१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
उमाकान्त गिरी
२०७८ असोज २४ आइतबार ०९:०६:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कांग्रेसमा गुटवादको संस्थाकरण

Read Time : > 4 मिनेट
उमाकान्त गिरी
२०७८ असोज २४ आइतबार ०९:०६:००

वैचारिक स्पष्टता, लोकतान्त्रिक आन्दोलनको लामो विरासत, बलियो जनाधार भएर पनि नेपाली कांग्रेस नेपालको राजनीतिक धरातलमा कमजोर अवस्थामा छ । संगठन र शक्ति निरन्तर घट्दै गएको छ । कांग्रेसको संगठन कमजोर हुनुमा केही कारण छन् । पहिलो, कांग्रेसमा संस्थागत गुटवाद हावी छ । शीर्ष नेताहरूले गुट खडा गर्ने, पार्टी र संगठनभित्र हैकम चलाउने व्यक्तिवादी प्रवृत्ति हावी छ ।

यो चरित्रले कांग्रेसलाई माथिदेखि तलसम्म नराम्रोसित गाँजेको छ । कांग्रेसको वडा र नगर अधिवेशन अहिले भइरहेको छ । वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लालाई मात्रै हेर्‍यौँ भने पनि ६०–६५ प्रतिशत स्थानमा निर्विरोध वडा समिति नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन भएको देखिन्छ । ३५–४० प्रतिशत स्थानमा मात्र निर्वाचन भएका छन् । डडेल्धुरा जिल्लालगायतका कतिपय स्थानमा बलजफ्ती नेतृत्व चयन गरिएका उदाहरण पनि छन् । वडा र नगर अधिवेशनमा धेरै ठाउँमा गुट खडा गरेर प्रतिस्पर्धा गरेको वा गुटबीचमा भागबन्डा मिलाइएको अवस्था छ । 

दोस्रो, कांग्रेसमा वडा तहदेखि नै नेतृत्व चयनका लागि गुटगत सिन्डिकेट बनाइएको छ । जुन सिन्डिकेटले अरूलाई छिर्नै नदिने अवस्था सिर्जना भएको छ । नगर नेतृत्व चयनमा खुलेआम दुई–तीन गुटका बीच पूरै प्यानलगत निर्वाचन भए, हुँदै छन् । यो तस्बिर जिल्ला अधिवेशन र महाधिवेशन सदस्य चयनको निर्वाचनमा पनि स्पष्ट रूपले देखिएको छ । पार्टीको शक्ति क्षयीकरणको प्रमुख कारण यही गुटवाद हो । जुनसुकै गुट, उपगुटवादलाई अन्त्य गर्ने नयाँ नेतृत्व कांग्रेसलाई चाहिएको छ ।

कतिपय नेता र राजनीतिक विश्लेषकहरू सामूहिक नेतृत्वले गुटलाई अन्त्य गर्ने विचार राख्छन् । तर, सामूहिक नेतृत्वमा बस्नेहरूले नै आफ्नो गुट खडा गरे गुटवाद कसरी अन्त्य हुन्छ ? १२औँ महाधिवेशनबाट सामूहिक नेतृत्वमा गएको कांग्रेसमा त्यसपछि पनि गुटवाद हावी नै रहनु कांग्रेसको महारोग नै हो । पार्टी कार्यालयलाई सुनसान बनाएर कांग्रेसमा बुढानीलकण्ठ, बोहराटार, चाक्सिबारी, महाराजगन्ज, टोखा, धुम्बाराहीलाई शक्तिकेन्द्र बनाउने होडबाजी चलिरहेको छ । पार्टी काम नगरी यी शक्तिकेन्द्रहरूलाई खुसी पार्न बिहान–बेलुका धाउने मनोरोग कांग्रेसका नेता– कार्यकर्ताहरूमा देखिन्छ । 

तेस्रो, एकाधलाई छोडेर कांग्रेसमा अध्ययन संस्कृतिको अन्त्य भएको छ । कांग्रेसमा पुराना र नयाँ क्रियाशील सदस्यतामार्फत नौ लाख क्रियाशील सदस्य आबद्ध भएका छन् । ९५ प्रतिशत क्रियाशील सदस्यलाई न कांग्रेसको इतिहास बोध छ, न पार्टीको दर्शन, विचार, सिद्धान्तबारे नै वास्ता । न कांग्रेसको योगदान थाहा छ, न कांग्रेसलाई यो स्थानसम्म ल्याइपुर्‍याउनेहरूबारे जानकारी । गुटको दाइ को हो ? गुटको शक्तिकेन्द्र कहाँ छ ? यतिमै उनीहरूको दायरा सीमित छ । कार्यकर्ताका लागि नियमित प्रशिक्षण नहुँदा विचित्रका कार्यकर्ता तयार हुने अवस्था भएको छ । पार्टीमा आबद्ध हुनु राम्रो हो, तर आबद्ध भइसकेपछि पार्टीको नीति, विचार, सिद्धान्त, आदर्शले प्रशिक्षित गर्नैपर्छ ।

वडा तहकै अधिवेशन गर्न पनि सत्ता र शक्तिको चरम दुरुपयोग भएको गुनासो सुनिएको छ । हरेक संरचनामा नेतृत्वको चयन शक्तिका आधारमा हुने अवस्था निर्माण हुँदै गएको छ । 

आफ्ना कार्यकर्ता प्रशिक्षित गर्ने काम नेतृत्वको हो । तर, दुर्भाग्य ! यो काम विगत १०–१५ वर्षदेखि हुन सकेको छैन । चौथो, कांग्रेस संगठनमा अनुशासन शून्य छ । नेतृत्व लिनेसँग अहंकार र विवेकशून्यता हावी छ । पार्टीका सबै संरचनामा यो अवस्था छ । नेतृत्वमा पुग्नु तथा विश्वास र इमानदारिता कायम राख्नु फरक कुरा हुन् । १४औँ महाधिवेशनबाट कांग्रेसको मूल नेतृत्वमा विश्वसनीय र इमानदार व्यक्ति खोजेका छन् । कांग्रेसका लागि सुखद पक्ष नयाँ पुस्ताको आकर्षण बढेको छ र ठूलो संख्यामा युवा पुस्ता पार्टीमा जोडिन आइरहेका छन् । ३५ देखि ४० प्रतिशतसम्म नयाँ पुस्ताको प्रवेश भएको छ ।

१८ देखि ९५ वर्षसम्मको व्यक्ति कांग्रेसको क्रियाशील सदस्य भएका छन् । यसैले अब सबै उमेरसमूहलाई जोड्न सक्ने नेतृत्व कांग्रेसमा स्थापित हुनुपर्छ । कांग्रेसमा युवापुस्तालाई नेतृत्व र अग्रजलाई सम्मान भन्ने नारा नै लागेको छ । यो अवस्थामा अब कांग्रेसले इतिहासको मूल्यांकन गर्दै नयाँ नेतृत्वको खोजी गर्नु जरुरी हुन्छ । शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री र कांग्रेस प्रजातान्त्रिकको समेत गरेर दुईपटक पार्टी सभापति बनिसक्नुभयो । उमेर ७८ नाघिसक्नुभएको छ, अब उहाँले नयाँ पुस्तालाई नेतृत्वमा सघाउनुपर्छ । 

आठ दशक पुग्न लागेका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि तीन दशकदेखि शक्तिमै छन् । पार्टीको महामन्त्री, उपसभापति, कार्यवाहक सभापति भइसकेका छन् । ०४८ सालदेखि उनी पनि धेरैपटक मन्त्री भए, उपप्रधानमन्त्री, सभामुख भए । अझै पनि पदको लालसा गर्नु उचित हुँदैन । नेतृत्वमा अझै पनि यिनै वृद्ध पुस्ताले बाटो छेक्ने हो भने नयाँ पुस्ता कसरी नेतृत्वमा आउन सक्छन् ? अहिले कांग्रेसका लागि नेतृत्व चयन तथा परिवर्तन प्रमुख चुनौती बनेको छ । कांग्रेस नेता–कार्यकर्ताहरूको चाहना दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने देखिन्छ । 

कांग्रेस आन्दोलनको मुख्य आधारभूमि तराई–मधेस हो । कांग्रेसको ७५ वर्षको इतिहासमा पहिलोपटक मधेसी भूमिबाट नेतृत्वमा विमलेन्द्र निधिले दाबी गरेका छन् । अहिलेसम्म पहाडी मूलबाट मात्र कांग्रेसको नेतृत्व हुँदै आयो । विगतमा तराई–मधेसबाट भद्रकाली मिश्र, रामनारायण मिश्र, पर्शुनारायण चौधरी, महेन्द्रनारायण निधि महामन्त्री र विमलेन्द्र निधि र विजयकुमार गच्छदार उपसभापतिसम्म मात्र भएका छन् । अबको कैयौँ वर्षसम्म पनि मधेसबाट कांग्रेस सभापतिमा दाबी गर्ने निधिबाहेक अर्काे देखिएको छैन । यस्तोमा मधेसबाट पहिलोपटक सभापति चयन गर्ने अवसर मिलेको छ । यो अवसरको कांग्रेसले सदुपयोग गर्नुपर्छ । यद्यपि, कांग्रेसमा नेतृत्व वंशवादकै वरपर घुम्न खोजेको देखिन्छ ।

विरासतकै आधारमा कोइराला परिवारका तीन सदस्य डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाले पनि सभापतिको दाबी गरिरहेका छन् । कांग्रेस पार्टीको ७५ वर्षमा ५१ वर्ष कोइराला परिवारको नेतृत्वमा सञ्चालित भएको देखिन्छ । एउटै परिवारबाट आधा शताब्दी दल चल्नु ठीक हो वा होइन, त्यसको पनि पुनःमूल्यांकन हुनुपर्छ । काठमाडौंबाट लौहपुरुष गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले सभापतिको दाबी गरिरहेका छन् ।

गणेशमानको वंश विरासत जोडिए पनि उनी नेविसंघको राजनीति गर्दै कांग्रेसको महामन्त्री भइसकेका व्यक्ति हुन् । क्रियाशील सदस्यताको विवाद मिलिसकेको छैन । सल्टिएको क्रियाशीलता विवादलाई अर्काे पक्षले नमानेको अवस्था पनि छ । यो स्थितिमा नेतृत्वको सही मूल्यांकन गरी नेतृत्व चयन चुनौतीपूर्ण देखिन्छ । नगर अधिवेशनदेखि नै कांग्रेसमा संस्थापन र इतर पक्षको समूह बनाएर महाधिवेशनमा उम्मेदवार बनेका छन् । यसले कांग्रेसमा संस्थागत रूपमै गुटगत भावना झाँगिन पुगेको छ । पार्टीमा चाहेर पनि गुटगत प्रवृत्ति नहट्ने स्थिति बनेको छ । 

राष्ट्रिय निर्वाचनमा पैसामा टिकट बाँड्ने र मत साट्ने आमप्रचलन बनेको छ । यो रोग कांग्रेसमा पनि व्याप्त छ । पद, शक्ति र पैसा कांग्रेसमा अहिले कोसँग छ ? स्वाभाविक रूपमा सभापति देउवासँग । शक्ति, पैसा र पदको उनले सदुपयोग, दुरुपयोग जे पनि गर्न सक्ने अवस्था देखिन्छ । उनको विगत हेर्दा सदुपयोगभन्दा दुरुपयोग भएको धेरै पाइन्छ । वडा तहकै अधिवेशन गर्न पनि सत्ता र शक्तिको चरम दुरुपयोग भएको गुनासो सुनिएको छ ।

हरेक संरचनामा नेतृत्वको चयन शक्तिका आधारमा हुने अवस्था निर्माण हुँदै गएको छ । यी विकृति हटाउनका लागि पनि अबको नेतृत्व चयनमा महाधिवेशन प्रतिनिधिले विवेक पुर्‍याउन जरुरी छ । यी विकृत प्रवृत्ति मौलाउँदै गयो भने पार्टीको थप क्षयीकरण हुँदै जानेछ । लोकतान्त्रिक र चुनावी प्रक्रियामा ठूलो घात हुन्छ । पहाडी समुदायबाट मात्रै कांग्रेसको सभापति हुनुपर्छ भन्ने पनि छैन । प्रकाशमान सिंह वा निधिमध्ये एकलाई सभापतिमा देउवाले अघि सारे गुटको अन्त्य हुने बाटो पनि खुल्ने थियो । नेतृत्व समावेशी हुने थियो । अझ एक व्यक्ति एक पदको विकल्प अघि सारे कांग्रेस झनै बलियो हुनेछ ।