुकुटी रित्तिँदो छ । श्रीलंका टाट पल्टिने जोखिममा पुगेको छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षे नेतृत्वको सरकारले सामना गरिरहेको आर्थिक संकटको तत्कालीन कारण कोभिड महामारी र पर्यटन क्षेत्रमा त्यसको असर नै मुख्य भए पनि अन्य दीर्घकालीन कारण पनि छन् । अत्यधिक सार्वजनिक खर्च, कर कटौतीबाट सरकारी राजस्वमा कमी, उच्च वैदेशिक ऋण, विदेशी मुद्राको सञ्चितिमा कीर्तिमानी कमीलगायत कारण श्रीलंकाको अर्थतन्त्र संकटमा फस्दै गयो । आन्तरिक एवं बाह्य ऋण धान्न सरकारले मुद्रा छपाइ बढाउँदा मुद्रास्फीति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

विश्व बैंकका अनुसार महामारी सुरु भएयता श्रीलंकामा थप पाँच लाख मानिस गरिबीको रेखामुनि धकेलिएका छन्, जुन संख्या गत पाँच वर्षको अवधिमा श्रीलंकामा गरिबीबाट बाहिरिएकाको संख्या बराबर हो । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदा यसअघि सम्पन्न ठानिएका मानिसलाई समेत परिवार पाल्न कठिनाइ भइरहेको छ भने कैयौँ मानिस आधारभूत वस्तु खरिद गर्न नसक्ने अवस्थामा पुगेका छन् । राजापाक्षेले आर्थिक संकट घोषणा गरी अत्यावश्यक वस्तुको सुनिश्चितताका लागि सेनालाई अधिकार दिए पनि त्यहाँ मानिसको आर्थिक कष्ट कम भएको छैन । श्रीलंकाको संकट कति गहिरिँदो छ भन्ने नेपालमा जस्तै राहदानी कार्यालयमा लाग्ने लामो लाइनले पनि बताउँछ । राहदानी लिन आउने अधिकांश वैदेशिक रोजगारीमा जान चाहन्छन् । हालको अवस्थाले श्रीलंकामा सन् १९७० को दशकमा देखिएको संकटलाई पुनः स्मरण गराएको छ । त्यसबखत आयातमाथिको नियन्त्रण र न्यून स्वदेशी उत्पादनका कारण दैनिक उपभोग्य वस्तुको गम्भीर अभाव देखिएको थियो ।

पाउरोटी, दूध र चामल किन्नसमेत लामो लाइन लाग्ने गथ्र्यो । आकासिँदो महँगीका कारण जनआक्रोश बढेपछि राजापाक्षेले एक अर्ब डलरबराबरको आर्थिक राहतका कार्यक्रम त सार्वजनिक गरेका छन् । यसअन्तर्गत सरकारले कर्मचारीको तलब तथा पेन्सन रकम बढाउने भएको छ, केही खाद्यान्न एवं औषधिमाथिको कर पनि हटाउनेछ । अति विपन्न नागरिकलाई नगद सहयोग उपलब्ध गराउनेछ । तर, राजापाक्षेको कदमले श्रीलंकाको आर्थिक संकट र बढ्दो मुद्रास्फीति समाधान नहुने अर्थशास्त्रीले टिप्पणी गरिरहेका छन् । श्रीलंकाको केन्द्रीय बैंकले विदेशी मुद्रा सञ्चिति रित्तिन थालेपछि ‘गोल्ड रिजर्भ’को एक हिस्सा बेचिदिएको छ । डा. डब्लुए विजेबर्धनेले सुन बेचिएको विषयमा श्रीलंकाको अखबारसँग कुरा गर्दै श्रीलंकाको तुलना १९९१ को भारतसँग गरेका छन् । त्यतिवेला भारतले आर्थिक रूपले टाट पल्टिनबाट बच्न सुन धितो राखेको थियो । 

श्रीलंकामा आर्थिक संकट किन र कसरी भइरहेको छ ? यो जिज्ञासा यतिवेला संसारभर छ । के श्रीलंका चीनको ऋण पासोमै परेको हो ? वा समस्यामा पर्नुको पछाडि अरू केही कारण पनि छन् ? व्यवस्थापनमा देखिएको समस्याका कारण कतै संकटमा धकेलिएको त हैन ? यावत् आशंका छन् । महामारीले विप्रेषण आप्रवाहमा समस्या खडा गरिदिएको छ । पर्यटकको आवागमन ठप्पप्रायः हुँदा विदेशी मुद्रा भण्डारण रित्तिन थालेको छ । उत्पादन कम भएपछि आयात बढ्नु स्वाभाविक हो ।

आयातका लागि डलर खर्च गर्नुपर्ने बाध्यता श्रीलंकालाई मात्रै होइन, अरू देशलाई पनि उत्तिकै छ । डलरको सञ्चिति घट्ने तर नथपिने भएपछि अर्थतन्त्रमा संकट पर्नु स्वाभाविक नै थियो । मानिसमा आज कमायो, खायो अब भोलि के गर्ने भन्ने सन्त्रास देखिन्छ । उनीहरूमा चरम निराशा छ । यो अवस्था लामो समय रहिरहे आयात रोकिन सक्छ । यहाँसम्म कि श्रीलंकाले गुगल म्यापको प्रयोग गर्नसमेत नपाउने अवस्था आउन लागेको छ । किनकि, श्रीलंकासँग त्यसका लागि पैसा दिने अवस्थासमेत नरहन सक्ने देखिँदै छ । श्रीलंकाका नेता र अर्थशास्त्रीहरू निराश छन् । 

सन् २०२१ को नोभेम्बरमा ९.५ प्रतिशत रहेको मूल्यवृद्धि अहिले ४० प्रतिशतको हाराहारीमा पुगेको छ । राष्ट्रपति राजापाक्षले देशमा आपत्काल घोषणा गरेका छन् । उनले खाद्यान्न वितरणलगायत व्यवस्थापनका लागि सेनालाई विशेष अधिकार दिएका छन् । सेनालाई विशेष अधिकार दिनुका पछाडि सरकारले तय गरेको मूल्यमा खाद्य सामग्री नागरिकले सहज रूपमा पाउन सकून् भन्ने हो तर व्यवहारमा जनताले त्यो अनुभूति गर्न पाएका छैनन् । 

श्रीलंकाका प्रमुख बैंकहरूको विवरणअनुसार देशको विदेशी मुद्रा भण्डारण तीव्र गतिमा ओरालो लागिरहेको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै सबै नागरिकलाई आफ्नो साथमा रहेको विदेशी मुद्रा बैंकमा जम्मा गर्न अनुरोध गरेको छ । विदेशी मुद्राको सट्टामा श्रीलंकाको रुपैयाँ लिनुस् भन्ने सूचना हरेकजसो बैंकको बेवसाइटमा राखिएको छ ।

अंग्रेजी भाषामा समेत सूचना प्रकाशित गरिएको छ । श्रीलंकाका अर्थशास्त्रीहरू पछिल्लो ४० वर्षमा श्रीलंकाको अर्थतन्त्र यति र यो हदसम्म कहिल्यै खराब भएको थिएन भन्दै छन् । श्रीलंका अन्य दक्षिण एसियाली देशहरूको तुलनामा सबैभन्दा खराब आर्थिक अवस्थामा पुगेको छ । समयमै होस नपुर्‍याउने र विप्रेषणकै भरमा अर्थतन्त्र टिकाउन खोज्ने नेपालको नियति श्रीलंकाको जसरी नै कुनै पनि वेला तीव्र गतिमा ओरालिन सक्छ । श्रीलंकाको वर्तमानबाट सिकेर नेपालले भविष्यको खाका बनाउनु जरुरी छ ।

ad
ad